विवादित अन्सारीबारे सुनुवाइ समिति निर्णय गर्न असफल


काठमाडौं – संवैधानिक परिषद्द्वारा मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम अन्सारीबारे निर्णय लिन संसदीय सुनुवाइ समिति असफल भएको छ । सिफारिस गरेको ४५ दिनसम्म सुनुवाइ समितिले निर्णय नगरेपछि योग्यता विवादमा परेका अन्सारी आयोगको अध्यक्ष बन्ने बाटो खुलेको हो । उनीविरुद्ध नक्कली नागरिकता तथा शैक्षिक प्रमाणपत्र बनाएको भन्दै सुनुवाइ समितिमा चारवटा उजुरी परेका थिए ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको दफा २६ को उपदफा २ मा सिफारिसपत्र प्राप्त भएको मितिले ४५ दिनभित्र समितिले राय दिइसक्नुपर्ने व्यवस्था छ । ‘उक्त समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाइका लागि पठाइएको पदमा नियुक्तिका लागि कुनै बाधा पुग्नेछैन,’ नियमावलीमा भनिएको छ ।

संवैधानिक परिषद्बाट समितिलाई १० माघमा पत्र प्राप्त भएको संघीय संसद् सचिवालयका सचिव धु्रव घिमिरेले बताए । त्यसअनुसार शनिबार ४५ दिन पुग्दै छ । शनिबार सार्वजनिक बिदा भएकाले सुनुवाइ समितिको बैठक आह्वान नगरिएको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए । गत ६ माघमा संवैधानिक परिषद्ले मुस्लिम आयोगका लागि अन्सारीसहित विभिन्न ५ आयोगका लागि अध्यक्ष सिफारिस गरेको थियो ।

परिषद्ले प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीलाई सिफारिस गरेको थियो । अन्सारीबाहेक अन्यविरुद्ध संसदीय समितिमा उजुरी परेन । त्यसैले चारैजनालाई समितिले अनुमोदन गरिसकेको छ । यो समाचार आजकाो नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement