खाडी मुलुक जाने स्वास्थ्य परीक्षणमा सिन्डिकेट


काठमाडौं – मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लादेको भनी मुद्दा चलाएको श्रम मन्त्रालयले खाडीको अझ ठूलो सिन्डिकेटमा आँखा चिम्लिइरहेको छ। गाम्का नेपालका नाममा सीमित स्वास्थ्य संस्थाले सरकारको सीमाभन्दा धेरै रकम उठाइरहेका छन्।

मलेसियाका हकमा ३९ स्वास्थ्य संस्थाले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्थे। खाडीका साउदी, ओमन र बहराइनका लागि स्वास्थ्य परीक्षण गर्ने स्वघोषित जम्मा १२ मेडिकल छन्। मलेसिया जानेले चार हजार ५०० रुपैयाँ तिर्थे। गाम्कामा पाँच हजार ५०० रुपैयाँ र १० डलर (करिब ११ सय रुपैयाँ) अनलाइन फारम शुल्क गरी ६६ सय लाग्छ।

सरकारले पाँच हजार ७८० रुपैयाँ यसको सीमा तोकेको छ। बायोमेट्रिकमा तीन अर्ब ८६ करोड १५ लाख बराबर ठगी भएको मुद्दा जिल्ला अदालत काठमाडौं र उच्च अदालत ललितपुरमा विचाराधीन छन् । साउदी, ओमन र बहराइनमा हालसम्म गएका १२ लाखभन्दा बढी कामदारबाट पाँच अर्बभन्दा ठगी गरेको अनुमान रहेको छ। ‘तर आश्चर्यको कुरो सरकार गाम्काको यत्रो ठगी र सिन्डिकेटमा वर्षौंदेखि मौन छ’, नेपाल स्वास्थ्य व्यवसायी महासंघका पूर्वअध्यक्ष खड्गबहादुर श्रेष्ठले भने, ‘त्यसविरुद्ध हामीले धेरैपटक आन्दोलन ग¥यौं।

धेरै सरकार फेरिए, कुनैले सिन्डिकेट हटाएनन्। मलेसियाको त्यस्तै विषयमा आक्रामक देखिएका वर्तमान मन्त्री गोकर्ण विष्टले पनि यसमा चाहिँ वास्ता गरेनन्।’ गाम्का नेपालसँग आबद्व स्वास्थ्य संस्थाबाट सेवाग्राहीले समयमा काम गराउन नसक्ने, घण्टौं लाइन बस्नुपर्ने समस्या रहेको बताएका छन्।

हालै साउदी पुगेका दाङ तुलसीपुरका दयाराम केसीले गाम्का स्वास्थ्य परीक्षणको गुणस्तर न्यून भए पनि दोब्बर रकम तिर्नुपरेको गुनासो गरे । स्वास्थ्य परीक्षणमै समय खर्चनुपर्दा काठमाडौंमा चार९पाँच दिन बस्न बाध्य भएको उनले सुनाए। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement