३१ परियोजनामा २५ खर्बको आवेदन


काठमाडौं – लगानी सम्मेलनपछि ३१ परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताबाट ४८ वटा आवेदन प्राप्त भएका छन्। लगानी बोर्डका अनुसार विभिन्न मुलुकका लगानीकर्ताबाट प्राप्त ती आवेदनको कुल लागत करिब २५ खर्ब रुपैयाँ छ।

लगानी सम्मेलनमा ‘सोकेस’ गरिएका ७७ वटा परियोजनामध्ये २६ वटामा ४३ वटा आवेदन प्राप्त भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले जानकारी दिए। त्यस्तै, सोकेसमा समावेश नभएका थप पाँचवटा नयाँ परियोजनामा लगानी गर्ने आवेदनसमेत विदेशी लगानीकर्ताबाट प्राप्त भएका छन्।

हालसम्म प्राप्त आवेदनमध्ये सबैभन्दा बढी यातायात पूर्वाधारका परियोजनामा छन्। लगानी बोर्डका अनुसार यातायाततर्फ नौवटा परियोजनामा २२ वटा आवेदन दर्ता भएका छन्। जसको कुल लागत करिब १६ खर्ब रुपैयाँ हुने उल्लेख छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सबैभन्दा बढी ६ वटा आवेदन परेका छन्।

त्यस्तै, काठमाडौंको चक्रपथमा बस ¥यापिड ट्रान्जिट (बिआरटी) निर्माण परियोजना र बाहिरी चक्रपथ परियोजनामा चार–चारवटा, सामाखुसी–टोखा–छहरे रोड र धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुई–दुईवटा आवेदन दर्ता भएका छन्। काठमाडौं उयपत्यका मेट्रो रेल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग र काठमाडौं स्काई ट्रेन परियोजनामा एक–एक वटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ।

यातायातपछि ऊर्जा पूर्वाधारका सातवटा परियोजनामा आठवटा आवेदन परेका छन्। यसको कुल लागत आठ खर्ब रुपैयाँभन्दा बढी रहेको छ। ऊर्जातर्फ तमोर जलविद्युत् आयोजनामा दुईवटा, पश्चिम सेती, सुनकोशी दोस्रो र तेस्रो, तल्लो अरुण, एसआर६ हाइड्रोपावर तथा पाँच सय ५० मेगावटको सोलार परियोजनामा एक–एक वटा आवेदन दर्ता भएका छन्। कृषि पूर्वाधारतर्फ पाँचवटा परियोजनाका लागि सात आवेदन परेका छन्। ऊर्लाबारी, हेम्जा, बनेपा र चितवन, विरेन्द्रनगर तथा तिलोत्तमामा एकीकृत कृषि पूर्वाधार निर्माण गर्ने पाँचवटा परियोजनामा लगानीका लागि आवेदन परेका हुन्। यसको कुल लागत करिब साढे दुई अर्ब रुपैयाँ हुने बताइएको छ।

त्यस्तै, सहरी पूर्वाधारतर्फ चारवटा परियोजनामा करिब ४२ अर्ब रुपैयाँको पाँचवटा, पर्यटन पूर्वाधारका तीन परियोजनामा करिब १० अर्ब रुपैयाँको तीनवटा, स्वास्थ्य तथा शिक्षा पूर्वाधारका दुई परियोजनामा १३ अर्ब रुपैयाँको दुईवटा र उद्योग पूर्वाधारका एक परियोजनामा ६ अर्ब रुपैयाँको एउटा आवेदन प्राप्त भएको लगानी बोर्डले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement