नेपाली सेनाका प्रधानसेनापति शर्मा किन जांदैछन् अमेरिका भ्रमणमा ?


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा सेनापति नियुक्त भएपछी दोस्रो विदेश भ्रमणमा जांदैछन् । सेनापति शर्मा यसअघि भारतको औपचारिक भ्रमणका क्रममा नयां दिल्ली पुगेका थिए ।

सैनिक जनसम्पर्क निर्देशनालयले प्रधानसेनापति असार ०४ देखी १० सम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युनिफिल मिसन र सिरियास्थित अनडफ मिसनको निरीक्षण भ्रमण जान लागेको जनाएको छ ।

सेनाले द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधान सेनापतिको भ्रमण हुन लागेको दावि गरिएको छ ।

साथै, प्रधानसेनापति त्यहांबाटै संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । शर्माले असार १३ देखि १७ सम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने र अमेरिकी उच्च अधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ । शर्माले अमेरिकी रक्षामन्त्रालयका उच्च अधिकारी र आफ्ना समकक्षीसंग भेटवार्ता गर्नुका साथै द्धिपक्षिय सैनिक सहयोगका विषयमा समेत छलफल गर्नेछन् ।

शर्माको भ्रमणका क्रममा सैनिक सहकार्य, संयुक्त सैन्य अभ्यास र स्टेट पार्टनरसिप प्रोगाम, एम १६ हतियार खरिदलगायतका विषय एजेण्डामा छन् । अमेरिकी सेना र नेपाली सेनाबीच द्धिपक्षीय सैनिक सम्बन्ध मजबूत हुंदै गएको छ । अमेरिकाले नेपाली सेनालाई तालिम, हतियार र विपद व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

प्रधानसेनापतिको भ्रमणलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा समेत अमेरिकाको औपचारिक भ्रमणमा जांदैछन् । त्यसअघि नै अमेरिकी सेनाका चार तारे जर्नेल नेपाल भ्रमणमा आउने निश्चित भएको छ । प्रधानसेनापति शर्माको अमेरिका भ्रमणअघि नै अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्डका कमाण्डर एडमिरल जोन सी.अक्वीलिनो नेपाल भ्रमणमा आउने भएका हुन् । उनि अमेरिकी सेनाको शक्तिशाली जर्नेल हुन् ।

अमेरिकी सेनाको प्यासेफिक कमाण्डले एसियाका नेपाल, भारत,पाकिस्तान, फिलिपिन्स र अष्ट्रेलिया र पपुवा न्युगिनीलगायतका देश हेर्ने भएकाले उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमसीसी संसदबाट पारित भएसंगै अमेरिकाबाट एकपछी अर्को उच्चस्तरिय भ्रमणहरु भइरहेका छन् ।

सेनाले उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास लिएको जनाएको छ ।

युएन मिसनमा भ्रमणको दौरान प्रधानसेनापति शर्मा नेतृत्वको टोलीले उक्त मिशनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनुका साथै उक्त राष्ट्र तथा शान्ति मिशनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement