एक सातामा १४ घुस्याहा कर्मचारी पक्राउ


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनायता दैनिकजसो कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिरहेको छ । तैपनि कर्मचारीतन्त्रमा घुसखोरी रोकिएको छैन । घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेका छन् । मंगलबार एक प्रहरी पनि घुससहित पक्राउ परेका छन् ।

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । सहज रूपमा श्रम स्वीकृत मिलाइदिने भन्दै उनले घुस लिएका थिए । यस्तै, सोमबार आन्तरिक राजस्व कार्यालय जगाती, भक्तपुरका नायब सुब्बा सबिन सुवेदी घुससहित पक्राउ परेका थिए । स्वास्थ्य चौकी भवन निर्माण सम्पन्नपछि नियमअनुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनका लागि उनले १५ हजार घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

गत, शुक्रबार एकै दिन अख्तियारले भ्रष्टाचारको आरोपमा पाँच कर्मचारीलाई पक्राउ गरेको थियो । बाराको सिमरास्थित डिभिजन वन कार्यालयका प्रमुख अधिकृत शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकरप्रसाद केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी घुससहित पक्राउ परेका हुन् । ठाकुर र केशरीलाई २५ हजार तथा कार्यालय सहयोगी अधिकारीलाई ९० हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । कवाडी मालसामानको ठेक्काका लागि उनीहरूले अग्रिम घुस लिएका थिए ।

ठेकेदारले पहिल्यै अख्तियारलाई खबर गरेपछि तीनजना फन्दामा परेका हुन् । त्यस्तै, मोरङको लाटिझोडास्थित सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत सलाउद्दिन अन्सारी पनि शुक्रबार नै घुससहित समातिएका छन् । वन पैदावार उपलब्ध गराउन सिफारिस गरिदिएबापत सेवाग्राहीसँग उनले ३५ हजार घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई डिभिजन वन कार्यालय विराटनगरबाट पक्राउ गरेको हो । शुक्रबार नै प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव वीरेन्द्र सिन्हा पनि पक्राउ परेका थिए । तारेखमा गएका वेला उनलाई अख्तियारले हिरासतमा लिएको थियो । तत्कालीन कृषि विकास कार्यालय पर्साका प्रमुख रहँदा उनले लाखौँ अनियमितता गरेको प्रमाण भेटिएपछि नियन्त्रणमा लिएको स्रोत बताउँछ ।

बिहीबार पनि दुई कर्मचारी घुससहित पक्राउ परेका थिए । ललितपुरको महानगरपालिकाको नक्सा शाखाका अमिन वीरेन्द्र चन्द २० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । उनले प्राविधिकमार्फत जग्गा नापजाँच गरेर क्षेत्रफल निक्र्योल गरी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले अख्तियारलाई खबर गरेर घुस दिएका थिए । घुस लिएको केही समयमै उनी महानगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ परेका हुन् । यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement