जङ्गी अड्डा : ‘विगत र वर्तमान’मा के छ ? (पुस्तक समिक्षा)


सामना थापा /नेपालको एकीकरणपछि १०४ वर्षे राणा शासनका सुरुवातकर्ता श्री ३ महाराज जङ्गबहादुर कुँवर राणाको सक्रियतामा वि.सं.१९११ मा स्थापना भएको नेपालको राष्ट्रिय सेनाको मुख्यालय जङ्गी अड्डाबारे अनुसन्धानमूलक आख्यान ‘जङ्गी अड्डा : विगत र वर्तमान’ प्रकाशित भएको छ ।

सैनिक सेवाका समयमा रेडियो नेपालबाट प्रशारण हुने ‘शाही नेपाली सैनिक रेडियो कार्यक्रम’ का सह–सन्चालकसमेत रहेर, जङ्गी अड्डामा डेढदशक भन्दा धेरै समय बिताएका अवकाश प्राप्त सुबेदार तथा लेखक मोहन थापा लिखित पुस्तक ‘जङ्गी अड्डा : विगत र वर्तमान’ नेपाली सेनाबारे बुझ्न, जान्न र अध्ययन गर्न चाहनेका लागि महत्वपूर्ण दस्तावेज हो ।

पुस्तकको प्रारम्भमा जङ्गी शब्दको अर्थ र जङ्गी अड्डाको कार्य–प्रकृतिबीचको तादात्म्यताबारे चर्चा छ । क्रमशः जङ्गी अड्डा स्थापनापूर्व फारसी शब्द ‘जङ्गी’ संग सम्बन्धित नेपालका सैनिक निकाय-अङ्गहरुबारे चर्चा छ । पुस्तकमा जङ्गी अड्डा स्थापनापूर्व नेपालमा सैनिक खटनपटनको संक्षिप्त चर्चा छ । जङ्गी अड्डा स्थापनाको पृष्ठभूमीसंगै राजदरवार वा राज्यका प्रभावशाली भारदार (अधिकारी) को निवासबाट बाहिर स्वतन्त्र भूमीमा सेनाबारेका लेखापढी गर्ने महत्वपूर्ण अड्डा -जङ्गी अड्डा स्थापना हुनु नेपाली सेनाको आधुनिकीकरणमा ऐतिहासिक पाइला हो भन्ने लेखकको दावी छ ।

पुस्तकमा जङ्गी अड्डामा हाकीम रहेर काम गरेका ले.ज.बबरजङ्ग कुंवर राणा र क.डम्बरशमशेर गोदार थापाका बारेमा चर्चा गरिएको छ । चन्द्रशमशेर जबरा श्री ३ महाराज छं“दा कप्तान पदमा जङ्गी अड्डामा दरबन्दी भएर सैन्य सेवामा प्रबेश गरेका डम्बरशमशेर गोदार थापा लामो समय जङ्गी अड्डा र जङ्गी बन्दोबस्त अड्डामा कार्यरत रहे । वि.सं.२००७ को सशस्त्र क्रान्तिमा जङ्गी अड्डाको चा“ंडो काम सम्पन्न गर्ने विभागका हाकीम रहेका थापा त्यसपछि रक्षासचिब भए । उनले जङ्गी अड्डामा रहेर काम गर्दाका अनुभव समेटेर लेखेको डायरी वि.सं.२०३१ तिर प्रकाशन भएको छ । लेखक थापाले जङ्गी अड्डा कृतिबारे लेखनीलाई अघि बढाउँदा धेरै सामग्रीहरुमध्ये उक्त डायरीलाइ पनि सन्दर्भ सामग्री बनाएको पाउन सकिन्छ ।

पुस्तक अध्यनपछि थाहा हुन्छ जङ्गी अड्डाको समयसमयमा फरक स्वरुपको भवन थियो र वि.सं.२०७२ वैशाख १२ को महाभुकम्पपछि नयाँ आधुनिक भवन छ । जङ्गबहादुरले वि.सं.१९११ मा स्थापना गर्दा जङ्गी अड्डा टुंडिखेलको डिलमा राखिनु सान्दर्भिक थियो होला, हालका दिनमा करिब एक लाख संख्यामा रहेको नेपाली सेनाको मुख्यालयजस्तो दैनिक हज्जारौं सैनिकको चहलपहल भइरहने जङ्गी अड्डा भवन घना मानववस्ति र देशकै मुख्य ब्यापारिकस्थल नजिक रहनु उपयुक्त हो होइन ? भन्ने संवेदनशील विषयमा पुस्तकले गहकिलो प्रश्न उठाएको छ, जुन प्रश्न केवल नेपाली सेना र सैन्य नेतृत्वसं“गको मात्र नभएर तीन करोड नेपालीसं“ग सरोकार राख्ने विषय भएकोमा दुइमत नहोला ।

साथै लेखकले, नेपाल भूमीमा सैनिक गतिबिधि राज्यका रुपमा सङ्गठित भएदेखि नै भईरहेको तर यसप्रकारको अलग सैन्य प्रशासनिक भवन भने नेपालकै पुरानो भएको, जङ्गी अड्डा स्थापना हुँदा सिंहदरबार निर्माण नभएको, नारायणहिटी राजदरबारका रुपमा परिणत नभएको, यति पुरानो अस्तित्व बोकेको भवन भुकम्पबाट क्षति भएपनि, पुरानो तर मौलिक ढाँचाको भवनलाई रेट्रो फिटिङ्ग वा कुनै उपायबाट जिवन्त राखेर, संग्रहालयको रुप प्रदान गरि, आधुनिक जङ्गी अड्डा भवन भने आगामी कम्तिमा पनि पां“चसय वर्षसम्मका लागि बैकल्पिक स्थलमा सार्न सकिने रणनीतिक र दीर्घकालिन लाभ हुनसक्ने निर्णय गर्नबाट तत्कालिन नेपाली सेनाको नेतृत्व राम्रैसँग चुकेको सन्दर्भलाई गम्भीर रुपमा लिएका छन् ।

जसरी जङ्गी अड्डा भवन समय-समयमा फरक थियो, त्यसैगरी यस अड्डाको नाम पनि फरकफरक रहेको देखिन्छ । राणाकालमा ‘जङ्गी अड्डा’ नामबाट खडा गरिएको यस अड्डा समयक्रममा रोयल आर्मी हेडक्वाटर्स, शाही जङ्गी अड्डा, शाही नेपाली जङ्गी अड्डा, नेपाली जङ्गी अड्डा हुंदै अन्ततः ‘जङ्गी अड्डा’ नै नामकरण भएको बारेमा पुस्तकमा सविस्तार चर्चा छ ।

पुस्तकको अर्काे महत्वपूर्ण अध्याय ‘जङ्गी अड्डाका वैभव’ हो । यस अध्यायमा जङ्गी अड्डा नजिकको रक्षादेव भद्रकाली मन्दिर, नजिकको श्री ३ जुद्धशमशेरको शालिक र त्यहाँ अङ्कित अभिलेखमा उल्लिखित व्यहोरा, रिपुमर्दिनी भगवती मन्दिर, पृथ्वीनारायण शाहको शालिक, त्रिशूलमा डमरु उनीएको लोगो, सैनिक गान-आदर्श वाक्य (पुरानो र हालको), क्लव, सभामण्डप र खेलमैदान, जङ्गी अड्डामा सुरक्षित ऐतिहासिक कागजाद, नेपालको ठुलो रोजगारदाता अड्डा, जङ्गी अड्डा र सैनिक सभ्यताका बारेमा सटीक ढङ्गबाट गरिएको विस्तृत चर्चा लिपिबद्ध छ ।

सरसरतीरुपमा हामी जो कोही जङ्गी अड्डालाई एउटा कार्यालय वा अड्डाका रुपमा बुझ्दछौं तर यस अड्डा मातहत एक सय चार भन्दा धेरै कार्यालय, विभाग,महानिर्देशनालय,महाशाखा र शाखाहरु तथा तिनका फरक काम र कार्यक्षेत्र रहेको पुस्तक अध्ययनपछि थाहा हुन्छ । पुस्तकमा यसबारे संक्षिप्त जानकारी पाइन्छ ।

साथै, जङ्गी अड्डामा रहेका केही निकायहरुको नाम वैदिक–पौराणिक कालको भारतवर्षको सैनिक सङ्गठनमा रहेका सैन्य विभागहरुसं“ग मिल्दो रहेको सन्दर्भमाथि चर्चा गर्दै, जङ्गी अड्डाका प्राडविवाक, स्थपति, बलाधिकृत-बलाध्यक्ष, अर्ग लगायतका निकायका शब्दको अर्थ, महत्व र यिनको प्राचीनताका बारेमा तथ्यसहित प्रकाश पार्ने प्रयास गरिएको छ ।

राणाकाल (वि.सं.१९०३-२००७) का प्रधानसेनापतिले मुलुकी अर्थात निजामतितर्फको जिम्मेवारी सम्हालेका र तेस्रो वरियताका जङ्गी लाठ भनिने प.क.ज.ले जङ्गी अड्डाको नेतृत्व गर्ने गरेको, वि.सं.२००७ फागुन ७ को परिवर्तनपछि नेपाली सेनाका प्रधानसेनापति, महारथी पदका सैनिक अधिकारीले जङ्गी अड्डामा बसेर नेपाली सेनाको नेतृत्व गरेको, वि.सं.२०१३ मा सार्वजनिक भएर वि.सं.२०१५ बाट लागु भएको सेना सम्बन्धी अख्तियारी सुम्पने ऐनपछि मात्र नेपाली सेनामा जङ्गी अड्डा र प्रधानसेनापतिको भूमिका थप प्रभावकारी हुन थालेको सम्बन्धमा पुस्तकमा विवेचना गरिएको छ ।

 

जङ्गी अड्डा पुस्तकको प्रमुख अध्याय नं. १० हो । ‘जङ्गी अड्डा: राजनीतिक परिवर्तनमा शून्य भूमिका, सत्ता परिवर्तनमा अहस्तक्षेप’ शीर्षक दिइएको यस अध्यायमा फरक १३ सहायक शीर्षकका उप-अध्याय छन् । यी अध्यायमा जङ्गी अड्डा स्थापनापछिका सत्ता र शासक परिवर्तनमा जङ्गी अड्डाको के कस्तो भूमिका थियो भन्ने सम्बन्धमा पाद टीप्पणीसहित सप्रमाण विवेचना गरिएको छ ।

जसमध्ये हालसम्म चर्चामा नरहेको वि.सं.२०१७ पुष १ मा तत्कालिन राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रीमण्डल भङ्ग गरी संसदीय शासन व्यवस्था खारेज गरेर सत्ता हातमा लिंदा नेपाली सेनाका प्रधानसेनापति रहेका नीरशमशेर जबरालाई राजा महेन्द्रले दिएको आदेश, सोही समयमा नेपाल भ्रमणमा रहेका तत्कालिन भारतीय सेनाका प्रमुख जनरल धिमैयाले प्रकट गरेको प्रतिक्रियालाई पुस्तकमा जस्ताको तस्तै राखिएको छ ।

वि.सं.२०४६ को परिवर्तनमा जङ्गी अड्डाको भूमिका, वि.सं.२०५८ को राजदरबार हत्याकाण्ड र तत्कालिन प्रधानसेनापति प्रज्वल्लशमशेर जबराले ‘राजदरबारको सुरक्षा नेपाली सेनाको जिम्मेवारी होइन’ भनी दिएको विवादित जवाफमाथिको टीप्पणी, सिंहदरबार अर्थात प्रधानमन्त्रीसं“ग जङ्गी अड्डाले सिं“गौरी खेलेका अलगअलग तीन घटनाबारेको विवेचना, दाङ्ग हमलामा जङ्गी अड्डाको त्रुटी, वि.सं.२०६३ वैशाख ११ को परिवर्तनमा जङ्गी अड्डाको भूमिका, तत्कालिन प्रधानसेनापति प्यारजंग थापालाइ जङ्गी अड्डामा भेट्न गएका भारतीय बिदेशसचिब श्यामशरण र राजदुत शिवशरण मुखर्जीले भारत सरकारले तत्कालिन समयमा नेपालबारे राखेको अडान, माओवादी सशस्त्र द्धन्दमा वीरगति प्राप्त गरेका कुल सैनिक संख्या आदिका बारेमा सत्यतथ्यसहित विश्लेषण गरिएकोले प्रस्तुत पुस्तक सैन्य–राजनीतिक कोणबाट लेखिएको हालसम्मको दुर्लभ दस्तावेज हो भन्न सकिन्छ ।

साथै पुस्तकमा जङ्गी अड्डाबाट आयोजन हुने समारोह, भेट, जङ्गी अड्डाका प्रशारण र प्रकाशन बारेमा सामयिक जानकारी समेटीएको छ ।

राजधानीको मुटुमा रहेको टुंडिखेलमाथि नेपाली सेनाले अतिक्रमण गरेको भनी समयसमयमा प्रकट हुने अभियन्ताहरुमार्फत सेनामाथि टिकाटीप्पणी भइरहेको हुन्छ । पुस्तकमा टुंडिखेल नेपाली सेनाले सम्याएको, टुंडिखेल शब्दसँग सेनाको परापूर्वदेखि अन्योन्याश्रीत सम्बन्ध रहेको, टुंडिखेल आज जे जति सुरक्षित छ त्यसमा सेनाको पनि देन रहेको सम्बन्धमा लेखकले नेपाली सेनाको पक्षबाट बलिया तर्क प्रस्तुत गरेका छन् ।

पुस्तकको अन्तिम अध्यायमा ‘राष्ट्रिय झण्डा, नेपाली स्वाधीनता र जङ्गी अड्डा’ शीर्षकमार्फत, जङ्गी अड्डाको सम्बन्ध नेपाल र नेपालीको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय झण्डासँग प्रत्यक्षतः रहेको र यसको प्रतीक जङ्गी अड्डा र नेपाली राष्ट्रिय झण्डा हुन् भन्ने सर्वस्वीकार्य दृष्टिकोण सगौरव प्रस्तुत गरिएको छ, जसले जङ्गी अड्डा र नेपाली सेनाको गरिमा बढाएको छ । यस अध्यायमा, जङ्गी अड्डा समस्त ३ करोड नेपालीलाई एकताको एउटै मार्गमा उनेर, सङ्कटको समयमा एकीकृत शक्ति आर्जन गर्ने सम्पर्क अड्डा रहेको बारेमा सुबेदार थापा ओजपूर्ण प्रस्तुती पस्कन सफल भएका छन् ।

पुस्तकमा लेखकले हालको आधुनिक भनिएको जङ्गी अड्डा भवन त्यहाँ कार्यरत सैनिकले पाउने सेवा सुबिधामा आधुनिक रहेको, नेपालको सुरक्षा, समृद्धि र स्थिरताका खातिर सुरक्षा निकायले अवलम्बन गर्ने र गर्नुपर्ने विधि, प्रकृया र तयारीमा खास र ठोस तयारी तथा ब्यवस्था नभएकाले, सेना विस्तारै सुविधातर्फ उन्मुख भएर अन्ततः भुत्ते सङ्गठनका रुपमा परिवर्तन हुँदै जान सक्नेतर्फ सङ्केत गर्दै चिन्ता प्रकट गरेका छन् । पुस्तकमार्फत लेखकले भविष्यमा देश र जनताको हितका खातिर जङ्गी अड्डाले के कस्तो रणनीति अख्तियार गर्नुपर्छ ? भन्ने सम्बन्धमा नीतिज्ञ चाणक्यको सुत्र उद्दृत गर्दै जङ्गी अड्डाको भावी नेतृत्वलाइ सुझाव पनि दिएका छन् ।

जङ्गी अड्डा केवल पुस्तक मात्र होइन, वि.सं.१९११ देखि वि.सं.२०८० सम्मको सैनिक घटनाहरुको तथ्य इतिहास र प्रमाणसहितको दस्तावेज पनि हो । पुस्तकमा सशस्त्र द्धन्दको समय वि.सं.२०५७ मा दुनै हमलामा सेनाले प्रहरीलाई सहयोग नगरेको भनी पत्रकार सम्मेलन गरेर गृहमन्त्री पदबाट गोबिन्दराज जोशीले राजिनामा दिंदा सिंहदरबार–जङ्गी अड्डाबीच बढेको विमति, वि.सं.२०५८ असारमा रोल्पाको होलेरीमा प्रहरी अपहरणपछि सेना परिचालनमा विवाद भएर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदबाट राजिनामा दिंदा जङ्गी अड्डा–सिंहदरबारबीच दोस्रोपटक उत्पन्न विमति, वि.सं.२०६२ को सात दल–माओवादीको संयुक्त आन्दोलनताका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्डसंग नेपाली सेनाका ब्यारेकमा ठूला आक्रमण गर्न गरेको अनुरोधबारेको तथ्य, वि.सं.२०६६ मा प्रधानमन्त्री प्रचन्ड नेतृत्वको सरकारले आठ जर्नेलको पदावधि थप नगरेपछि उत्पन्न सिंहदरबार र जङ्गी अड्डाबीच बढेको तनाब, वि.सं.२०६२–६३ को आन्दोलन थाम्न सकिएन भनी प्रधानसेनापति प्यारजंग थापाले राजा ज्ञानेन्द्रसंग प्रतिवेदन जाहेर गरेको समाचारपछि मन्त्रीपरिषदका उपाध्यक्ष डा.तुलसी गिरिले प्रधानसेनापति थापाप्रति गरेको टीप्पणी, वि.सं.२०६३ जेठ ४ को संसद घोषणाको सेरोफेरोमा प्रधानसेनापति प्यारजंग थापा र बलाधिकृत रथी रुकमाङ्गद कटवालको दृष्टिकोणमा रहेका भिन्नता लगायतका नेपाली राजनीति र सैन्य जीवनमा सुदुर भविष्यसम्म महत्व राख्ने घटनाहरुलाई सप्रमाण दस्तावेजीकरण गरेर लेखक थापाले जङ्गी अड्डा पुस्तकलाई नेपाली इतिहासको प्रमाण प्रमेयका रुपमा उभ्याउन सफल भएका छन् ।

पुस्तक पढिसक्दा, जङ्गी अड्डा सामान्यतः सैन्य सङ्गठनको प्रधान कार्यालय भएतापनि यसको अन्तर्य राष्ट्रको अस्तित्वसं“ग जोडिएकाले यस अड्डाको गौरव, भूमिका, कार्यशैली, जिम्मेवारी सामान्य होइन भन्ने सन्देश दिनु कृति अर्थात् पुस्तक लेखनको उद्देश्य रहेको अनुमान सहज लगाउन सकिन्छ ।

राष्ट्रिय सुरक्षा हिजोका दिनमा सम्बन्धित निकायको मात्र चासोको विषय थियो र यस सन्दर्भमा कम मात्र चर्चा र बहष हुने गर्दथ्यो । तर आज सुरक्षा नागरिकको चासो र दायित्व हो भन्ने तथ्य सर्वस्वीकार्य बनेको छ । यसर्थ राष्ट्रिय सुरक्षाको मेरुदण्ड ‘जङ्गी अड्डा’ को सुरक्षा रणनीति गोप्य राख्दै, सेनाको कार्यप्रकृति र दायित्वका बारेमा आम जनताले जानकारी पाउनु अनि यसमा योगदान गर्न अग्रसर हुनु आम कर्तव्य हो । जङ्गी अड्डा पुस्तकले सचेत नागरिकलाई यसतर्फ सकारात्मक सन्देश दिन सकेको छ ।

हालका दिनमा नेपाली सेनाबारे जानकारी दिने धेरै पुस्तक र पाठ्य सामग्री बजारमा छन् । तर नेपाली सेनाको महत्वपूर्ण निकाय जङ्गी अड्डासं“ग सम्बन्धित नेपालको सैनिक पद्दति, प्रणाली, निकाय, परम्परा, इतिहास आदिका बारेमा एकै ग्रन्थमा तथ्य र पादटीप्पणीसहितको यति गहन र विस्तृत जानकारी पाउन सकिन्न । यो अभावको पूर्ति जङ्गी अड्डा पुस्तकले राम्रैसंग गरेको छ ।

यहाँनेर भन्नैपर्छ पुस्तक इतिहासका अध्येता, राजनीतिज्ञ, निजामति, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी एवम् सैनिक तथा गैरसैनिक आम सचेत नागरिकका लागि संग्रहनीय रहेको छ ।

सैनिक इतिहासका सिद्धहस्त लेखक सुबेदार मोहन थापा लिखित जङ्गी अड्डा पुस्तक, जङ्गी अड्डा र यसको कार्यप्रकृतिसं“ग सम्बन्धित विषयवस्तुमा मात्र केन्द्रित छ, यसबाट लेखकको परिपक्वता र नेपाली सेनाको इतिहास एवम् तथ्यमाथि उनको के कति पकड रहेछ ? भन्ने तथ्य छर्लङ्ग हुन्छ । पुस्तक स्तरीय कागजमा प्रिन्ट गरिएको छ र विषयवस्तुसंँग सम्बन्धित तथ्यहरुको चित्र रङ्गीन पृष्ठमा राखिएको छ । अनुसन्धानात्मक ढङ्गमा लेखिएको यस पुस्तकमा दिइएका परिशिष्ट र सन्दर्भग्रन्थहरुमा निहीत तथ्यहरुबाट पुस्तक स्रोत पक्षमा समेत बलियो बनेको छ ।

मलाई थाहा छ, म उम्दा राम्रो समीक्षक होइन तर राष्ट्रिय महत्वको निकाय ‘जङ्गी अड्डा’ को गौरव र सौरभ पाठक सामु राख्दै, यसका सकारात्मक र नकारात्मक पक्षलाई केस्राकेस्रा केलाएर, हालका लागि मात्र नभएर युगौं पछिका लागि समेत कामयावी हुने रणनीतिक सुझावसहितको यसप्रकारको गहकिलो कृति लेखनका लागि कलम चलाउनु सहज कुरा होइन र यसप्रकारको पुस्तक सहजै प्राप्य हुनसक्ने पनि होइन । मेरो विचारमा यो स्तरको कृति त शताब्दिमा एकाध मात्र तयार हुन सक्छन । ‘जङ्गी अड्डा : विगत र वर्तमान’ पुस्तक यस शताब्दिको यहि एकाध कृतिको कोटीमा पर्दछ । नेपाली पुस्तक जगतमा विरलै लेखिने र प्रकाशित हुने यसप्रकारको महत्वपूर्ण ग्रन्थ पाठकसामु ल्याइ दिएकोमा लेखक धन्यवादका पात्र हुनुहुन्छ ।

लेखक थापाको पा“चौं पुस्तक हो जङ्गी अड्डा । कुल १७ अध्यायमा समेटीएको उक्त पुस्तक विषयवस्तु र तथ्यमा बलियो पक्ष धेरै हुं“दाहुं“दै पनि पुरै पुस्तक पढिसकेपछि पाठकले प्रश्न गर्ने केही असहमति छन् । ती मध्ये मुख्य कुरा के छ भने, के जङ्गी अड्डा पुस्तकलाई हरियो अर्थात् सैनिक रङ्गमा नै पस्कनु अनिवार्य छ र ? यति महत्वपूर्ण पुस्तक पछिसम्म संग्रहित राख्नका लागि कडा जिल्द (हार्ड कभर) राखिनु उपयुक्त हुन्थ्यो होइन र ! अनि जङ्गी अड्डाबारे आम पाठकले जानकारी पाउनु पर्ने कुरा अझ थप होलान् कि नहोलान् ?

पुस्तकको नाम : जङ्गी अड्डा,विगत र वर्तमान
प्रकाशक : शारदादेवी खड्का
संस्करण : २०८०, प्रथम
मुद्रण : बी.सी.प्रिन्टिङ एण्ड प्याकेजिङ प्रा.लि.काठमाडौं
मुल्य रु. ६२५।-

प्रतिक्रिया दिनुहोस
Advertisement