नेपाल आउंने पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ


काठमाडौं – विभिन्न देशका नागरिकलाई पर्यटकका रूपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको छ । आइतबार कम्बोडिया र भियतनामका चारजना महिला तीन केजी तीन सय ग्राम तस्करीको सुनसहित विमानस्थलमा पक्राउ परेका छन् । बैंककबाट नेपाल आउनेक्रममा उनीहरू पक्राउ परेका हुन् ।गोप्य अंगमा लुकाएर उनीहरूले सुन तस्करीको प्रयास गरेका थिए ।

पक्राउ पर्नेमा दुई भियतनामी र दुई कम्बोडियन महिला छन् । भन्सार कार्यालयले चेकिङका क्रममा दुवैलाई पक्राउ गरेको हो । अन्य दुईजना भन्सार पास गरेर पार्किङतर्फ पुगेपछि समातिएका हुन् । उनीहरूबाट सुनका गहना तथा साना टुक्राहरू बरामद भएको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।

विमानस्थलमा सानो परिमाणमा हुने तस्करीका घटना नौलो होइनन् । विगतमा नेपाली र भारतीयलाई मात्र प्रयोग हुने गरेकोमा अहिले विभिन्न देशका नागरिकलाई पर्यटकका रूपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको हो । ‘पहिला नेपाली र भारतीय नागरिक सुन तस्करीमा संलग्न हुन्थे,’ भन्सार कार्यालय विमानस्थलका प्रमुख गजेन्द्र ठाकुर भन्छन्, ‘पछि चिनियाँ र थाई नागरिक तस्करीमा संलग्न भए, पहिलोपटक कम्बोडियन र भियतनामीसमेत पक्राउ परेका छन् ।’

विभिन्न देशका नागरिकलाई प्रयोग गरेर नेपालमा सुन तस्करी गर्ने गिरोह ठूलै भएको हुन सक्ने प्रहरी र भन्सार अधिकारीहरूको आकलन छ । तर, अहिलेसम्म गिरोहका नाइकेको पहिचान हुन सकेको छैन । ‘सुनसहित पक्राउ परेकाहरूले गिरोहका बारेमा पटक्कै केही बताउँदैनन्,’ भन्सार प्रमुख ठाकुर भन्छन्, ‘कसले यो तस्करी चलाइरहेको छ भन्ने बुझ्न सकेका छैनौँ ।’

सुन तस्करी गर्ने विदेशी प्रायः समूहमा आउने गरेको प्रहरीले जनाएको छ । चार–पाँचजना एकैपटक नेपाल आउने गर्दछन् । यसअघि संयुक्त अरब इमिरेट्सबाट नेपाली र भारतीयलाई प्रयोग गरी सुन तस्करी हुँदै आएको थियो । लामो समयदेखि चिनियाँ नागरिकले आफ्नै देशबाट नेपालमा सुन तस्करी गर्दै आएका छन् । केही चिनियाँ नागरिक पक्राउ परिसकेका छन् । यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement