हिन्द प्रशान्त क्षेत्रमा बढ्दो तनाव :क्वाडमार्फत चीन घेर्न सफल होला अमेरिका ?


एजेन्सी – क्वार्डको सम्मेलन आजबाट जापानमा सुरु हुंदैछ । सम्मेलनमा अमेरिका, भारत र अष्ट्रेलिया र जापानका राष्ट्राध्यक्षहरु सहभागी भएका छन् । सम्मेलन सुरु हुनुभन्दा पहिला अमेरिका,भारत र चीनबीच फेरी वाकयुद्ध सुरु भएको छ । हिंद प्रशान्त क्षेत्रमा अमेरिका र चीनबीच पहिलेदेखि नै प्रभुत्वको लडाई जारी नै छ ।

त्यसमाथी यसपटक अमेरिकाले अघि सारेको इण्डो प्यासेफिक इकनोमिक फ्रेमवर्क(आईपीइएफ) को विषयलाई लिएर चीन क्रुद्ध भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनकाअनुसार यो फ्रेमवर्कको स्थापनाले समान विचार हुने देशहरुका बीच स्वच्छ उर्जा,आपूर्ति सहजीकरण र डिजिटल कारोबारको क्षेत्रमा सहयोग अझै मजबूत बनाउन सहयोग पुग्नेछ ।

भारतको दक्षिणको समुद्री क्षेत्रदेखी अष्ट्रेलियासम्मको विशाल जलक्षेत्र,व्यापार एवंम् अर्थव्यवस्थाको लागि निकै महत्वपूर्ण मानिन्छ । हिंद प्रशान्त क्षेत्रको समृद्धिको लागि आर्थिक रुपरेखाको यस क्षेत्रमा चीनको आक्रमक कारोबारको रणनीतिसंग जुध्न अमेरिकाले यो प्रयास गरिरहेको छ । यो अमेरिकी योजनामा १२ देश सहभागी भएका छन् । आसियनका ७ देश यसमा सहभागी भएपनि कम्बोडिया र लाओस भने यसबाट टाढा बसेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले आईपीइएफमा सामिल हुने देश विश्व अर्थव्यवस्थाको ४० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने बताएका छन् । उनले यो फ्रेमवर्क फ्री ट्रेड एग्रीमेण्ट नभएको र सुरक्षा संयन्त्र समेत नभएको दावी गरेपनि चीनले भने यसलाई कडा शब्दमा विरोध गरेको छ ।

भारत प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न यो संगठनको स्थापना भएको हो । पछिल्लो सम्झौता पनि त्यसैको हिस्सा भएको जानकारहरु बताउंछन् । चीनले चीनविरोधी अभियान असफल हुने दावी गर्दै आएको छ । चिनियां विदेशमन्त्री वाङ यीले वेइजिङलाई सीमित गर्नका लागि वाशिङटन तिव्र गतिमा अघि बढिरहेको भन्दै यो रणनीति विफल भएरै छोड्ने प्रतिक्रिया दिएका छन् ।

उनले पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टोसंगको संयुक्त प्रेस कन्र्फेन्समा बोल्दै क्वाडको सार विभाजन पैदा गर्नु,टकराव गर्नु र शान्तिलाई खलबल्याउनु भएको बताए । उनले भने ‘यसले कुनै फरक पर्दैन, यो स्पष्ट देखिन्छ की यो विफल हुनको लागि गठन भएको हो ।’

चिनियां विदेशमन्त्री वाङले भारत प्रशान्त रणनीति खासगरी एशिया प्रशान्त क्षेत्रमा अन्तराष्ट्रिय समुदायका लागि एकदमै सतर्कता एवंम चिन्ताको विषय भएको बताए ।

चीनले यसलाई नेटो वा शीत युद्धजस्तो बनाउन कहिले सफल नहुने चेतावनी समेत दिएको छ । वाङले यो क्षेत्रलाई एक भू–राजनीतिक क्षेत्रको सट्टा एक शान्तिपूर्ण विकासको क्षेत्र बनाउनुपर्ने धारणा राखे । तर, एशिया प्रशान्त क्षेत्रलाई एक गुट,नेटो वा शीत युद्ध बनाउने खेल सफल नहुने उनले बताए ।

के हो क्वाड ?
अमेरिका,जापान,भारत एवंम् अष्ट्रेलियाजस्ता ठुला देशहरु एकै मंचमा रहेको क्वाडको उद्देश्य एक मुक्त तथा स्वतन्त्र भारत प्रशान्त क्षेत्र बनाउने छ । तर,वेइजिङले भने यसलाई एशियन नेटोको संज्ञा दिइसकेको छ । उसले यसको उदय रोक्नुको विकल्प नभएको बताएको छ ।

चीनले दक्षिण चीन सागरको पुरा हिस्सामा आफ्नो दावी गर्दै आएको छ । ताइवान,फिलिपिन्स,ब्रुनेई,मलेसिया र भियतनाम पनि यसमा दावी गर्दै आएका छन् । चीनले यहां कृत्रिम द्धीप र सैन्य प्रतिष्ठान स्थापना गरिसकेको छ । उसको जापानसंग समेत विवाद छ ।

क्वाडको स्थापनाको लागि जापानका पूर्व प्रधानमन्त्री शिंजो आबेको भुमिका महत्वपूर्ण छ । २००६ र २००७ मा आबेले नै क्वाडको स्थापनाका लागि पहल सुरु गरेका थिए । त्यसमा जोन होवार्ड, मनमोहन सिंह र अमेरिकी उपराष्ट्रपति डिक चेनेसम्मको सहयोग समेत महत्वपूर्ण छ ।

चतुर्भुज सुरक्षाको पहिलो अनौपचारिक बैठक २००७ मा मनिलामा भएको थियो । त्यसैवर्ष क्वाडका चार सदस्य राष्ट्र र सिगापुरले मालाबारको नामबाट बंगालको खाडीमा नौ सैनिक अभ्यास सुरु गरेका थिए । त्यसबैला चीनले यो बेइजिङ विरोधी गठबन्धन भएको प्रतिक्रिया दिएको थियो ।

अष्ट्रेलियामा केभिन रुड प्रधानमन्त्री भएपछी उनले क्वाडबाट अलग हुने निर्णय गरेका थिए । भारत समेत यसमा पछिल्लो समय निष्क्रियजस्तै बसेको थियो । त्यसको १० वर्षपछी २०१७ मा मनिलामा आसियान शिखर सम्मेलनको बेला ‘भारत–अष्ट्रेलिया–जापान–अमेरिका संवाद’ पछी क्वाड फेरी अस्तित्वमा आएको हो ।

चीन र भारतबीच डोकलाममा विवाद भइरहेको बेला यसले गति पाएको हो । पछिल्लो समय भारत र चीनबीच सीमा विवाद चलिरहेको बेला भारत यसमा फेरी सक्रिय भएको हो । चीनले पनि ताइवान प्रकरणमा कडा कदम चाल्ने अनुमान भइरहेका बेला अमेरिकाले प्रशान्त क्षेत्रमा प्रभाव बढाउन क्वाडलाई उपयोग गर्न खोजेको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement