राजधानी काठमाण्डु विश्वकै फोहोर शहर, घातक अवस्थामा वायु प्रदूषण


काठमाण्डु – संघीय राजधानी शहर काठमाण्डु संसारकै खराब वायु भएको शहरमा परेको छ ।

‘एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार वेबसाइटमा सार्वजनिक गरेको सूचीअनुसार विश्वका प्रमुख प्रदूषित १५ शहरको सूचीमा काठमाण्डु पहिलो बनेको छ ।

शुक्रबार काठमाण्डुको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ देखिएको छ । जुन वायु प्रदूषणको घातक अवस्था हो ।

काठमाण्डुपछि दोस्रो प्रदूषित शहर पाकिस्तानको लाहोर बनेको छ । तेस्रो प्रदूषित शहररमा भारतको राजधानी नयाँदिल्ली रहेको छ । लाहोरको एक्यूआई १८१ र दिल्लीको १७० रहेको छ ।

काठमाण्डु शहर पटक–पटक विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा पर्ने गरेको छ । गत चैत २७ गते पनि काठमाण्डु वायु प्रदूषणतर्फ पहिलो नम्बरमा थियो । त्यसबेला एक्यूआई २०० भन्दा बढी देखिएको थियो ।

एयर क्वालिटी इन्डेक्सका अनुसार वायु प्रदूषण ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१–१०० सम्म सतर्क हुने अवस्था रहन्छ ।

एक्यूआई १०१–१५० सम्म भएमा खतरनाक मानिन्छ । जसबाट श्वासप्रश्वास र मुटु रोगीलाई गम्भीर असर पार्न सक्छ । १५१–२०० एआईक्युसम्मको वायुलाई घातक मान्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement