ड्राइभर भर्नामा पैसा उठाएका सैनिक मेजरले खण्डन गरे– चरित्र हत्या गर्ने समाचार लेखियो


काठमाडौं– ड्राइभर भर्नामा पैसा उठाएको आरोप लागेका सेनाका मेजर सैनिक राजेश थापाले काठमाडौंपाटी डटकमले  आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै खण्डन गरेका छन् । उनले बुधबार राहुल थापाको नाममा निवेदन लेखी समाचारको खण्डन गरेका हुन् ।

राहुल थापा निवेदक लेखिएको खण्डनपत्र बुधबार इमेलमार्फत काठमाडौंपाटीलाई प्राप्त भएको छ । पत्रमा भनिएको छ– तपाईँ सम्पादक रहेको यस मिडियाले मिति २०७५ साउन १९ गते ‘ड्राइभर भर्नामा पैसा उठाएको भन्दै सेनाका मेजर सैनिक हिरासत’ मा भन्ने शीर्षकमा प्रकाशित समाचारमा भनेबमोजिम केही पनि सत्य–तथ्य नभएको एवं चरित्र हत्या गर्ने उद्देश्यले स्रोतसमेत नखुलाई समाचार संप्रेषण भएको हुनाले यस समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । त्यसैले यस भ्रामक समाचारप्रति खेद प्रकट गर्दछु ।

मेजर थापाले ड्राइभर भर्ना गर्दा करिब ४० लाख रुपैयाँ उठाएको विषयमा काठमाडौंपाटीले समाचार लेखेको थियो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको ठाडो आदेशमा उनलाई हिरासतमा लिइएको थियो ।

थापा यसअघि एमटी गणको सहायक गणपति हुँदा पैसा उठाएको आरोप लागेको छ । उनी भर्खरैमात्र शान्ति सेनाको मिसनबाट फर्किएका हुन् । यस घटनाको छानविन गर्न सेनाले ‘कोर्ट अफ इन्क्वाइरी’ समेत गठन गरिएको छ ।

सहायक रथी सिताराम खड्काको नेतृत्वमा बनेको समितिले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ । यसबारे सैनिक जनसम्पर्क निर्देशनालयले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement