विधान मस्यौदामा समान धारणा बनाउन पौडेल पक्षको छुट्टै भेला


काठमाडौं – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिए सँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र हुन थालेको छ । गुटगत बैठक विशेष गरी केन्द्रीय कार्यसमितिको संख्या बढेसँगै पदाधिकारीको संख्या बढाउनुपर्ने, पार्टीभित्रको निर्णय गर्ने अधिकार विकेन्द्रीकरण गर्नुपर्ने विषयमा केन्द्रित रहेको छ ।

विधान संशोधनको मुख्य एजेन्डासहित यही मंसिर २८ देखि पुस ३ गतेसम्म कांग्रेस महासमिति बैठक बस्दै छ । महासमति बैठकमा पेस हुने विधान मस्यौदामाथिको छलफल केन्द्रीय कार्यसमितिमा सकिएको छ । केन्द्रीय सदस्यहरुबाट आएको सुझावलाई समावेश गरी समान धारणासहित विधान मस्यौदा पेस गर्न कांग्रेसको छुट्टाछुट्टै गुटगत भेला बसिरहेको छ ।

समिति बैठकमा नौ दिनसम्म चलेको विधान मस्यौदामाथिको छलफलबाट प्राप्त सुझावलाई शीर्ष नेताहरु बसेर परिमार्जन गर्ने आधार तय गरी औपचारिक निर्णय गर्ने तयारी भइरहेको छ । कार्यसमितिको संख्या बढाउने तर पदाधिकारी नबढाउने गरी मस्यौदा समितिले पेस गरेको विधान मस्यौदामाथि केन्द्रीय समितिका अधिकांश सदस्यले असहमति जनाउँदै पदाधिकारीको संख्या पनि बढाउनुपर्ने माग गरेका छन् ।

यसै विषयमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक आइतवार नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको थियो । बैठकमा पौडेलका साथै महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा। शेखर कोइराला, डा। रामशरण महत, चन्द्र भण्डारी, गगन थापा, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, काठमाडौं जिल्ला सभापति सबुज बानियाँलगायतको उपस्थिति थियो ।

सो बैठकमा भएको छलफलबारे नवीन्द्रराज जोशीले भन्नुभयो– ‘हाम्रो छलफल विधान केन्द्रित थियो ।’ पदाधिकारीको संख्या बढाउने, केन्द्रीय समितिको बैठकमा आएको सुझावलाई समावेश गर्न समान धारणा बनाउनेबारे छलफल भएको उहाँको भनाइ थियो ।

बैठकमा सहभागी नेतृ कमला पन्तका अनुसार कार्यसमितिको संख्या बढाउने तर पदाधिकारी नबढाउने कुरा व्यावहारिक हुँदैन । केन्द्रीय समितिमा विधान मस्यौदा माथिको छलफल सकिएको छ । अब औपचारिक निर्णय गर्ने बेलामा सिनियर नेताहरु बसेर प्राप्त सुझावलाई समेटेर विधान मस्यौदाको औपचारिक निर्णय गरी महासमितिमा लैजानुपर्छ भन्ने बारेमा छलफल भएको नेतृ पन्तको भनाइ थियो ।

महासमिति बैठकमा पेस गरिने समग्र आर्थिक नीति र राजनीतिक दस्तावेजको बारेमा आज सोमबार बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ । महासमिति बैठक नजिकिएसँगै संस्थापन पक्षका नेताहरुले पनि छुट्टै भेला÷बैठक गरिरहेका छन् । यता महासमिति बैठकका लागि काठमाडौं जिल्ला सभापति सबुज बानियाँको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिले बैठकको तयारी तीव्र रुपमा अघि बढाएको छ ।

स्थानीय व्यवस्थापन समितिमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका पदाधिकारी छन् । आइतबार बसेको यो समितिको बैठकले महासमिति बैठकमा कुनै पनि कमिकमजोरी नराख्न सम्पूर्ण भ्रातृ एवं शुभेच्छुक संघसंस्थाका नेतालाई परिचालन गर्ने निर्णय गरेको छ । संयोजक बानियाँका अनुसार नेपाली कांग्रेसको भविष्य निर्धारण गर्ने यो बैठक अत्यन्त महत्वपूर्ण भएकाले यसलाई भव्यरुपमा सफल बनाउन व्यवस्थापन समितिले कुनै कसर बाँकी राख्नेछैन ।यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement