पर्यटक आवरणमा बाल यौन दुराचार: यस्ताे छ डरलाग्दाे तथ्यांक


काठमाडौ– नेदरल्याण्डका ७५ वर्षीय नागरिक हेनरिकस एड्रियानस जोसेफस क्रुइजसेन बाल यौन दुराचार गरेको अभियोगमा गत २३ कात्तिकमा पक्राउ परे। कोटेश्वरको एक होटलबाट पक्राउ परेका उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।

क्रुइजसेनले बालकलाई ललाइफकाई यौन दुराचार गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को अनुसन्धानले देखाउँछ।

गत वर्ष नै ठमेलबाट पक्राउ परेका जर्मन नागरिक अल्बर्ट फे्रड किन्लेक, अष्ट्रियन नागरिक मार्कस केन्डलर पनि पुर्पपक्षका लागि थुनामा छन्। उनीहरू पनि बाल यौन दुराचारको आरोपमा नै पक्राउ परेका थिए। नेदरल्यान्डका माइसेन हेन्ड्रिक वोटोलाई सर्वोच्च अदालतले २०६९ कात्तिकमा यौनदुराचार मुद्दामा दोषी ठहर गरेको थियो।

बाल यौनदुराचारमा संलग्नहरू गरिब र कम शिक्षित बालबालिकालाई निशाना बनाउने गरेको पाइएको सिआइबीका प्रवक्ता जीवन श्रेष्ठ बताउँछन्। जुन हामीले माथि प्रस्तुत गरेका केहि घटनाले पनि पुष्टि गर्छ।

अष्ट्रियाका केन्डलर सन् २०१४ देखि ६ पटकसम्म नेपाल आउँदा धादिङको विकट गाउँ गोगन पुगेका थिए। उनी समाजसेवाको नाममा गरिब र कम शिक्षित बालबालिकालाई शैक्षिक सामग्री, कपडा, खलौनालगायतका समान वितरण गर्थे। तर, ती र त्यस्ता बालबालिकालाई काठमाडौं ल्याएर उनले यौनदुराचार गर्थे।

प्रवक्ता श्रेष्ठ भन्छन्, ‘केन्डलरले बालकलाई पाइन्ट, टिसर्ट र खलौना किनिदिएका थिए । गरिब परिवार र उनका बालबालिकालाई केही सहयोग गरेपछि बालबालिका मात्रै होइन परिवारले समेत उनलाई विश्वास गरे।’

बाल यौन दुराचारको आरोपमा २०७३ भदौमा पक्राउ परेका अमेरिकी नागरिक कोनिक जोसेफ कन्मस र उनका नेपालीसहयोगी बुद्ध पुतवारले बाल यौन दुराचार ‘व्यवसाय’ नै सञ्चालन गरेका थिए।

कतिसम्म भने उनीहरुले बालबालिकालाई यौन क्रियाकलापमा लगाइसकेपछि उनीहरुको भिडियो र फोटो समेत खिचेर राखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो।

सीआइबीको तथ्यांकले देखाउँछ, पर्यटक भिषामा आएका विदेशी नागरिक बाल यौन दुराचारमा लिप्त छन्। बाल यौन दुराचार गरेको अभियोगमा फ्रान्सेली नागरिक जी ज्याँक हे सन् २००९ मा पक्राउ परेका थिए। काठमाडौंको छाउनीमा ‘चिल्ड्रेन अफ छाउनी’ नामको संस्था चलाएर बसेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेपछि उनलाई कतार हुदै फ्रान्स पठाइएको थियो।

फ्रान्स पठाएपछि त्यहाँको अदालतले उनलाई १० वर्षको कैद र नेपाली बालबालिकालाई क्षतिपूर्ति दिने फैसला गरेको थियो। उनी सन २००४ मा नेपाल आएका थिए, भने सन् १९९९ मा पहिलोपटक नेपालमै यौन दुराचारमा पक्राउ परेका थिए।

बालयौन दुराचारमा आफन्तको पनि संलग्नता रहेको देखिन्छ।

केन्द्रीय बालकल्याण समितिको अध्ययन अनुसार दुराचारका घटनामध्ये ८७ प्रतिशत छिमेकी, आफन्तबाटै भएको पाइएको छबालअधिकारका क्षेत्रमा कार्यरत कबिता शाह भन्छिन्, ‘आफ्नै नातेदार र परिवारबाट समेत बाल यौन दुराचार धेरै हुने गरे पनि पीडित खुल्न नसकेका कारण घटना बाहिर आएका छैनन्।’

बाल यौनदुराचारको आरोपमा विदेशी नागरिक धमाधम पक्राउ परे पनि त्यो भन्दा ठूलो संख्यामा आफन्तबाटै यौनदुराचार हुने गरेको उनको ठम्याइ छ।

बालबालिकालाई अपरिचित मानिससँग एक्लै छोड्न नहुने र उनीहरूको दैनिक व्यवहारबारे पनि बिशेष ध्यान दिनुपर्ने शाह बताउँछिन्।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०६९-७० मा ११ वटा बाल यौनदुराचारका घटना दर्ता भएकोमा आर्थिक वर्ष २०७०-७१ उक्त संख्या बढेर २० पुग्यो ।

त्यस्तै, आर्थिक वर्ष २०७१-७२ मा बाल यौनदुराचारको संख्या २२ पुग्दा आर्थिक वर्ष २०७२-७३ र ०७३-७४ मा २०-२० वटा बाल यौनदुराचारका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७४-७५ को साउन महिनामा मात्रै ४ वटा बाल यौनदुराचारका घटनामा मुद्दा दर्ता भएका छन्।

मुलुकी ऐनको ९ को दफा (क) मा कसैले नाबालकसँग अप्राकृतिक मैथुन गराएमा जबरजस्ती करणी गरेको ठहर गरेको छ। १० वर्षभन्दा मुनिको बालबालिकालाई करणी गरेमा १० देखि १५ वर्षसम्मको कैद, १० वर्षदेखि १४ वर्षसम्मकोलाई करणी गरेमा ८ देखि १२ वर्षसम्म कैद, १४ देखि १६ वर्षसम्मकालाई करणी गरेमा ६ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था कानुनले गरेको छ। नाबालकको उमेर र उसलाई पुग्न गएको क्षतिको समेत विचार गरेर क्षतिपूर्ति भराउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
Advertisement