कांग्रेस केन्द्रीय समिति बैठकमा अपराधी जोगाउने विधेयक सच्याउने कानूनमन्त्रीको संकेतः महामन्त्रीले के-के भने?


काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा उपसभापतिद्धय पूणर्बहादुर खड्का र धनराज गुरुङले पार्टी केनिद्रय सदस्यहरुले राखेका प्रश्नहरुको जवाफ दिएका छन्।

साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी राखेर स्थगित भएको छ । सभापति देउवाले बुधबार अपराह्न ४ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ पनि त्यही बैठकमा दिने बताएका छन् । पदाधिकारीसहित बसेर निर्णयको खाका तयार पारेपछि सभापतिले सम्बोधन गर्ने तयारी गरेका छन् ।

साेमबार बैठकमा महामन्त्री गगन थापाले पार्टी संसदीय दलको नेतामा फेरि भिड्ने संकेत गरे। पार्टीको केन्द्रीय समिति बैठकमा उहाँले संसदीय दलको चुनाव लड्न आफूलाई पार्टी विधान र संसदको नियमले नरोक्ने बताएका हुन्। थापाले नेतृत्व परिवर्तन असहज बनाइएकाले नेपालका पुराना दलहरु संकटमा पर्दै गएको निष्कर्ष सुनाए।

उनले भने,’पार्टी सभापतिज्यूप्रति मेरो असिम श्रद्धा छ । एक्लै भेट्दा म सभापतिज्यूसँग कसरी कुरा गर्छु मलाई थाहा छ । उहाँ मेरो पितासरह हो । तर, नेतृत्व परिवर्तनको विषयले नेपालको राजनीतिमा प्रवेश पाउनै पर्छ । यसका निम्ति मेरो प्रयास निरन्तररुपमा हुन्छ । त्यही भएर कांग्रेस संसदीय दलको नेता बदल्ने प्रयास गरेँ , सकिन । परिणाम त मैले मान्नैपर्छ । तर, यो प्रयास मैले फेरि गर्नै मिल्दैन त ?’

थापाले यो गठवन्धनको नेता कांग्रेस भएकाले आफ्ना शर्तहरुमाथि सम्झौता गर्नु नहुने बताएका छन्। अबको ४ वर्षमा देशमा संघीयता चाहिन्छ भन्ने मनोभावना विकास गर्ने चुनौती रहेको उनको भनाई छ । तर, गठबन्धन टिकाउने नाममा पार्टीका शर्तहरुमाथि सम्झौता नहुने थापाले बताए।

उनले थपे, ‘हाम्रा केही शर्त छन् त्यो रहनुपर्छ । कांग्रेसको आधारभूत मान्यतामा सम्झौता गरेर गठवन्धन टिकाउनुपर्छ भन्ने कुनै बेला नआओस । कांग्रेसले सम्झौता गरेन भने गठवन्धन भत्किन्छ भनेको बेला नेपाली कांग्रेस थरथर गरेर हामी सम्झौता गर्छौं भन्ने कदाचित हुँदैन । आधारभूत मान्यतामा सम्झौता हुँदैन, चाहे प्रदेश सरकार बनाउन होस वा सरकार टिकाउन । गठवन्धन दलभित्र रहेको अमूक दलको माग पूरा गर्नका लागि अनुचित सम्झौता कांग्रेसले गर्दैन, चाहे गठवन्धन तलमाथि भए हुन्छ ।’

थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका र अनुसन्धानको दायरामा आएका सबै नेता कार्यकर्तालाई निलम्बन गर्न प्रस्ताव गरे। बैठकमा सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा आफ्नो १३ बुँदे लिखित धारणा थापाले राखेका छन्। ‘नक्क्ली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबट निलम्बन गरौं । जसरी संसदबाट निलम्बन हुन्छ त्यसरी पार्टीबाट पनि हुन्छ,उनले भने।’

शर्माका सात प्रस्तावः
अर्का महामन्त्री विश्वप्रकाश शर्माले कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गरेका छन्। उनले कालोमोसो दल्ने कार्यकर्ताको सदस्यता तत्काल खारेज गर्नुपर्ने बताए।

पार्टीको कुनैपनि तह वा भ्रातृ वा शुभेच्छुक संस्था मर्यादित नहुदा देशभरको कांग्रेस आलोचित हुने गरेको उनको भनाई छ। शर्माले पार्टी रुपान्तरणको लागि सातवटा प्रस्ताव पेस गरेका छन्। केन्द्रीय समिति बैठकमा उनले सात वटा प्रस्ताव पेश गरेका हुन्। उनले केन्द्रीय सदस्य सबैले जिम्मेवारी पाउनेगरी ’हरेक काँधमा जिम्मेवारी, हरेक हातमा काम’ अभियान सुरू गर्नुपर्ने बताए। उनले बृहत् युवा उद्यमशिलताको सन्दर्भमा पार्टीभित्र अभियान चलाउन जरुरी रहेको बताए।

कांग्रेसमा लागेका युवाहरूको मात्र नभई समाजका सम्पूणर् युवालाई यो अभियानमा समेट्न उनको आग्रह छ । महामन्त्री शर्माले प्रदेश कमिटीमार्फत प्रदेशका भातृ संस्थाहरू विस्तार गर्नुपर्ने उनकाे प्रस्ताव छ। शर्माले पार्टीको भातृ वा सुवेच्छु संस्थाहरूलाई कडाइ गर्नुपर्नेमा जोड दिए।

भातृसंस्थाका कतिपय कामले सिंगो कांग्रेस बदनाम भइरहेको भन्दै उनले नीति अधिवेशनमार्फत् पार्टीको कुनै पनि तहका भातृ वा सुवेच्छुक संस्थाले सभ्य र मर्यादित भएर कुनै पनि माग राख्नुपर्ने बताए।

‘अपराधी जोगाउने विधेयक सच्चिने’

कानूनमन्त्री तथा कांग्रेस उपसभापति धनराज गुरुङले सरकारद्वारा संसदमा प्रस्तुत केही नेपाल ऐन संशोधन गर्ने विधेयकको विवादित बुँदा हटाउने संकेत गरेका छन्।

कांग्रेसको केन्द्रीय समिति वैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। राजनीतिक आन्दोलनका नाममा भएका हिंसात्मक घटनाका दोषिलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइएको भन्दै चौतर्फी विरोध भइरहेको छ । कांग्रेस बैठकमा वरिष्ठ नेता सेखर कोइरालाले समेत यो विधेयक फिर्ता लिन माग गरेका थिए।

मन्त्री गुरुङले आफ्नो जानकारीबिना नै उक्त बुँदा विधेयकमा समावेश भएको आशय व्यक्त गरे । कांग्रेसका नेताहरुले पनि प्रतिपक्षीकै शैलीमा विरोध जनाएकोमा उनको गुनासो थियो ।

उनले भने,’ ‘दफा ६४ को सन्दर्भमा जोडदार कुरा उठ्यो । यो वैठकमा पनि उठेको मैले सुचना पाएँ । सभापतिज्यूकै अनुमतिमा म विभिन्न संसदीय समितिको वैठकहरुमा थिएँ । वास्तवमा चामलको बोरा लिएर गइसकेपछि बोरा फुकाउँदा चामल मात्रै हुन्छ भनेर सोच्न भएन । हाम्रो उद्देश्य चामल मात्रै होस भन्ने नै हो । तर, बोरा फुकाउँदा बियाँ पनि हुन्छ । अलिअलि भुस पनि हुन्छ । स्वाट्टै बोराबाट निकालेर पकाउन मिल्दैन । त्यसैले चामल लगिसकेपछि नाङ्लोमा राखेर निफन्ने, छान्ने, केलाउने गरेर फेरि बियाँलाई फाल्छौं । भुसलाई फाल्छौं । त्यसपछि चामललाई ताउलोमा राखेर पकाउछौं । धनराज गुरुङलाई यस्तो नठान्नुस कि भात खाँदा गाँसमा ढुंगा पर्यो भने ढुंगा पनि निल्छ । धनराज गुरुङ त्यति लाटो छैन । ढुंगा पर्यो भने सुलुक्क निल्छ भन्ने नठान्नुस । गुरुङले निल्दैन, ओकलेर फाल्दिन्छ । यति भनेपछि त बुझ्नुभयो होला । अरु दलले जे-जे भन्छन् त्यही ढंगबाट उफ्रिदिनु पनि भएन । कांग्रेसकै साथीहरु दस हात माथि उफ्रिराख्या पनि देख्छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement