पूर्वाञ्चलनमा एक वर्षमै घट्यो चार प्रतिशत विद्युत् चुहावट


रमेश लम्साल
काठमाडौँ– डेढ वर्ष पहिलेसम्म विद्युत् चुहावट र विद्युत्भार कटौतीका कारण हैरानी खेपेका नेपालीले पछिल्ला दिनमा सहज अनुभव गर्न थालेका छन् । विद्युतभार कटौतीको अन्त्यपछि विद्युत् चोरी र चुहावट नियन्त्रणमा नेपाल विद्युत् प्राधिकरणले आक्रामक रुपमा कारवाही शुरु गरेपछि सकारात्मक परिणाम प्राप्त हुन थालेको हो ।

प्राधिकरणले पछिल्लो एक वर्षमा मात्रै देशभर कम्तीमा पाँच प्रतिशत चुहावट नियन्त्रण गरेको छ । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा प्रदेश नं १मा विद्युत् चुहावट करिब चार प्रतिशत घटाइएको छ । प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका १७ वितरण तथा ग्राहक सेवा केन्द्रले आव २०७३/७४मा रहेको १७.६५ प्रतिशत चुहावटलाई गत माघसम्म ३.९१ प्रतिशतले घटाएर १३.७४ प्रतिशत कायम गरेको छ ।

क्षेत्रीय कार्यालयअन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट विद्युत् प्रवाह भएकामा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ । प्रणालीबाट सात करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ ।

विराटनगर वितरण केन्द्रले १४.०५ प्रतिशत रहेको चुहावटलाई ४.२१ प्रतिशतले घटाएर ९.८४ प्रतिशत कायम गरेको छ । दुहवी वितरण केन्द्रको ८.९५ प्रतिशत चुहावटलाई ३.०७ प्रतिशतले घटाएर ५.८८ प्रतिशत कायम गरेको छ । विराटनगर र दुहवी कार्यालयअन्तर्गत ठूला औद्योगिक ग्राहक छन् । उद्योग प्रतिष्ठानमा समेत ती वितरण केन्द्रमार्फत नै विद्युत् उपलब्ध गराउने गरिएको छ ।

प्राधिकरणका अनुसार दमक वितरण केन्द्रले ४.७३ प्रतिशतले चुहावट घटाएको छ । मोरङको रंगेली वितरण केन्द्रको चुहावट भने अझै ३२.३० प्रतिशत छ । गत असारसम्ममा ३६.४२ प्रतिशत चुहावट रहेको चालू आवको माघसम्ममा ४.१२ प्रतिशतमात्रै घटेको छ । इनरुवा वितरण केन्द्रको ३६.५९ प्रतिशतको चुहावट १०.०७ प्रतिशतले घटेर २६.५२ प्रतिशत कायम भएको छ ।

यसैगरी वेलबारी वितरण केन्द्रको २६.१३ प्रतिशत चुहावट १.२४ प्रतिशतले घटेर २४.८९ प्रतिशतमा झरेको छ । विद्युत् चोरी नियन्त्रणका लागि चालिएको प्रभावकारी कदम तथा निरन्तरको प्रयासका कारण पनि चुहावट नियन्त्रण प्रभावकारी रुपमा घटाउन सकिएको हो । यस्तै ट्रान्सफर्मर तथा वितरण लाइनको सदृढीकरण, केन्द्र प्रमुखसँग गरिएको कार्यसम्पादन सम्झौतालगायतका कारण चुहावट घटाउन सकिएको प्राधिकरण प्रदेश नं १ का प्रमुख सच्चितानन्द यादवले जानकारी दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चोरी नियन्त्रण तथा बक्यौता असुली अभियानले गैरप्राविधिक चुहावटमा कमी आएको र विद्युत्भार व्यवस्थापनमा समेत सहज भएको छ । प्राधिकरणले ओभरलोडमा रहेका सबै ट्रान्सफर्मर परिवर्तन गरिरहेको प्राविधिक चुहावटसमेत क्रमिक रुपमा कमी आइरहेको छ ।

“अझै चुहावट नियन्त्रणको अभियानलाई हामी सशक्त रुपमा अगाडि बढाउँछौँ ।” कार्यकारी निर्देशक घिसिङले भने । चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रह गरे ।

पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख यादवले गर्मीयाम शुरु भएसँगै चुहावट नियन्त्रणमा चुनौती थपिने गुनासो गरे । “माघसम्मको तथ्याङ्क हेर्दा विद्युत् चुहावट नियन्त्रणका लागि हामीलाई दिइएको लक्ष्यभन्दा कम छ तर गर्मी शुरु हुनासाथ क्षेत्रीय कार्यालय मातहत रहेको ट्रान्सफर्मर र ३३ केभी प्रसारण लाइनमा ओभरलोड हुँदा नियन्त्रणमा चुनौती थपिन्छ”, प्रमुख यादवले भने ।

सो क्षेत्रीय कार्यालयको आव २०७३÷७४ मा १७.६५ प्रतिशत चुहावटलाई घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य छ । गत असारसम्म प्राधिकरणको केन्द्रीय प्रणालीमा २२.९ प्रतिशत विद्युत् चुहावट छ । चालू आवमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।

तीन वर्ष्भित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ रहेको १६.८२ को चुहावटलाई चालू आवमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको भनाइ छ ।

केन्द्रले असारसम्मको २३.२२ प्रतिशतको चुहावटलाई घटाएर १८.४९ प्रतिशतमा झारेको हो । यसैबीच सोही वितरण केन्द्रअन्तर्गत रहेको झापाको कन्काई नगरपालिकालाई विद्युत् चुहावटमुक्त नगर घोषणा गरिसकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement