बालक अपहरण र हत्या प्रकरण : इन्काउन्टर नै शंकास्पद


काठमाडौं – राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो ।

त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी गरेको थियो । सूर्यविनायक नगरपालिका–८ पाइलट बाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गर्न लाग्दा आत्मरक्षाका लागि चलाएको गोली लागी उनीहरूको मृत्यु भएको महाशाखाको दाबी छ ।

तर अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न अनुत्तरित छ । नगदेशस्थित डेराबाट उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने प्रश्नको पनि प्रहरीले उत्तर दिएको छैन ।

१. अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै हान्नुपर्ने अवस्था कसरी आयो र ?
२. नगदेशस्थित डेराबाट अपहरणकारी कसरी पाइलट बाबा आश्रम जाने जंगलसम्म पुगे  ?
३. प्रहरीले १९ राउन्ड फायर गर्दा अपहरणकारीका तर्फबाट एक गोली पनि फायर भएन  ?
४. अपहरणकारीलाई पक्राउ र कुटपिट गरेपछि प्रहरीले कहाँ लिएर गयो  ?
५. कति दूरीबाट गोली हानियो र शरीरको कुन–कुन भागमा लाग्यो ?

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मारिएका अपहरणकारीलाई प्रहरीको ७ गोली लागेको छ । प्रहरीले १९ राउन्ड फायर गरेको थियो भने अपहरणकारीका तर्फबाट कुनै फायर भएको छैन । ठूलो संख्यामा परिचालित प्रहरीले त्यति धेरै गोली फायर गर्नुपर्ने अवस्था आउनुलाई एक पूर्वउच्च प्रहरी अधिकारीले शंकास्पद मानेका छन् ।

अपहरणकारीको मृत्युको घटनामा स्वाभाविक नलाग्ने केही तथ्य बाहिर आएको ती अधिकारीले बताए । ‘सार्वजनिक भएको अपहरणकारीको फोटोमा उनीहरूको खुट्टामा चप्पल देखिन्छ । जंगलको बाटो चप्पल लगाएर दौडिनु त्यति सहज हुँदैन,’ उनले भने, ‘त्यस्तो अवस्थामा प्रहरीले उनीहरूलाई सजिलै नियन्त्रणमा लिन सक्थ्यो ।’ महाशाखाले भने उनीहरूले प्रहरी टोलीमाथि नै जाइलागेको दाबी गरेको छ । अपहरणकारीले बन्दुक ताकेको तर ट्रिगरमा समस्या देखा परेको अनुसन्धानमा खटिएका एक प्रहरीले दाबी गरे ।

महानगरीय अपराध महाशाखाका एक पूर्वअनुसन्धान अधिकारी दुई व्यक्तिलाई समात्न प्रहरीले अरू धेरै उपाय लगाउन सक्ने बताउँछन् । ‘महाशाखाले भनेजस्तै जंगलको बाटो दौडेर भाग्दै गरेका अपहरणकारीले गोली नै प्रहार गरेको भए पनि रुखको बीचमा सही निसान साँध्नु सजिलो होइन,’ उनले भने, ‘महाशाखाले अपहरणकारी व्यावसायिक आपराधिक समूहको व्यक्ति नभएको सूचना बिहानै पाइसकेको थियो । त्यस्तो अवस्थामा प्रहरीले घुँडामुनि गोली हानेर वा अपहरणकारी भाग्ने सम्भावित दिशामा व्यापक जनशक्ति परिचालन गरेर अपहरणकारीलाई सजिलै समात्ने सम्भावना हुन्थ्यो ।’

महाशाखाले दाबी गरेजस्तै अपहरणकारीहरू जंगलतर्फ भाग्दै गरेको अवस्थामा मुठभेड नभएको संकेत नगदेशका प्रत्यक्षदर्शी स्थानीयको भनाइले पनि दिन्छ । मंगलबार कान्तिपुरसँगको सम्पर्कमा आएका घटनास्थल क्षेत्रका केही बासिन्दाले महाशाखाको टोलीले दुई अपहरणकारीलाई समातेको र कुटपिट गरेको बताए ।

प्रहरीले त्यसपछि ती दुई जनालाई कहाँ लिएर गयो भन्नेबारे केही बताएको छैन । प्रहरीले अपहरणकारी बस्ने घरधनीसँग पनि कुराकानी गरेको देखिन्छ । नगदेशकै एक स्थानीयले प्रहरीले अपहरणकारीबाटै सूचना लिएर बालकको शव फेला पारेको दाबी गरे । ‘यसलाई आधार मान्ने हो भने त महाशाखाको टोलीले नै अपहरणकारीलाई आफूसँगै लिएर गएको संकेत मिल्छ,’ ती अधिकारीले भने ।

महाशाखाले अहिलेसम्म अपहरणकारीलाई विशेष सूचनाका आधारमा उक्त क्षेत्रमा पछ्याएको दाबी गरेको छ । तर घटनास्थलनजिकै रहेको डेराबाट अपहरणकारी कुन बाटो हुँदै, कसको सहयोगमा त्यहाँसम्म पुगे भन्ने खुलाइएको छैन । अपहरणकारीको शवको पोस्टमार्टम रिपोर्ट नआइसकेकाले कति दूरीबाट गोली हानियो र शरीरको कुन–कुन भागमा गोली लागेको छ भन्ने तथ्य सार्वजनिक भएको छैन ।

आइतबार राति महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंले एकै समयजसो बालक अपहरणको सूचना पाएका थिए । लगत्तै दुवै टोली अपहरणकारीले गरेको फोनको लोकेसन ट्रेस गर्नतिर लागेका थिए । महाशाखाले सोमबार बिहानमात्रै अपहरणकारीले धम्काउन प्रयोग गरेको नयाँ सिम र नियमित चलाइरहेको सिमको कल डिटेल रेकर्ड (सीडीआर) पाएको थियो ।

प्रहरी परिसर काठमाडौंले भने त्यतिन्जेलसम्म पनि अपहरणकारीको नियमित फोनको सीडीआर पाइसकेको थिएन । ‘सीडीआरबाट प्राप्त सूचनाकै आधारमा महाशाखाको टोलीले अपहरणकारीको डेरासम्म पुग्ने बाटो पत्ता लगाएको थियो,’ स्रोतले भन्यो ।

अपहरणका क्रममा गोपाल तामाङले बोक्ने फोन प्रयोग भएको थियो । गोपालको पुरानो सिमको सीडीआर हेर्दा उनले पछिल्लो एक महिनामा सबभन्दा धेरै ३३ पटक एउटै नम्बरमा फोन गरेको देखिन्छ । अर्को एउटा नम्बरमा भने उनले यही अवधिमा १६ पटक फोन गरेका थिए । अपहरणकारी बारम्बार सम्पर्कमा रहेका विभिन्न नम्बरबाटै महाशाखाले उनीहरू बस्ने डेरा पत्ता लगाएको थियो ।

बिहान ८ नबज्दै सीडीआर पाएको महाशाखालाई अपहरणकारीको डेरामा पहिल्याउन एक घण्टा जति लागेको थियो । सीडीआरको अभावमा लोकेसनमात्रै पाएका प्रहरी परिसर काठमाडौं र प्रहरी परिसर भक्तपुरको टोली बिहान अबेरसम्मै अलमलमा परेका थिए । ठूलो संख्यामा प्रहरी टोली मध्यपुर थिमि क्षेत्रमा परिचालन भए पनि महाशाखाको टोलीले आफूले पाएको सूचना आदानप्रदान गरेन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement