सशस्त्र प्रहरीको पुरै संरचना परिवर्तन, सरुवाको प्रक्रिया बदलियो


काठमाडौं – अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी बल आगामी साउनदेखि नयां संरचनामा परिवर्तन हुने भएको छ । सरकारले सशस्त्र प्रहरी बल पुनःसंरचना गर्ने प्रस्ताव स्वीकृत गरेसंगै अब अर्ध सैनिक प्रकृतिको यो फौज पुरै फौजी संरचनामा जाने भएको छ ।

सशस्त्रको यो नयंँ संरचना कतिपय हकमा नेपाली सेनासंग हुबहु मिल्दोजुल्दोसमेत छ । मन्त्रिपरिषद्ले संगठन पुनःसंरचनासम्बन्धी प्रस्ताव पारित गरेको भन्दै कार्यान्वयनका लागि गृह मन्त्रालयले पत्र पठाएसंगै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले अहिले यसका लागि थप गृहकार्य गरिरहेको छ ।

गृहले पठाएको निर्देशनमा हाल विद्यमान पांचवटा बाहिनीको संख्या वृद्धि गरी प्रत्येक प्रदेशमा बाहिनी संरचना स्थापना गर्ने तथा उपत्यकाका लागि छुट्टै बाहिनीको स्थापना गर्ने उल्लेख छ । यस्तै, हाल विद्यमान सीमा सुरक्षा कार्यालयलाई गणमा स्तरवृद्धि गर्ने, आवश्यकतानुसार प्राविधिक समूह गठन गर्ने, हाल विद्यमान रहेका बोर्डर आउट पोस्ट (बीओपी) को मौजुदा अनाश्रित संरचना हटाउने उल्लेख छ ।

गृहले देशका सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहनेगरी गुल्म स्थापना गर्नेसहितको निर्देशनसमेत दिइसकेको छ । यसका अतिरिक्त एक–एकवटा एकेडेमी, अस्पताल र स्टाफ कलेजको व्यवस्था गरिएको छ । गृह मन्त्रालयको यो परिपत्रसँगै अब प्रदेश ३ र प्रदेश ५ मा पनि सशस्त्र प्रहरी बलले बाहिनी खडा गर्नेछ । बाहिनीको नेतृत्व नायब महानिरीक्षक (डीआईजी) ले गर्दै आएका छन् ।

यस्तै, सशस्त्र प्रहरी बलको नयाँ संरचनामा महानगरीय सशस्त्र प्रहरी कार्यालय रहनेछैन । सशस्त्रले यो कार्यालयको नाम परिवर्तन गरी उपत्यका सुरक्षा कार्यालय राखिसकेको छ । पहिला अतिरिक्त महानिरीक्षक (एआईजी) ले नेतृत्व गर्दै आएको यो कार्यालयको नेतृत्व पनि अब डीआईजीले नै गर्नेछन् ।

स्रोतका अनुसार नयाँ संरचनाअन्तर्गत सशस्त्र प्रहरीमा अब बाहिनी आठवटाका अलावा शिक्षालय पाँचवटा, गण ३६ वटा र गुल्म ७७ वटा हुने भएका छन् ।
अहिले २७ गण, २१ सीमा सुरक्षा कार्यालय र ३८ गुल्म छन् । नयाँ संरचनामा सीमा सुरक्षा कार्यालयलाई पनि अब गणमा रूपान्तरित गरिने भएको छ । सशस्त्रमा अहिले कतिपय जिल्लामा गण र सीमा सुरक्षा कार्यालय दुवै छन् । अब भने एउटै मात्र गण रहनेछ । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement