कोरोना युद्धमा स्वास्थ्यकर्मीहरु भगवानको अर्को रुप


-कृष्ण सापकोटा,काठमाडौं – हुनत हरेक चिजलाई हेर्ने र बुझने दृष्टिकोण आ–आफ्नै हुन्छ । जहाँ मान्छे एक–अर्कालाई छुन र नजिक हुनपनि डराइरहेका छन्, त्यही आफ्नो शरिरको बेवास्ता गर्दै कोरोनाका बिरामीहरुसँग अस्पतालमा हरपल खेलेर मृत्युको मुखबाट बचाउनमा लागिरहेका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरुको दायित्वलाई खुलेर प्रसंसा गर्नैपर्छ । संसारव्यापी यस्तो महामारीमा अस्पताल पुगेर अग्र–मोर्चामा रहेर बिरामीहरुको उपचारमा अन्तरमनदेखि जिम्मेवारी सम्हालेर लड्ने ती स्वास्थ्यकर्मीहरुको उत्साह देख्दा पिडाको समयमा पनि घरिघरि यो मन खुसीले गद्गद् हुन्छ ।

अनि ति स्वास्थ्यकर्मीहरुप्रति कोरोना युद्धमा जित हुने पूरा भरोसा जाँगेर आउछ । अग्रपंतिमा रहेर खट्ने स्वास्थ्यकर्मीहरुलाई आज यो महामारीमा जनमानसले भगवानको अर्को रुप ठानेका छन् । उनीहरुलाई करुणा र समर्पणका प्रतिमूर्ति ठानेका छन् । बिरामीको सेवामा नै आफ्नो जीवन सार्थक भएको देख्ने ति स्वास्थ्यकर्मीहरु प्रति जनमानसले मनै देखि उच्च सम्मान टक्राएका छन् । अकस्मात दशा बनेर आएको यो महामारीमा कहाँबाट कसरी उपचार शुरु गर्ने भन्ने अन्योलमा भगवानरुपी चिकित्सकहरुले कत्तिपनि अन्योल देखेनन् । रोगका लक्षण बिरामी अनुसार फरक–फरक देखिएका छन् । अथवा कुनै संक्रमितलाई लक्षणनै नदेखिएको स्थिति पनि छ । खोप र औषधी नबनेको यो समयमा बिरामीलाई कुन औषधि चलाउने, वा नचलाउने भन्ने दोधारमा चिकित्सकहरु अलिकति पनि अल्झिएनन्, प्रष्ट भए ।

यो कोभिड–१९ रोगसँग लड्न जो कोही चिकित्सकहरुलाई बनिबनाउ बाटो, मार्गचित्र, वा अनुभव पटक्कै थिएन । हतार–हतारमा उपचार पद्दति स्वयं चिकित्सकहरुले आफै पत्ता लगाउनुपर्ने अवस्था थियो । तरपनि उपचार बिधिमा आफै नयाँ बाटो पत्ता लगाएर कोरोनाको बिरामी निको पार्न आज उनीहरु सफल भएका छन् । अस्पतालमा बिरामीको आगमन् ह्वात्तै बाक्लिदा स्वास्थ्यकर्मीहरुलाई स्थिति सम्हाल्न सहजता पक्कै छैन । चापेको बिरामीलाई आईसीयूमा अक्सिजन तथा भेन्टिलेटर समेत प्रयोग गरेर भएपनि नाजुक स्थितिबाट सामान्य स्थितिमा फर्काउन हम्मेहम्मे परेको छ । त्यो जीवन–मरणको छट्पटाहट्को पिडाको प्रत्यक्ष साक्षी स्वास्थ्यकर्मी नै बन्नुपरेको छ । बिरामीले युद्घ हारेर कथम्कदाचीत् प्राण त्याग गरेमा लाशलाई सम्हाल्ने नजिकमा अरु कोही छैन । आफन्तले भेट्न र लाश छुन पाउदैनन् । यस्तो कारुणिक अवस्थाको स्यवं प्रत्यक्षदर्शी स्वास्थ्यकर्मी नै बन्नुपरेको छ ।

त्यस्तै स्वास्थ्यकर्मीहरुसँग आफ्नो परिवार छ, मन छ, भावना छ, र कर्तव्यप्रतिको उच्च निष्ठा पनि छ । आज उनीहरु यो मन, परिवार, आफ्ना भावना सबै दवाएर मानव सेवाको कर्तव्यप्रति भोकभोकै दिनरात खट्नुपरेको छ । एउटा दुधे बालक घरमा छोडेर आफ्नो ड्युटीमा खटेको महिला स्वास्थ्यकर्मी, र नव्बे बर्षको आमा घरमा भोकै राखेर अस्पतालमा खटेको अर्को स्वास्थ्यकर्मीको निश्वार्थ सेवाभाव देख्दा र सुन्दा मन भक्कानिएर आउछ । उनीहरुप्रति उच्च सम्मान जागेर आउछ । हालसालै मात्र रुसमा सम्बन्धित पक्षले स्वास्थ्यकर्मीहरुको मनोभावना बुझ्ने प्रयास नगर्दा र चाहिने पीपीई सहित बिभिन्न सुरक्षा कवचहरुको व्यवस्था गर्न नसक्दा तीन जना स्वास्थ्यकर्मीहरुले झ्यालबाट हाम फालेर आत्महत्याको प्रयास गरे । आशा छ अब स्वास्थ्यकर्मीमाथि त्यस्तो भावना बिपरित लाद्ने काम कुनै निकाय वा अस्पताल प्रशासनबाट नहोस् र सम्बन्धित पक्षले तुरुन्त यस्ता सवालमा बडो बिचार पुर्याओस । बिश्वमा प्रत्यक्ष खटिरहेका हजारौं स्वास्थ्यकर्मी संक्रमित भएको र कैयन स्वर्गवास भएको समचारले स्वास्थ्यकर्मीका परिवार र आफन्तजनको मनमा उब्जेको संक्रमण सर्ने डरको चिन्तालाई हटाउनु मूलभुत आवश्यकता छदैछ ।

हिजोसम्म सँगै खटेको सहकर्मीलाई संक्रमण भएर त्यहि अस्पतालको शैयामा कोरोनासँग लड्दै लम्पसार् परेको क्षणले पनि मनमा नरमाईलो पक्कै बनाउछ । अझै सहकर्मीले आँखै अगाडी अकालमा मर्नुपर्दा हृदय झनै बिक्षिप्त हुन्छ । यि बिपतका कथा र घटनाहरुले स्वास्थ्यकर्मीलाई वास्तविक जीवनको तितो अनुभव सिकाएको छ । भलै बिरामी निको भएर खुसीले घर फर्किदाको पलले भने स्वास्थ्यकर्मीको सम्पुर्ण दुःखलाई बिर्साउदछ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको आक्रमणले बिचल्लित भएर भर्खरै तंग्रिदैछन् । उनी आफ्नो स्वास्थ्य अवस्था खराव दिशातिर गईरहेको समय डाक्टरले बचाउन गरेका प्रयास र स्याहारको भित्रिकुरा संझिदा बेला–बेला भावुक पनि हुन्छन् । यो आपतमा स्वास्थ्यकर्मीहरुले देखाएको यो सह्रानिय कामको जति प्रसंसा गरेपनि पुग्दैन । स्वास्थ्यकर्मीको काँधमा सिंगो मानवको जीवन छ । बिश्वभरिनै सेवानिवृत्त र अरु इच्छुक स्वास्थ्यकर्मीहरुलाई यो परोपकारी सेवाको काममा फर्किन असाधारण अपिल भएको छ । धेरैले यसलाई तत्परताका साथ स्वागत गर्दै आफ्नो ज्ञान र सिप बोकेर उच्च मनोवलको साथ काममा होमिएका छन् । उनीहरुको यो सेवाको काम अरुको जिन्दगी र खुसीसँग प्रत्यक्ष गासिएको पक्कैपनि छ । चिकित्सा पेशामा कौसलता प्रदर्शन गरेर प्रत्येक बिरामीको मृत्युलाई हराउनु जुनसुकै डाक्टरको लागि चुनौतीको बिषय छदै छ ।

आजसम्म कहिवाट चिकित्सा क्षेत्रलाई खिसीट्युरे र लज्जासपद् टिप्पणी गरिएको छैन । र यो महामारीबाट चिकित्सा क्षेत्र त्यस्ता तुच्छ टिप्पणीको भागिदार हुनपनि नपरोस् । महामारीमा राम्रो गर्न सकेनन् भनेर स्वास्थ्यकर्मीहरुले अलिकति पनि मुल्य चुकाउन नपरोस् । कोरोना भाइरसको उपचारमा सही औषधीकोे तारताम्य मिलाउन प्रत्येक चिकित्सक सफल रहुन् । मध्यरातको सुनसान समयमा खचाखच भरिएको अस्पतालको शैयावाट बिरामीको रोदन सुनेर स्वास्थ्यकर्मीको मन कत्तिपनि बिचलित् नहोस् । यो संसार जित्ने अभियानको लडाईमा स्वास्थ्यकर्मीको उत्साह र समर्पणको बिजय अवस्य होस् । स्वास्थ्यकर्मीहरुको अदम्य साहस झनै बढ्दै जाओस् । स्वास्थ्यकर्मीहरु प्रतिको जिम्मेवारी र सफलतामा सम्मान अझै उँचो भएर आओेस् । आज नेपालमा लकडाउनको ४५औ दिन चलिरहेको छ । यो लेख तयार पार्ने समयसम्म बिश्वभर ३८ लाख एक्काइस हजार कोरोना संक्रमित भएका छन् । जसमा २ लाख ६५ हजारको मृत्यु भएको छ, र १३ लाख ४ हजार निको भएर घर फर्किएका छन्, भने बाँकी २२ लाख भन्दा बढी चिकित्सकसँग उपचार गराइराखेका छन् ।

संसारमा चिन, भारत, इटाली, बेलायत, फ्रान्स लगायत कैयौन देशहरुमा स्वस्थ्यकर्मीहरु प्रति सम्मान जनाइरहेका थुप्रै इभेण्टहरु आईरहेको बेलामा नेपालमा पनि सम्पूर्ण स्वास्थ्यकर्मीहरु तथा सुरक्षाकर्मीहरुको उच्च मनोवल र सम्मान स्वरुप २५६४ औ बुद्घजयन्तिको अवसरमा आज बैशाख २५ गते साझ ७ बजे अधिराज्यभर घर–घरमा दिप प्रज्वलन कार्यक्रम मनाउन गइरहेका छौं । उक्त कार्यक्रम सफल होस् । सबैको जय होस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement