वर्कसप र ड्राइभिङ सेन्टर अब चक्रपथबाहिर मात्र!


काठमाडौं  – सरकारले काठमाडौं महानगरपालिकाभित्र रहेका ड्राइभिङ सेन्टर र गाडी मर्मत गर्ने सबै वर्कसपला मन्त्रालयमा शुक्रबार र आइतबार दुई दिन बसेको विशेष बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने नाममा सो निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले साँघुरा स्थानमा रहेका ड्राइभिङ सेन्टर, गाडी मर्मतका लागि खोलिएका वर्कसपहरूले ट्राफिक व्यवस्थापनमा अवरोध खडा गरेकाले सकेसम्म टाढा लैजाने निर्णय भएको बताए । ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सबै सरोकारवाला निकायको बैठकले यो निर्णय गरेको हो,’ गृह प्रवक्ता सुवेदीले भने ।

बैठकले यो निर्णयलाई कार्यान्वयन गर्ने जिम्मेवारी काठमाडौं, महानगरपालिका, नगरपालिका र ट्राफिक प्रहरीलाई दिएको छ । यसैगरी, बैठकले टुरिस्ट बसलाई कान्तिपथबाट तत्काल हटाउनका लागि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीलाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै, उपत्यका बाहिर जाने गाडीहरूको बसपार्कको हकमा सम्बन्धित महानगर, नगरपालिका र ट्राफिक प्रहरीले समन्वय गर्ने निर्णय भएको छ ।

उपत्यकामा हाल १ लाख ५० हजारको हाराहारीमा कार, बस र ट्रक सञ्चालनमा छन् भने ५ लाखभन्दा बढी दुईपांग्रे सवारी (मोटरसाइकल) चलिरहेका छन् । जम्मा ४५० किलोमिटर लम्बाइ र करिब ४ दशमलव ५ मिटर चौडाइका सडकमा गुड्ने यी सवारीसाधन व्यवस्थापनमा ट्राफिक प्रहरीलाई हम्मे परिरहेको छ । प्रत्येक दिन ८३ हजार किलोलिटर पेट्रोलियम पदार्थको खपत हुने गरेको तथ्यांक केलाउँदै सरोकारवाला निकायहरूले यसको व्यवस्थापनमा जोड दिएका हुन् । प्रत्येक वर्ष नयाँ गाडी थपिँदै गर्दा बाटो भने साँघुरो बन्दै गइरहेकाले ट्राफिक व्यवस्थापनमा जटिलता थपिँदै गइरहेको छ ।

माओवादी नेता रामबहादुर थापाले गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै ट्राफिक व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित भएर निरन्तर तीनवटा बैठक राखेका थिए । सो विषयमा २९ फागुनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखसहितको पहिलो बैठक बसेको थियो ।

सो बैठकले गृहमन्त्री थापाको अध्यक्षतामा गृह, सूचना तथा सञ्चार, अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव, प्रहरी महानिरीक्षक, काठमाडौं महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुखलगायत सदस्य रहेको निर्देशन तथा अनुगमन समिति गठन गरेको थियो ।

त्यसलगत्तै दुई दिनपछि १ चैतमा गृहमन्त्री थापाको अध्यक्षतामा अर्काे बैठक बसेको थियो । सो बैठकमा गृहमन्त्री थापाले ट्राफिक व्यवस्थापन गर्न तथा धुलो, धुवाँ हटाउने विषयमा छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका महानगरपालिका नगरपालिकाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका प्रहरी प्रमुखलाई बोलाएका थिए । आजको राजधानीबाट खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement