…जसले सत्ताका शीर्ष नेतालाई समेत टेरेनन्


काठमाण्डु – विभिन्न राजनीतिक दलका नेताहरुले पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएर नेतृत्वबाट टिकट नपाएका नेताहरुले पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चुनावी तालमेल गरेर संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका छन्। तर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी दिएकाहरु शीर्ष नेताको टाउको दुखाईको विषय बनेको छ ।

बागी दिएकाहरुको उम्मेदवारी निष्क्रिय गर्न शीर्ष नेताहरुले विभिन्न आश्वासन र प्रलोभन देखाउन थालेका छन् । आइतबार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी पुगेर वागी उम्मेदवारी निष्क्रिय गर्नेलाई विभिन्न आश्वासन दिए ।

उनले भने, ‘कतिपय ठाउँमा टिकट बाँड्दा अन्याय भएको होला । तर, भोलि गठबन्धनको सरकार बने राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा नियुक्ति दिन सकिन्छ, त्यसैले गठबन्धनलाई जिताउनु होला ।’

त्यस्तै कात्तिक ५ गते जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनले जिते राजदूत र राष्ट्रियसभा सदस्यसहितका पदमा नियुक्ति गर्न सकिने बताए ।

देउवा र प्रचण्डले गठबन्धनका लागि टाउको दुखाइ बनेका ‘बागी’ र टिकट नपाएर असन्तुष्ट भएका कार्यकर्ताहरुलाई फकाउन उक्त आश्वासन बाँडेका थिए । शीर्ष नेताले विभिन्न प्रलोभन देखाएपनि गठबन्धनविरुद्ध ‘बागी’ बनेकाहरु ‘टसमस’ भएका छैनन् ।

गठबन्धनबीचको भागबण्डाअनुसार कांग्रेसले ८९, माओवादीले ४७, एकीकृत समाजवादी २०, लोसपाले ७ स्थान र राष्ट्रिय जनमोर्चाले दुई सिट पाएका छन् । यद्यपि, कांग्रेसले ९१, माओवादीले ४८, एकीकृत समाजवादीले २१, लोसपाले ५१ र राष्ट्रिय जनमोर्चाले २ सिटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार उठाएका छन्।

कांग्रेसले काठमाण्डु–३ र १० मा माओवादीसँग र धनुषा–२ एकीकृत समाजवादीसँग मैत्रीपूर्ण प्रतिष्पर्धा गर्दैछ । कांग्रेसले सत्ता गठबन्धनमा रहेका साझेदार दलहरुलाई सघाएका क्षेत्रमध्ये १६ स्थानमा कांग्रेसकै ‘बागी’ उठेका छन्।

पार्टीले चुनावी तालमेलको सहमति गर्दागर्दै माओवादीविरुद्ध १० र एकीकृत समाजवादीविरुद्ध ६ निर्वाचन क्षेत्रमा कांग्रेसका नेताहरुले ‘बागी’ उम्मेदवारी दिएका हुन्। यस्तै कांग्रेसविरुद्ध तीन ठाउँमा माओवादीका ‘बागी’ छन् भने ४ ठाउँमा कांग्रेसविरुद्ध कांग्रेसकै ‘बागी’ छन्।

त्यस्तै माओवादीले रुपन्देही–१ मा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र रौतहट–३ मा एमाले परित्याग गरेका अर्का नेता प्रभु साहलाई सघाउन पार्टीको आधिकारिक उम्मेदवारी निष्कृय बनाएको छ ।

माओवादीविरुद्ध कांग्रेसका ‘बागी’

गोरखा–२ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गणेश देवकोटाले वागी उम्मेदवारी दिएका छन् । त्यस्तै चितवन–३मा भोजप्रसाद अधिकारीविरुद्ध दिनेश कोइराला, रुकुम पश्चिममा जनार्दन शर्माविरुद्ध तारक केसी, कपिलवस्तु–१ चक्रपाणि खनालविरुद्ध ललित गुरुङ र कैलाली ३ मा कृष्णकुमार चौधरीविरुद्ध नवीन बोहराले वागी दिएका छन् ।

बैतडीमा नरेन्द्र कुँवरविरुद्ध केशवबहादुर चन्द, मोरङ–४ मा अमनलाल मोदीविरुद्ध नवीन खवास, मोरङ–५ मा शिव मण्डलविरुद्ध मोहम्मद रेजा हुसेन, झापा–२ मा हरि रानामगरविरुद्ध कुमार भट्टराइ र दोलखामा गंगा कार्कीविरुद्ध विश्वनिधि पाख्रिन उठेका छन् ।

कांग्रेसविरुद्ध कांग्रेसकै ‘बागी’

कञ्चनपुर–३ मा रमेश लेखकविरुद्ध दीपकबहादुर सिंह र शारदा चन्द वागी उठेका छन् । यता सिन्धुपाल्चोक–२ मा मोहनबहादुर बस्नेतविरुद्ध बद्री चौलागाईं, धादिङ–२ मा रामनाथ अधिकारीविरुद्ध टीकाराम काप्री, सर्लाही–४ मा नागेन्द्रकुमार रायविरुद्ध अमरेश सिंह छन् ।

कांग्रेसविरुद्ध माओवादीका ‘बागी’

सर्लाही–४ मा नागेन्द्रकुमार रायविरुद्ध मधुमलाकुमारी यादव, धनकुटामा सुनीलबहादुर थापाविरुद्ध हेमराज भण्डारी, सप्तरी–१ मा रामदेव साहविरुद्ध अशोककुमार मण्डलले उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीविरुद्ध कांग्रेसका ‘बागी’

डोटीमा प्रेम आलेविरुद्ध नरेन्द्रबहादुर खड्का, अछाम–१ मा शेरबहादुर कुँवरविरुद्ध राजन कुँवर, इलाम–१ मा झलनाथ खनालविरुद्ध विक्रम पाण्डे, उदयपुर–२ मा जगन्नाथ खतिवडाविरुद्ध रामकुमार राई, गुल्मी–२ मा रामकुमारी झाँक्रीविरुद्ध दामोदर भुसाल, कास्की–२ मा श्रीनाथ बरालविरुद्ध महादेव गुरुङ र सल्यानमा प्रकाश ज्वालाविरुद्ध रवीन्द्रबहादुर शाह उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement