दूतावास र नियोगमा प्रहरी सहचारीको दरबन्दी माग


काठमाडौं – विदेशस्थित नेपालका दूतावास र नियोगको कार्यसम्पादन सहज गराउन प्रहरी सहचारीको खाँचो औंल्याइएको छ। आपराधिक गतिविधिमा संलग्न भई विदेश पलायन हुने र विदेशी भूमिमा पनि यस्तो क्रियाकलाप सञ्चालन गर्ने प्रवृत्ति बढेपछि दूतावासमै सुरक्षा संयन्त्र खटाउन लागिएको हो।

दूतावासमा परराष्ट्रका कर्मचारीको धेरै काम हुने भएकाले सम्बधित मुलुकका सुरक्षा निकायसँग समन्वय गर्न र आफ्नै तरिकाले अनुसन्धान गर्नका लागि प्रहरी सहचारीको आवश्यकता औंल्याइएको हो। नेपालीको चाप रहँदै आएका श्रम गतव्य खाडी मुलुकसहित मलेसिया, संयुक्त राष्ट्रका लागि स्थायी नियोग, अमेरिका, बेलायत, अस्टे«लिया, जापान, दक्षिण कोरियालगायतका मुलुकमा प्रहरीले यस्तो दरबन्दी मागेको हो।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी रहने गरी प्रहरी सहचारीको माग भएको हो। नेपालीको चाप रहँदै आएका मुलुकमा आपराधिक गतिविधि बढ्न थालेपछि परराष्ट्र मन्त्रालयमार्फत प्रहरी सहचारीको माग गरिएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभयो। ‘आपराधिक गतिविधिसँग जोडिएका विषय समाधानका लागि दूतावास र नियोगले सुरक्षा निकायसँगै सहयोग माग्दै आएको छ, यो कार्यमा सहजीकरण गर्न प्रहरी सहचारीको दरबन्दी भयो भने सहज हुन्छ भनेर परराष्ट्रको ध्यानाकर्षण गराएका हौं।’ –उहाँले भन्नुभयो।

हाल भारतमा मात्रै यस्तो दरबन्दी छ। भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानमा भने सैनिक सहचारी रहँदै आएका छन्। नेपाली सेनाका महासेनानीलाई सैनिक सहचारीका रूपमा खटाउने गरिएको छ। श्रम गन्तव्य मुलुकमा श्रम मन्त्रालयका अधिकारी श्रम सहचारीका रूपमा खटिएका छन्।

नवनियुक्त राजदूतहरूलाई गत साता प्रदान गरिएको अनुशिक्षणमा महानिरीक्षक खनालले प्रहरी सहचारीको खाँचो औंल्याउनुभएको थियो। ‘नेपाल प्रहरीको प्रस्तावबारे नवनियुक्त राजदूतज्यूहरू सकारात्मक हुनुहुन्छ, परराष्ट्र पनि यसबारेमा प्रस्ट जानकार छ।’ –खनालले भन्नुभयो।

यसबारेमा परराष्ट्रले पनि अध्ययन अघि बढाएको मन्त्रालय स्रोतले जनाएको छ। ‘नयाँ दरबन्दी सिर्जना गरेपछि आर्थिक भार स्वाभाविकरूपमा बढ्ने भएकाले आवश्यक बजेटका लागि परराष्ट्रले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ’, परराष्ट्रका एक उच्च अधिकारीले भने– ‘यस्तो माग केही वर्ष अघिदेखि हुँदै आएको हो।’ सशस्त्र प्रहरीले पनि लामो समयदेखि यस्तो दरबन्दी माग गर्दै आएको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले बताउनुभयो। यो खबर आजको समाचरपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement