नारकीय जीवन बिताउँदै पूर्वलडाकु


रोल्पा – आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेकी अचेत आमाको पीडा हेर्ने गर्छन। आमाको जलेको खुट्टा अनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन्। तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन्। उनी बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् अनि बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्छिन्। त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला आठ वर्ष अगाडि रोगले थलिएकी हुन्।

छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ। आमाको दैनिकीले उनलाई असाध्य पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन्। ‘आमा सधैं भुइँमा नांगै सुत्नुहुन्छ। सुत्ने लुगा पनि छैन अनि लगाउने कपडा पनि छैन। जाडोमा पनि यस्तै हो’, आमालाई हेर्दै जीवनले भने, ‘सानो छु, केही गर्न सक्दिनँ। छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ।’

माओवादी लडाकुको पाँचौं डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला बिरामी परेकी थिइन्। पछि थलिइन्। अहिले मृत्युसँग लड्दैछिन्। निर्मला उपचार खर्चको अभावमा मृत्युसँग संघर्ष गरिरहेकी छन्। ‘छारे रोग लागेको भन्थे। बढी बिरामी भएको आठ वर्षजति भयो। तीन वर्ष यता त झनै केही थाहा पाउँदिनँ। दिसापिसाब बसेकै ठाउँमा गर्छे’, निर्मलाकी ६१ वर्षीय सासू क्वारी विकले भनिन्। निर्मलाका दुवै खुट्टा चार वर्षअघि जलेका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement