अपराधको घेरामा रवि लामिछाने, फेरि पत्रकारितामा फर्किन पाउँछन् ?


काठमाडौं – न्यूज २४ टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने अपराध अनुसन्धानको घेरामा परेका छन् । सामाजिक सञ्जालमा चर्चित पात्र तथा सञ्चारकर्मी लामिछाने ‘आत्महत्या दुरुत्साहन’ अभियोगमा छानबिनको दायरामा परेका छन् ।

आफ्नै पूर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले बिहीबार साँझ रवि लामिछानेलाई पक्राउ गरेको छ । पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछानेसहित तीन जनाको नाम लिएका थिए । रविसहित तीनै जनालाई पक्राउ परेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर अपराध महाशाखा काठमाडौंको टोलीले लामिछानेलाई टेलिभिजनको कार्यालय परिसरबाटै पक्राउ गरेको छ । रविसँगै उनका सहयोगी युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई समेत प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पक्राउ परेका सबै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै चितवन लगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले प्रेस विज्ञप्ति जारी गर्दै अभियुक्त तीनै जनालाई पक्राउ गरिएको पुष्टि गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले पुडासैनीले आत्महत्या प्रकरणमा नाम आएका तीनै जनालाई पक्राउ गरिएकाले अनुसन्धानले तीव्रता पाउने बताए ।

कानूनी व्यवस्था
२०७५ भदौदेखि कार्यान्वयनमा आएको मुलुकी फौजदारी अपराध संहिता १८५ (२) मा आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गर्नेलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । पुडासैनी प्रकरणमा आत्महत्या गर्नुअघि रवि, युवराज र अस्मिताका कारण आत्महत्या गर्न बाध्य भएको स्पष्ट उल्लेख गरिएको छ । मान्छेले मर्नुअघि होसमै हुँदा बोलेको कुरालाई अदालतले प्रमाणका रुपमा लिने व्यवस्था समेत रहेको छ ।
अपराध अनुसन्धानका क्रममा अभियुक्त पक्राउ गरेपछि २४ घण्टाभित्र अदालतमा पेश गर्नुपर्ने व्यवस्था छ ।

पक्राउ पूर्जी समेत अदालतकै आदेशमा जारी गरिएको हो । अनुसन्धानका क्रममा रवि लामिछानेसहित तीनै जनालाई प्रहरीले अदालतको अनुमतिले बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राख्न सक्नेछ । त्यसपछि मुद्दा अदालतमा दर्ता हुने र अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भनेर निर्णय गर्नेछ ।

प्रहरीले अनुसन्धानका क्रममा जुटाएका प्रमाणका आधारमा अदालतले निर्णय गर्नेछ । प्रमाण र कानूनको अन्तिम व्याख्या अदालतले गर्ने भएकाले भिडियोमा रेकर्ड भएका कुरालाई प्रमाण मान्ने कि नमान्ने, मृतकले लगाएको आरोपलाई कति हदसम्मको अपराध मान्ने भनेर अदालतलेको व्याख्यापछि मात्रै स्पष्ट हुनेछ । प्रहरीले स्रोतका अनुसार भिडियोको ल्याब परीक्षण भइसकेको र भिडियोमा रहेको आवाज सालिगरामकै भएको पुष्टि भइसकेको छ ।

रवि फेरि पत्रकारिता गर्न पाउँछन् ?
रवि लामिछाने अपराध अनुसन्धानको दायरामा आएपछि उनका धेरै समर्थकको जिज्ञासा हुनसक्छ कि उनी फेरि पत्रकारिता गर्न पाउँछन् कि पाउँदैनन् ? उनको पत्रकारिता अदालतको फैसलामा निर्भर रहनेछ । अदालतले उनलाई सजाय तोकेको अवस्थामा उनी जेलमा बस्नुपर्नेछ र पत्रकारिता अवरुद्ध हुनेछ । अदालतले सजाय नतोकेको अवस्थामा भने उनी पुनः पत्रकारितामा सक्रिय हुने बाटो खुला रहने छ । अपराध अनुसन्धानको दायरामा आउनु, शंका गरिनु नै अपराध प्रमाणित हुनु होइन । अदालतको फैसला अन्तिम हुने भएकाले अदालतले गरेको निर्णयमा रवि लामिछानेको भविष्य जोडिएको छ ।

अदालतले सजाय तोकेको अवस्थामा जेलबाट छुटेर आएपछि रवि लामिछानेले पत्रकारिता गर्न पाउँछन् कि पाउँदैनन् ? आत्महत्या दुरुत्साहनको अभियोग फौजदारी अभियोग हो । फौजदारी अभियोग प्रमाणित भएका व्यक्तिले पत्रकारिता पेशामा आवद्ध हुन नैतिकताको हिसाबले समेत सही हुँदैन । फौजदारी अभियोग लागेका व्यक्तिलाई सदस्यता नदिने भनेर पत्रकार महासंघ लगायतका संघसंस्थाको विधानमै व्यवस्था छ । अभियोग प्रमाणित भएको अवस्थामा रवि लामिछाने पत्रकारिता गर्न पाउने छैनन् तर निर्दाेष सावित भएको अवस्थामा भने उनी पत्रकारिता गर्न स्वतन्त्र हुनेछन् ।

सालिकरामको आरोप
सालिकरामले मर्नुअघि रेकर्ड गराएको भिडियोमा लगभग ८ मिनेट बोलेका छन् । भिडियोमा उनले रुँदै रवि लामिछाने लगायतमाथि गम्भीर आरोप लगाएका छन् । ‘रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने । कराउँदा–कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्‍याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्‍याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ?’ उनले भनेका छन्, ‘रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । केही–केही दिनदुःखीको उद्धार पनि गर्नुभयो । तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ ।

मसँग प्रमाण छ, आज नभएपनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’आफ्नो मृत्युपछि पत्नीलाई अर्काे बिहे गर्न भन्दै सालिकरामले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ ।’ उनले थप भनेका छन्, ‘मैले न्यूज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी अस्मिता कार्कीको पछि लगाए ।

त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्‍याइदिएँ । पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ । त्यही क्रममा मैले न्यूज २४ टेलिभिजन छाडें । त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यस्तै गरी बाँचिरहन चाहन्नँ ।’ भिडियोका आधारमा बलात्कारमा फसाउने धम्कीका कारण सालिकराम आत्महत्या गर्न बाध्य भएको हुनसक्ने निष्कर्षमा प्रहरी पुगेको छ ।

पक्राउ पर्नुअघि रवि लामिछानेले घटनाबारे आफ्नो पक्ष राख्दै स्पष्टीकरण दिएका छन् । उनले आरोप पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् । मृत्युको खबर सुनेपछि रविले जनाएको पहिलो प्रतिक्रियामा सालिकरामको प्रशंसा गरेका थिए । तर आत्महत्या प्रकरणमा आफ्नै नाम जोडिएपछि रविले सालिकरामको आलोचना समेत गर्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement