संसद् अधिवेशन आज सकिँदै, प्रधानमन्त्रीको विशेष सम्बोधन


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा मंगलबार विशेष सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्ने भएका छन् । भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको विषय तथा पाकिस्तानका प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा संसद्मा सम्बोधन गरेर जानकारी गराउने भएका हुन् ।

‘भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्रीले आफ्नो भ्रमणका विषयमा संसद्लाई जानकारी गराउने उद्देश्यले विशेष सम्बोधन गर्ने तयारी भएको हो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘संसद्का अघिल्ला बैठकहरूमा पाकिस्तानका प्रधानमन्त्रीको नेपाल भ्रमणको विषयमा प्रश्न उठेकाले त्यस विषयमा समेत संसद्लाई जानकारी गराउने तयारी छ ।’ प्रधानमान्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीको संसद्मा सम्बोधन हुनुपूर्व मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ ।

प्रधानमन्त्री ओलीले सरकार सम्हालेपछि पहिलो विदेश भ्रमणका रूपमा आगामी चैत २३ देखि भारतको तीनदिने राजकीय भ्रमण गर्दै छन् । यसअघि संसद्‌ बैठकमै प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा सदनले जानकारी पाउनुपर्ने माग गर्दै सत्ता पक्षकै सांसद विरोध खतिवडाले नियमापत्ति जनाएका थिए । प्रधानमन्त्रीको सम्बोधनमा सरकार सञ्चालनको अवस्था, भारत भ्रमणलगायत विषय समेट्ने तयारी गरिएको छ । यसअघि यूएस बंगला अन्तर्राराष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि संसद्मा विशेष सम्बोधन गरेका उनले यसपटक भने सरकार सञ्चालन र आफ्नो विदेश भ्रमणमा केन्द्रित भएर पहिलोपटक सदनमा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

मुलुक संघीयतामा गएसँगै सबै निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयनका मुख्य जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा भारतसँगको सम्बन्धमा सरकारको धारणा र सरकारले भारत भ्रमणमा राख्ने विषयहरू सदनमा जानकारी गराउनेछन् । अघिल्लोपटक प्रधानमन्त्री भएको समयमा भारतसँगको सम्बन्धमा केही समस्या आएकोमा अहिले प्रधानमन्त्री हुनुपूर्व नै भारतले विशेष दूत पठाएर ओलीसँगको सम्बन्ध सुधारको पहल गरिरहेको छ । भारतले पछिल्लो जनमतको सम्मान गर्दै सरकार सञ्चानलमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै आएको छ ।

यस्तै संसद्को मंगलबार बस्ने बैठकले अघिल्ला सरकारले अध्यादेशमार्फत पारित गरेका दुई विधेयकलाई स्वीकृत गर्ने तयारी गरेको छ । संसद् सचिवालयका अनुसार दुई विधेयक स्वीकृत भएसँगै संसद्को अहिले कुनै पनि बिजनेस बाँकी रहँदैन । बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४’ लाई स्वीकृत गरियो भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी अघिल्लो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ लाई स्वीकृतिका लागि प्रस्ताव राख्नुअघि नेमकिपाका सांसद प्रेम सुवालले पेस गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’लाई अस्वीकार गरियोस् भन्ने सूचनामाथि छलफल हुने कार्यसूची रहेको संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार सांसद सुवालको सूचनालाई छलफल गरेर निर्णयार्थ सदनमा प्रस्तुत गरिनेछ । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले सोही अध्यादेश स्वीकृत गर्नका लागि सदनमा प्रस्ताव पेस गर्नेछन् ।

संसद्मा दुवै अध्यादेश स्वीकृत भएपछि सदनको चालू अधिवेशनको बिजनेस सकिनेछ । संघीय संसद्को दुवै सदनमा यी विषयहरू सकिएपछि कुनै काम नभएको भनी सरकारलाई जानकारी गराइसकेको छ । संसद्ले सरकारलाई दिएको जानकारीअनुसार मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बसेर सदन अन्त्यका लागि राष्ट्रिपतिसमक्ष अनुरोध गर्नेछ ।

सोमबार नै राष्ट्रपति कार्यालयबाट चालू अधिवेशन अन्त्य भएको सूचना संसद्मा आएमा सो पत्र पढेर अधिवेशन अन्त्य हुनेछ । बजेट भाषण १५ जेठमा नै गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सोभन्दा कम्तीमा १५ दिन अगाडिबाटै बजेट अधिवेशन सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement