फोर्ब्सको ‘३० अन्डर ३०’ मा परेका ६ प्रभावशाली नेपाली युवा


तीन वर्षयता हरेक वर्ष विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनले प्रभावशाली युवाहरुको सूची सार्वजनिक गर्दै आएको छ । तेस्रो विश्वको नेपालजस्तो देशका युवाहरु उक्त सूचीमा विरलै अटाउने गरेका छन् ।

तर, फोर्ब्सले सार्वजनिक गरेको सन् २०१८ का एसियाका प्रभावशाली युवाहरु सूचीमा दुई नेपाली उद्यमशील युवती र ४ जना युवा उद्यमी परेका छन् । फोर्ब्सले प्रकाशित गरेको एसियाका ३० वर्षभन्दा कम उमेरका प्रभावशाली युवाको सूचीमा ६ नेपाली अटाएका हुन् ।

फोर्ब्सको ‘३० अन्डर ३०’ मा सोसल इन्टरप्रेनरसीप क्याटागोरीतर्फ सस्टेनेबल फिस फार्मिङ इनिसियटिभ (एसएफएफआई) की संस्थापक कन्चन अमात्य, खालीसिसीकी संस्थापक आयुषी केसी, इको सेलमा तीन संस्थापक युवाहरु निशान श्रेष्ठ, सचित पण्डित र सुवास श्रेष्ठसहित पाँच जना परेका छन् । यस्तै, इन्डष्ट्री, म्यानिफ्याक्चरिङ र इनर्जी क्याटागोरीमा घाम पावर कम्पनीका प्रबन्ध निर्देशक एन्जल निरौला फोर्ब्सको ‘३० अन्डर ३०’ को सूचीमा परेका हुन् ।

अमेरिकामा चर्चा बटुलेकी कन्चन सस्टेनेबल फिस फार्मिङ इनिसियटीभमार्फत जलकृषि र महिला सशक्तिकरणमा क्रियाशील छिन् । उनी स्थापना गरेको दिगो माछा फार्मिङ इनिसियटिभ (एसएफएफआई) मार्फत दिगो जलीय कृषि र खाद्य असुरक्षाका लागि काम गर्छ । यसका साथै उनले संस्थामार्फत ग्रामीण महिलालाई वित्त, प्रविधी र स्थानीय साधन तथा तालिम प्रदान गरेर माइक्रो उद्यम सञ्चालनका लागि सहयोग गर्छ । उनको कामलाई अमेरिकाका पूर्व राष्ट्रपति विल क्लिन्टन, नेपाल सरकार र संयुक्त राष्ट्रसंघले समेत परिचित छ । उनी महिलाहरुको आर्थिक सशक्तिकरणका लागि युएन ग्लोबल च्याम्पियनका रुपमा पनि काम गर्छिन् ।

यस्तै, खालीसीसी डटकममार्फत कवाडी सामानहरुको उद्यममा सक्रिय आयुषी केसी पनि एसियाका प्रभावशाली युवा उद्यमीहरुको सूचीमा परेकी छन् । आयुषीले जिरो वेष्ट फोहोरमा काम गरेर संसार परिवर्तन गर्न खोजेको भन्दै फोब्र्सले यो सूचीमा राखेको जनाएको छ । फोर्ब्स अनुसार उनी खाली सिसी म्यानेजमेण्ट कम्पनी प्राइभेट लिमिटेड खोलेर कवाडी बस्तुहरुको ब्यवस्थापनका काम गरिरहेकी छिन् । उनले अहिले खालीसीसी डटकममार्फत १३ सयभन्दा बढी कवाडी क्रेता र बिक्रेताको नेटवर्क निर्माण गरेकी छिन् ।

उक्त प्रभावशाली युवाहरुको सूचीमा इको सेलका तीन संस्थापक नेपाली युवाहरु परेका छन् । जसमा निशान श्रेष्ठ, सुवास श्रेष्ठ र सचित पण्डित रहेका छन् । उनीहरुले संयुक्त रुपमा स्थापना गरेको संस्थाले वातावरणमैत्री र भूकम्प प्रंतिरोधी निर्माण सामाग्री उत्पादन गर्दै आएको छ । सन् २०१५ मा नेपालमा विनासकारी भूकम्प गएपछि उनीहरु यो कम्पनी स्थापना गरेर काम अगाडि बढाएका हुन् ।

घाम पावर कम्पनीका प्रबन्धन निर्देशक एन्जल निरौला । फोर्ब्सले नेपालका ३० प्रतिशत जनताले अझै विद्युत प्रयोगबाहिर रहेको बताउँदै उनले तिनीहरुका लागि काम गरिरहेको उल्लेख गरेको छ । उनले माइक्रोग्रीड मार्फत सोलार उर्जा मार्फ उनीहरुलाई उज्यालो दिन गरेको प्रयास कारण यो सूचीमा सामेल गरेको जनाएको छ । गत वर्ष फोर्ब्सको ‘३० अन्डर ३०’ को सूचीमा पाँच नेपाली युवा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement