कोरोनाकालमा फक्रिएको फूल !


– मञ्जु राई

बाल्यकालदेखि नै फूल देखेपछि भुतुक्कै हुने म, कतै घुम्न गयो कि मेरो आँखा फूल र बोटविरुवा हेर्न नै लालायित हुन्थे । मलाई फूल बगैंचा घुम्न जति आनन्द लाग्छ, त्यति अरु कतै जाँदा पनि लाग्दैन ।

म मेरो घरमा भएको बोटविरुवा र फूलहरूसँग हरदम बोल्न र गफ गर्न मन पराउँछु । यद्यपि यो संवाद एकतर्फी हुन्छ तर पनि म हरदम उनीहरूको प्रशंसा गर्छु । अनि उनीहरूलाई बोलाउने कोसिस गर्छु । कहिलेकाहीँ उनीहरू पनि मसँग बोलेझैं लाग्दछ । कहिले पातहरू हल्लिँदा हात हल्लाएर इशारा गरेझै लाग्दछ । फूलहरूसँगको यो संवादमा मलाई स्वर्गीय आनन्दको अनुभूति हुन्छ ।

मेरो श्रीमान्को जागिरका कारण समय–समयमा एक देशबाट अर्को देशमा सेवाका लागि हिँडिरहनुपर्ने हुनाले मैले कुनै एक ठाउँमा लामो समय स्थिर भएर बस्न पाएको छैन । स्वदेशमा हुँदा धेरै फूलहरू रोप्ने बानी परेको हुँदा म विदेश गएर पनि त्यो फूल रोप्ने बानीलाई परित्याग गर्न सकिन । म जहाँ गए पनि फूलहरू रोप्ने, संकलन गर्ने र सजाउने काममा लागिहाल्ने गर्छु ।

पछिल्लोपटक श्रीमान् संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा जिम्मेवारी पाएपछि हामी न्यूयोर्क गएर बस्न थाल्यौं । न्यूयोर्क गएको केही समयपछि नै कोभिड महामारीको कहालीलाग्दो समयले संसारलाई नै तहसनहस पार्‍यो । म्यानह्याटनको अपार्टमेन्टको बसाइ कोभिडको समयमा ज्यादै कष्टकर बन्यो । ढोकाबाट बाहिर जान सक्ने स्थिति रहेन । त्यस कठोर क्षणमा मैले आफ्नो मस्तिष्कलाई स्वस्थ्य र व्यस्त राख्न फूलहरू बनाउने आफ्नो सीपलाई अझ माझ्दै, परिस्कृत गर्दै लैजाने अठोट गरें । मैले पहिलेदेखि नै अलिअलि उनी धागोबाट बुनेर कृत्रिम फूल बनाउँदै आएको थिएँ ।

मैले फूल बनाउने सामग्रीहरू अमेजनमा हेर्न थालें । एकपछि अर्को सामानहरू सरासर मगाउन थालें । अमेजनले तुरुन्त डेलिभरी दियो । त्यसपछि मैले आफूमा भएको सीप प्रयोग गरेर ऊनी धागोबाट फूलका पात, पत्रहरू बुन्दै क्रमशः सग्लो फूलको स्वरूप बनाउँदै गएँ । आफूले बुनेको फूलको पात, पत्रहरू देख्दै मेरो मन कति अल्हादित हुन्थ्यो । झन् फूलको सग्लो रूप नै बनाइसक्दा मनभित्र तरंगित हुने खुशीको सीमा नै नहुने । म फूलसँग निरन्तर संवाद गरिरहेको हुन्थें । तिनीहरू पनि मेरो हातको सीपबाट यस धरतिमा अवतरित हुन पाएकोमा मप्रति धन्य भएर प्रणाम गरेझैं, मसँगको संवाद र सान्ध्यिताबाट खुशी भएर मुस्कुराएझैं लाग्दथ्यो । धागोबाट फूल बुन्ने यो विधिले मलाई यतिधेरै आनन्दित बनाउँथ्यो, त्यसको बयान गर्न मसँग शब्दहरू छैनन् । कोरोनाको महामारीबाट विक्षिप्त मेरो मनमा फूल निर्माणको प्रक्रियाले थेरापीकै काम गर्‍यो ।

(फूलका विभिन्न भाग बन्दै गरेको फोटो)

१ वर्षभन्दा लामो समयसम्म लम्बिएको कोरोनाको समयमा प्रत्येक दिन बिहान सबेरैदेखि झण्डै मध्यरातसम्म मेरा औंलाहरू ऊनी धागो र कुरुससँग खेलिरहेकै हुन्थे । फूलहरूको सिर्जनामा मेरा औंलाहरू अविरल चलिरहन्थे । फूलहरू बनाउँदै जाँदा यतिधेरै बनाएछु कि म्यानह्याटनको चौरासी स्टीटको अपार्टमेन्टभरी फूलै–फूल भए ।

यसरी सिर्जना गरिएका फूलको बिक्रीस्थल कतै राख्न सके र बेरोजगार महिलाका लागि सानै भए पनि आयआर्जनको माध्यम बनाउन सके राम्रो हुन्थ्यो

हामीकहाँ धेरै पाहुनाहरू आइरहनुहुने, सबै पाहुनाहरूले प्रशंसा गर्नुहुने, म भने फुरुङ्ग भएर अझ फूलहरू बनाउँदै जाने । मैले कतिपय पाहुना र साथीसंगीहरूलाई पनि मायाको चिनोका रूपमा तिनै आफ्ना सिर्जना दिएर पठाएँ । लाग्छ ती फूलहरूले हाम्रो सम्बन्धलाई सधैं सुवासमय बनाइरहनेछ ।

(फूल सहितको फोटो)

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगमा पनि मेरो फूलले स्थान पाएको थियो । नेपाल र अन्य देशसँग भएको दौत्य सम्बन्ध स्थापनाको समारोहमा २ देशका राजदूतका अगाडि टेबलमा सोभा बढाउँदै मेरा हातबाट सिर्जित फूल मुस्कुराइरहेको देख्दा मेरा सिर्जना इतिहासको साक्षी बसिरहेझै लाग्ने । यस्तो लाग्ने मानौं, २ देशका राजदूतले सम्झौतामा हस्ताक्षर गर्दैगर्दा फूलहरू अगाडि बसेर हर्षले ताली ठोक्दैछन् । यस्तो लाग्ने २ देशको सम्बन्ध फूल जत्तिकै सुन्दर र सुवासित हुन सकोस् भनेर कामना गरिरहेका छन् ।

(दौत्य सम्बन्ध स्थापना हुँदाको फोटो)

म हाल नेपाल आएको केही महिना भयो । अहिले मेरो मनमा आफूले जानेको यो सीपलाई यहाँका बेरोजगार र पछाडि परेका महिलाहरूलाई सिकाउन मन छ । यी फूलहरू हेर्दा जति सुन्दर देखिन्छन्, यसलाई बनाउन पनि त्यत्तिकै महेनत, लगाव र संयमता जरुरी पर्दछ । मेरो मनमा लागिरहन्छ, यसरी सिर्जना गरिएका फूलको बिक्रीस्थल कतै राख्न सके र बेरोजगार महिलाहरूका लागि सानै भए पनि आयआर्जनको माध्यम बनाउन सके म कति खुशी हुन्थें । समय र परिस्थितिले साथ दियो भने एउटा सानो क्राफ्ट स्टोर स्थापना गरेर सम्पूर्ण सामग्रीहरू उपलब्ध गराई इच्छुक दिदी बहिनीहरूलाई सीप हस्तान्तरण गर्न म उत्साही छु ।

प्रतिक्रिया दिनुहोस
Advertisement