को हुन् नयाँ प्रहरी प्रमुख बनेका ‘सिंघम स्टाइल’का सर्वेन्द्र ?


काठमाडौं– नेपाल प्रहरीको २६ औं आइजिपी बन्ने सौभाग्यशाली बनेका छन्–सर्वेन्द्र खनाल । उनी आइजीपीको प्रतिस्पर्धामा रहेका डिआइजीद्धय पुष्कर कार्की र रमेश खरेललाई पछार्दै प्रहरी प्रमुख बन्न सफल भएका हुन् ।

अपराध महाशाखामा रहँदा फुटबलको म्याच फिक्सिङको जालो तोड्नेदेखि गुण्डा नाइके कुमार घैटे इन्काउन्टरसम्मका ठूला सफलता हात पारेपछि सर्वेन्द्र हिरोको छविमा देखिएका थिए । जसका कारण गत भदौमा उनी त्यसअघि पहिलो बरियतामा रहेका रमेश खरेललाई पछार्दै पहिलो बरियतामा डिआइजीमा बढुवा भए । त्यही बढुवा नै उनका लागि आइजिपी बन्ने महत्वपूर्ण खुडकिलो बन्यो ।

निकै काबिल प्रहरी अधिकारीहरु रहेको ४६ नम्बर ब्याचबाट प्रतिस्पर्धालाई उछिन्दै आइजीपी पड्काउने सौभाग्यशाली सर्वेन्द्र को हुन त ? उनी २०२३ सालमा तनहुँमा जन्मेका हुन् । तर, उनको बाल्यकालदेखिको सबै समय भने काठमाडौंमा नै बित्यो । उनका पिता केदारनाथ खनाल सरकारी जागिरे भएकाले उनको पठनपाठन काठमाडौंमा भएको हो ।

सानो छँदा फुटबलमा रुची राख्ने सर्वेन्द्रले शान्ति विद्या निकेतनबाट उनले विं.सं. २०३८ मा एसएलसी पास गरेका हुन् । उनले अस्कलबाट आइएस्सी र शंकरदेव क्याम्पसबाट बीकम गरेका छन् । आईएस्सी गर्दा इन्जिनियरिङ गर्ने सोच बनाएका उनी छात्रवृत्ति नपाएपछि त्यसबाट ब्याक भएर कमर्स पढेका थिए ।

२६ वर्षको उमेरमा २०४६ सालमा पुलिसमा इन्स्पेक्टरका रुपमा प्रहरी सेवामा प्रवेश गरेका सर्वेन्द्र ब्याचका ३६ जना इन्स्पेक्टर भए । जसमध्ये केही काबिल नामहरु प्नि छन्, जस्तो रमेश खरेल, विक्रम थापा उनकै ब्याचका इन्स्पेक्टर हुन् । बिक्रम रिटायर्ड भइसकेका छन् भने रमेश पनि उनीसँगै आइजीको लाइनमा थिए । उनी अहिले डिआइजी छन् ।

जनआन्दोलनको समयमा काठमाडौं प्रहरी परिसरका प्रमुख बनेका खनाल लामो समय तराईमा पनि रहे कार्य गरेका छन् । तराईमा रहेका बेला उनले १०९ सशस्त्र समूहको पत्तासाफ बनाए । सशस्त्र समूहका राजनमुक्तिदेखि अमिताभ भन्ने गोइतको मुख्य मान्छे उनकै नेतृत्वमा पक्राउ गरियो ।

खनाल हिरोको छविमा त्यो बेला देखिए, जब उनले काठमाडौंमा महानगरीय अपराध महाशाखाको कमाण्ड सम्हाल्ने अवसर पाए । उनकै नेतृत्वमा गुण्डा नाइके कुमार घैटेको इन्काउण्टर भयो भने वर्षौदेखिको म्याच फिक्सिङको जालो पनि तोडियो । पेट्रोल पम्पमा रातारात छापा, हुण्डीमा ठगी गर्नेहरुमाथिको रेड र अवैध कन्सल्टेन्सी सञ्चालकहरुमाथि उनले गरेको कारवाहीले धेरैको ‘वाहीवाही’ पाए ।
उनकै नेतृत्वमा कुख्यात भारतीय अपराधी बब्लु दुबेलाई पक्राउ गरिएको थियो भने जमिम साहका हत्यारा जगदीश चन्दलाई पनि उनले नै पक्राउ गरेका थिए ।

महानगरीय अपराध महाशाखाबाट उनको सरुवा प्रहरी हेडक्वार्टरमा भयो । हेडक्वार्टरमा रहँदा उनी प्रहरी प्रवक्ताको भूमिका समेत रहे । त्यसपछि गत भदौंमा डिआइजीमा बढुवा भएपछि तत्कालीन गृहमन्त्री जनार्दन शर्माले उनको काविल क्षमतालाई पहिचान गर्दै काठमाडौंको जाम कम गर्ने र ट्राफिक ब्यवस्थापन गर्नका लागि ट्राफिक महाशाखामा पढाए ।

आइजीपी बन्नुपूर्व खनाल ट्राफिक महाशाखाको डिआइजीको भूमिकामा थिए । खनाल प्रहरीमा २२ महिना आइजीपीका रुपमा कार्यभार सम्हाले छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement