गोरखामा ८ ठाउंमा माओवादी विजयी, नारायणकाजीको गृहपालिकामा पराजित


काठमाण्डु – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गोरखामा माओवादीले ८ वटा स्थानीय तह जितेपनि श्रेष्ठको गृहपालिका सिरानचोकमा भने माओवादी पराजित भएको हो ।

सिरानचोकमा कांग्रेसका ज्ञानेन्द्र गुरुङ ५ हजार ४ सय ३ मत ल्याएर विजयी भए । नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै रिता देवकोटा विजयी भएकी छिन् । उनले ४ हजार ८ सय ४ मत ल्याईन भने माओवादी केन्द्रकी पूर्णकुमारी ढकाल ३ हजार ९ सय २ मत ल्याएर पराजित भइन् ।

माओवादीले यसपटक गोरखामा राम्रो नतिजा ल्याएको छ । यसअघि २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले एक्लै ७ पालिका जितेको थियो । तर, यसपटक माओवादीले पुरानो विरासत फर्काएको छ ।

माओवादी विभाजन नहुंदा बावुराम भट्टराईका कारण पनि गोरखामा माओवादी बलियो थियो । तर, पार्टी विभाजनसंगै गोरखामा माओवादी कमजोर बन्न पुग्यो । माओवादी नेता श्रेष्ठ प्रतिनिधिसभाको निर्वाचनमा समेत पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement