वासिङ्टन- चीन र अमेरिकाबीचको प्रतिस्पर्धा नयाँ होइन । हरेक क्षेत्रमा एकअर्कालाई दिइरहेको चुनौतीले यी दुई देशबीचको होडबाजी थाहा हुन्छ। यही प्रतिस्पर्धाबीच अहिले एनभिडियाका संस्थापक चर्चाको शिखरमा छन्।
विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक एनभिडियाका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ र चिनियाँ नागरिक एलिस हुआङको प्रसङ्गले यतिबेला विश्व तरङ्गित बनाएको छ।
अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार एलिस हुआङमाथि चीनको गुप्तचर निकायका लागि काम गरेको र एनभिडियाका प्रमुखसँगको निकट सम्बन्धलाई सूचनामा पहुँच प्राप्त गर्ने साधन बनाएको आरोप छ। तर उनी चिनियाँ जासुस भएको कुरा पुष्टि गर्ने आधार अमेरिकीले भेटेका छैनन् । चीनले यसलाई निराधार आरोप भन्दै खण्डन गरिसकेको छ।

यो घटनालाई तीन तहमा बुझ्न सकिन्छ :
व्यक्तिगत : जेन्सेन र एलिसबीचको सम्बन्ध कस्तो थियो ?
व्यावसायिक : मेगास्पिडले अर्बौं डलरका एनभिडिया चिप कहाँ र कसरी प्रयोग गर्यो ?
भूराजनीतिक : चीनले अमेरिकी एआई प्रविधिमा पहुँच बनाउन गुप्तचर सञ्जाल प्रयोग गरेको थियो ?
अब यो प्रकरणलाई १५ बुँदामा बुझौँ
१. को हुन् एलिस हुआङ ?
एलिस हुआङलाई हुआङ ली नामले पनि चिनिन्छ। उनी सिंगापुरमा रहेको प्रविधि तथा डेटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेसनलकी पूर्ववरिष्ठ अधिकारी हुन्।
कम्पनीको व्यवस्थापनमा उनको भूमिका सन् २०२३ देखि देखिन्छ। उनी उक्त कम्पनीकी प्रबन्ध निर्देशक बनेकी थिइन्। पछि उनले कम्पनीको सञ्चालक पद छाडिन्।
मेगास्पिडले आफूलाई एनभिडियाको कम्प्युटिङ पावर क्लाउड व्यवसायको एसिया-प्रशान्त क्षेत्रको व्यावसायिक साझेदारका रूपमा प्रस्तुत गर्दै आएको थियो।
अमेरिकी अधिकारीहरूको अनुसन्धानमा यो कम्पनी पनि परेको थियो। कम्पनीले एनभिडियाका एआई चिप खरिद गर्ने गरेको थियो । उसले ती चिप चीनसम्म पुर्याउन अमेरिकी निर्यात प्रतिबन्ध छल्न सहयोग गरेको हुन सक्ने आशंका गरिएको थियो।
अमेरिकी गुप्तचर निकायले एलिसलाई चिनियाँ गुप्तचरको सम्पर्कमा रहेको व्यक्ति ठानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर उनले जासुसी अपराध गरेको अमेरिकाले प्रमाणित गर्न सकेको छैन।
२. जेन्सेन हुआङसँग कसरी जोडियो सम्बन्ध ?
एलिस र जेन्सेनबीचको सम्बन्ध व्यावसायिक भेटघाटबाट सुरु भएको बताइएको छ। एलिस आबद्ध कम्पनी एनभिडियाको व्यावसायिक साझेदार भएकाले उनीहरूबीच सम्पर्क हुनु अस्वाभाविक थिएन।
तर अमेरिकी सञ्चारमाध्यमका रिपोर्टले उनीहरूबीच व्यावसायिक सम्बन्धभन्दा निकट सम्बन्ध रहेको दाबी गरेका छन्।
सन् २०२५ मे २२ मा ताइवानको ताइपेईमा भएको एक रात्रिभोजमा एलिस जेन्सेनसँगै बसेको तस्बिर सार्वजनिक भएको थियो। उक्त भेट कम्प्युटेक्स प्रविधि प्रदर्शनीका क्रममा भएको थियो।
जेन्सेनले नोभेम्बर ८ मा कम्पनीका कर्मचारीलाई पठाएको सन्देशमा पत्नीप्रति आफू इमानदार नरहेको स्वीकार गरेका छन्। उनले आफ्नो व्यवहारले पत्नी र सन्तानलाई चोट पुर्याएको भन्दै माफी मागेका छन्। यद्यपि उनले सन्देशमा ती चिनियाँ महिलाको नाम उल्लेख गरेका छैनन्। अमेरिकी सञ्चारमाध्यम एबीसीसहितले उनको सम्बन्ध एलिस हुआङसँग रहेको उल्लेख गरेका छन्।
३. चीनले एनभिडियाबाट के लिन खोजेको हो ?
यस प्रकरणको सबैभन्दा महत्त्वपूर्ण पक्ष व्यक्तिगत सम्बन्धभन्दा अमेरिका र चीनबीचको प्रविधि प्रतिस्पर्धा हो। एनभिडिया विश्वकै शक्तिशाली एआई चिप निर्माता कम्पनी हो। यसका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) चिपहरू कृत्रिम बुद्धिमत्ता विकास, विशाल डेटा प्रशोधन, सुपर कम्प्युटर र सैन्य अनुसन्धानसम्मका क्षेत्रमा प्रयोग हुन्छन्।
चीनले पनि एआई प्रविधिमा अमेरिकालाई उछिन्ने लक्ष्य राखेको छ। त्यसका लागि अत्याधुनिक चिप, उच्च क्षमताका कम्प्युटर र ठूलो परिमाणमा कम्प्युटिङ शक्ति आवश्यक पर्छ। तर अमेरिकाले सन् २०२२ देखि चीनको उन्नत सेमिकन्डक्टर प्रविधिमा पहुँच सीमित गर्न निर्यात नियण्त्रण नियम लागू गर्दै आएको छ।
यसको उद्देश्य चीनले अत्याधुनिक अमेरिकी चिप प्रयोग गरेर सैन्य क्षमता र रणनीतिक प्रविधि विकास नगरोस् भन्ने हो। विशेषगरी एनभिडियाका शक्तिशाली एआई चिप चीनमा पुग्न नदिन अमेरिकाले अनेकौं प्रतिबन्ध लगाएको छ।
यही अवस्थामा चीनले तेस्रो मुलुकमा रहेका कम्पनीमार्फत चिप प्राप्त गर्ने प्रयास गरेको हुन सक्ने अमेरिकी अधिकारीहरूको आशंका छ। मेगास्पिड पनि यही सन्दर्भमा अमेरिकी अनुसन्धानको दायरामा परेको अलजिराले उल्लेख गरेको छ।
४. चीनलाई जेन्सेन हुआङबाट के चाहिएको थियो ?
अमेरिकी गुप्तचर अधिकारीहरूको आशंकामा एलिससँगको निकट सम्बन्धलाई जेन्सेन हुआङसम्म पहुँच बनाउने माध्यमका रूपमा प्रयोग गरिएको हुन सक्छ।

यसका सम्भावना यस्ता छन् :
चिप प्रविधिको जानकारी : एनभिडियाका आगामी पुस्ताका चिप, उत्पादन क्षमता र प्रविधिगत योजनाबारे जानकारी प्राप्त गर्ने सम्भावना।
व्यावसायिक रणनीति : चीनमा चिप बिक्री, अमेरिकी निर्यात प्रतिबन्ध र कम्पनीको आगामी व्यापारिक योजनाबारे बुझ्ने प्रयास।
नीतिगत पहुँच : अमेरिकी सरकारसँग एनभिडियाको सम्बन्ध र चिप निर्यातसम्बन्धी निर्णय प्रक्रियाबारे जानकारी प्राप्त गर्ने सम्भावना।
प्रतिबन्ध छल्ने उपाय : सिंगापुरजस्ता तेस्रो मुलुकका कम्पनीमार्फत प्रतिबन्धित प्रविधिमा पहुँच विस्तार गर्ने सम्भावना।
तर यी अनुसन्धानसँग जोडिएका सम्भावित उद्देश्य र आशंका हुन्। एलिसले वास्तवमै कुन सूचना प्राप्त गरिन् वा चीनलाई पठाइन् भन्ने कुरा सार्वजनिक रूपमा पुष्टि भएको छैन।
एनभिडियाले पनि कम्पनीको गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी चुहिएको कुनै प्रमाण आफूसँग नरहेको जनाएको छ।

५. एनभिडियाले किन थाल्यो अनुसन्धान ?
नोभेम्बर ८ मा एनभिडियाको सञ्चालक समितिले स्वतन्त्र अनुसन्धान सुरु गर्ने घोषणा गरेको थियो। अनुसन्धान स्वतन्त्र सञ्चालकहरूको समितिले बाह्य कानुनी परामर्शदाताको सहयोगमा अघि बढाउने कम्पनीले जनाएको छ।
यसमा मुख्यतः दुई विषय खोजिदैँछ :
जेन्सेन हुआङ विदेशी गुप्तचर अभियानको निशानामा परेका थिए कि थिएनन् ?
यस घटनाबाट एनभिडियाको गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षामा असर परेको छ कि छैन ?
कम्पनीले अनुसन्धान जारी रहँदा पनि जेन्सेनले सीईओको जिम्मेवारी निरन्तर सम्हाल्ने जनाएको छ।
यो घटनाले एनभिडियाको सेयर बजारमा समेत असर पारेको छ। नोभेम्बर ९ को कारोबारमा कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको रिपोर्ट सार्वजनिक भएको थियो।

६. चीनको प्रतिक्रिया के छ ?
चीनले आफूमाथि लागेको जासुसीको आरोप अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नोभेम्बर ९ मा पत्रकारसँग कुरा गर्दै चीनमाथिका जासुसीसम्बन्धी आरोप निराधार रहेको बताएका थिए।
उनले यस्ता आरोप चीनलाई बदनाम गर्ने प्रयास भएको प्रतिक्रिया दिएका थिए। चीनले यस घटनालाई अमेरिका र चीनबीचको प्रविधि प्रतिस्पर्धासँग जोडेर हेर्ने अमेरिकी दृष्टिकोणको पनि आलोचना गरेको छ।

७. यो प्रकरणले अमेरिका-चीन सम्बन्धमा कस्तो असर पर्ला ?
यस घटनालाई एउटा उद्योगपतिका व्यक्तिगत सम्बन्धको विवादमा मात्र सीमित गरेर हेर्न मिल्दैन। यसले विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको प्रविधि र राष्ट्रिय सुरक्षा प्रतिस्पर्धालाई थप सतहमा ल्याएको छ। अमेरिका चीनलाई अत्याधुनिक एआई चिप नदिन खोजिरहेको छ। अर्कोतर्फ चीन आफ्नो एआई उद्योग र सेमिकन्डक्टर क्षमतालाई तीव्र रूपमा विस्तार गर्न चाहन्छ।
जेन्सेन हुआङ भने चीनमा एनभिडियाको व्यापार विस्तार गर्नुपर्ने पक्षमा रहँदै आएका छन्। उनले चीनको ठूलो बजारलाई कम्पनीका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेर्दै आएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँगको संवादमा पनि उनले चीनमा चिप बिक्रीका लागि सहजीकरण गर्न लबिङ गरेका थिए। अब यो प्रकरणले अमेरिकी संसद्मा एनभिडियाको चीनसँगको व्यापारमाथि थप प्रश्न उठाउने सम्भावना छ। अमेरिकी सांसदहरूले हुआङसँग यस विषयमा जानकारी मागेका छन्।
एनभिडियाको नेतृत्वमाथि नै प्रश्न उठेमा त्यसको प्रभाव विश्वव्यापी एआई उद्योगमा पर्न सक्छ। किनकि कम्पनीको नेतृत्व र रणनीतिमा जेन्सेनको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको रोयटर्सले जनाएको छ
एलिस हुआङमाथि लागेको जासुसीको आरोप अहिलेसम्म प्रमाणित भइसकेको छैन। तर एनभिडियाको व्यावसायिक सञ्जाल, चीनमा अत्याधुनिक चिपको पहुँच र अमेरिकी राष्ट्रिय सुरक्षासँग जोडिएको यो प्रकरणले एउटा गम्भीर प्रश्न उठाएको छ। यो प्रश्नको जवाफ एनभिडियाको अनुसन्धान र अमेरिकी गुप्तचर निकायको थप विवरणले स्पष्ट पार्नेछ।
यस प्रकरणमा पहिलेको विवरणभन्दा धेरै महत्त्वपूर्ण तथ्य भेटिएका छन्। विशेषगरी मेगास्पिडमाथिको अमेरिकी अनुसन्धान, ४ अर्ब ८० करोड डलरभन्दा बढीको एनभिडिया चिप कारोबार, अमेरिकी वाणिज्य मन्त्रालयको अनुसन्धान रोकिएको घटना र न्याय मन्त्रालयमा पुगेको फौजदारी अनुसन्धान पनि अझै जारी छ।

८. ४ अर्ब ८० करोड डलरको चिप कारोबार र मेगास्पिडको भूमिका
यो प्रकरणमा सबैभन्दा महत्त्वपूर्ण कम्पनी हो सिंगापुरमा रहेको मेगास्पिड इन्टरनेसनल। अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सका अनुसार मेगास्पिडले पछिल्ला दुई वर्षमा ४ अर्ब ८० करोड डलरभन्दा बढी मूल्यका एनभिडिया चिप खरिद गरेको थियो।
यो सामान्य व्यावसायिक कारोबार मात्रै थिएन। अमेरिकी अधिकारीहरूले मेगास्पिडले खरिद गरेका अत्याधुनिक एआई चिप तेस्रो मुलुक हुँदै चीन पुर्याएको हुन सक्ने आशंकामा अनुसन्धान गरेका थिए।
मेगास्पिडले दक्षिणपूर्वी एसियामा डेटा सेन्टर निर्माण गरिरहेको थियो। उसका ग्राहकमा चिनियाँ प्रविधि कम्पनी अलिबाबासमेत रहेको बताइएको छ। अमेरिकी अधिकारीहरूको आशंका थियो, मेगास्पिडले मलेसियाजस्ता मुलुकमा एनभिडियाका चिप आयात गरेर अन्ततः चीनका ग्राहकलाई उपलब्ध गराएको हुन सक्छ।
यसमा एलिस हुआङको भूमिका पनि अनुसन्धानको विषय बनेको थियो। उनी मेगास्पिडकी पूर्व वरिष्ठ अधिकारी हुन्। तर मेगास्पिडले आफूले अवैध रूपमा चिप चीन पठाएको आरोप अस्वीकार गर्दै आएको छ। कम्पनीले यसअघि त्यस्तो आरोप पुष्टि गर्ने प्रमाण नरहेको बताएको वासिङ्टन पोस्टले लेखेको छ।
९. अमेरिकी वाणिज्य मन्त्रालयको अनुसन्धान किन रोकियो ?
यस घटनाको अर्को गम्भीर पाटो अमेरिकी सरकारी निकायको अनुसन्धानसँग जोडिन्छ। यही नोभेम्बर १० मा सार्वजनिक भएको एक रिपोर्टअनुसार अमेरिकी वाणिज्य मन्त्रालयले मेगास्पिडमाथि गरिरहेको अनुसन्धान बीचमै रोकेको थियो।
द न्युयोर्क टाइम्स को रिपोर्ट उद्धृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यम चोसुन बिजले जनाएअनुसार एनभिडियाका कानुनी प्रमुख टिम टेटरले वाणिज्य मन्त्रालयका अधिकारीसँग सम्पर्क गरेपछि अनुसन्धानको प्रक्रिया प्रभावित भएको थियो।
टेटरले मन्त्रालयका एक वरिष्ठ अधिकारी जेफ्री केसलरको स्वीकृति रहेको उल्लेख गर्दै अनुसन्धानकर्तासँग भेट मागेको बताइएको छ। त्यसपछि वाणिज्य मन्त्रालयअन्तर्गतको उद्योग तथा सुरक्षा ब्युरो (बीआईएस) ले गरिरहेको अनुसन्धान रोकिएको र मुद्दा न्याय मन्त्रालय (डीओजे) मा पुगेको रिपोर्टमा उल्लेख छ।
यसको अर्थ अनुसन्धान समाप्त भएको होइन। अब सम्भावित फौजदारी कसुरको पक्षबाट न्याय मन्त्रालयले अनुसन्धान अघि बढाउने स्थिति बनेको छ। यसले एनभिडियाको व्यावसायिक हित र अमेरिकी सरकारको निर्यात नियन्त्रण नीतिबीच सम्भावित टकराव देखाएको छ ।

१०. ट्रम्पलाई एक वर्षअघि नै थाहा थियो
यस प्रकरणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाबारे पनि प्रश्न उठेको छ। द न्युयोर्क टाइम्स को रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायले जेन्सेन हुआङ र एलिस हुआङबीचको सम्बन्ध तथा सम्भावित चिनियाँ गुप्तचर गतिविधिबारे ट्रम्पलाई करिब एक वर्षअघि नै जानकारी गराएको थियो। तर ट्रम्पले त्यसबेला कुनै कदम नचालेको रिपोर्टमा उल्लेख छ।
नोभेम्बर ८ मा पत्रकारहरूले यसबारे प्रश्न गर्दा ट्रम्पले जेन्सेनलाई राम्रो व्यक्ति भन्दै उनको बचाउ गरेका थिए। हुआङले असाधारण काम गरेको बताउँदै आफूले उनीसँग यस विषयमा कुरा नगरेको उनलेे बताएका थिए। ट्रम्पले हुआङको पनि आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने आशय व्यक्त गरेका थिए।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पनि हुआङको सम्बन्धबारे जानकारी गराइएको रिपोर्ट सार्वजनिक भएको थियो।यसले यो प्रकरण केवल एनभिडियाको आन्तरिक विषय नभई अमेरिकी प्रशासनको उच्च तहसम्म पुगेको देखाउँछ।
११. एलिसको विगत पनि अनुसन्धानको विषय
एलिस हुआङको व्यावसायिक पृष्ठभूमिबारे पनि विभिन्न विवरण सार्वजनिक भएका छन्। एएफपीले उद्धृत गरेको चिनियाँ लगानीसम्बन्धी डेटाबेसमा उनको विगतको रोजगारीबारे केही विवरण उल्लेख छन्।
त्यसअनुसार उनले एचएसबीसी बैंक तथा चीनका सरकारी टेलिभिजन संस्था सीसीटीभी र हुनान टेलिभिजनमा काम गरेको विवरण भेटिएको छ। तर एएफपीले यी विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको स्पष्ट पारेको छ।
उनको वास्तविक व्यावसायिक तथा संस्थागत पृष्ठभूमि, चिनियाँ सरकारी निकायसँगको सम्बन्ध र मेगास्पिडमा रहँदा निर्वाह गरेको भूमिकाबारे थप अनुसन्धान आवश्यक छ। अहिलेसम्म एलिसले जासुसीको आरोपबारे सार्वजनिक प्रतिक्रिया दिएकी छैनन्। उनको वर्तमान अवस्थाबारे पनि स्पष्ट जानकारी सार्वजनिक नभएको अलजजिराले जनाएको छ।
१२. जेन्सेनले पहिले सम्बन्धलाई सामान्य व्यावसायिक भेट भनेका थिए
यस प्रकरणमा जेन्सेन हुआङको एउटा पुरानो अभिव्यक्ति पनि महत्त्वपूर्ण मानिएको छ। गत अक्टोबर अन्तिम साता ब्लुमबर्गसँग कुरा गर्दै उनले एलिससँगको आफ्नो सम्पर्क मेगास्पिडसँगको व्यावसायिक सम्बन्धका कारण भएको बताएका थिए।
उनले एलिससँगको अन्तरक्रियालाई सामान्य र अस्वाभाविक नभएको बताएका थिए। तर नोभेम्बर ८ मा कर्मचारीलाई पठाएको सन्देशमा उनले पत्नीप्रति आफू इमानदार नरहेको स्वीकार गरे। उनले आफ्नो व्यवहारले पत्नी र सन्तानलाई चोट पुगेको भन्दै माफी मागेका थिए।
यसरी व्यक्तिगत सम्बन्ध स्वीकार गरे पनि उनले एलिस चिनियाँ गुप्तचर भएको जानकारी आफूलाई थियो वा थिएन भन्ने विषयमा सार्वजनिक रूपमा विस्तृत स्पष्टीकरण दिएका छैनन्।
१३. एनभिडियाको नेतृत्व फेरिन सक्छ ?
विश्व तरंगित पार्ने प्रकरणको अर्को सम्भावित असर जेन्सेनको नेतृत्वमाथि पर्न सक्छ। जेन्सेन ६३ वर्षका छन्। उनले तीन दशकभन्दा बढी समयदेखि एनभिडियाको नेतृत्व गर्दै आएका छन्। एनभिडियाको सफलता र विश्वव्यापी एआई उद्योगमा कम्पनीको प्रभाव विस्तारमा उनको भूमिका निर्णायक मानिन्छ।
रोयटर्ससँग कुरा गर्दै केही बजार विश्लेषकले सञ्चालक समितिको अनुसन्धानले जेन्सेनको पदमाथि समेत प्रश्न उठाउन सक्ने बताएका छन्। यद्यपि कम्पनीले उनलाई तत्काल हटाउने कुनै निर्णय गरेको छैन। सञ्चालक समितिले उनको नेतृत्वप्रति विश्वास व्यक्त गरेको छ।
अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरूले पनि जेन्सेनलाई यसै महिना संसद्मा उपस्थित भएर घटनाबारे जानकारी दिन आग्रह गरेका छन्। नोभेम्बर ४ मा लेखिएको उनीहरूको पत्रमा चीनको संवेदनशील अमेरिकी प्रविधि तथा सूचनामा पहुँचलाई राष्ट्रिय सुरक्षासँग जोडेर प्रश्न उठाइएको छ।
१४. एनभिडिया किन यति महत्त्वपूर्ण ?
एनभिडियालाई बुझ्न यसको चिपको महत्त्व बुझ्नुपर्छ। सन् १९९३ मा स्थापना भएको एनभिडिया सुरुमा ग्राफिक्स कार्ड निर्माण गर्ने कम्पनी थियो। कम्प्युटर गेमका लागि प्रयोग हुने ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) निर्माणबाट कम्पनीले आफ्नो व्यवसाय विस्तार गरेको थियो।
पछि यही जीपीयू प्रविधि कृत्रिम बुद्धिमत्ता विकासको मुख्य आधार बन्यो।
आज एनभिडियाका चिप प्रयोग गरेर :
-च्याटजीपीटीजस्ता ठूला एआई मोडलको प्रशिक्षण गरिन्छ।
-विशाल डेटा सेन्टर सञ्चालन गरिन्छ।
-सुपर कम्प्युटर निर्माण गरिन्छ।
-स्वचालित सवारी साधनका प्रविधि विकास गरिन्छ।
-सैन्य तथा रक्षा अनुसन्धानका लागि उच्च क्षमताको कम्प्युटिङ गरिन्छ।
यसकारण एनभिडियाका चिपमाथिको नियन्त्रण आर्थिक प्रतिस्पर्धा मात्र होइन, भविष्यको प्रविधि र राष्ट्रिय सुरक्षासँग पनि जोडिएको छ। एनभिडियाको बजार मूल्य ४५ खर्ब डलर आसपास पुगेको थियो। अलजजिराका अनुसार यो जापानको कुल गार्हस्थ्य उत्पादनभन्दा समेत बढी हो।
१५. विश्व बजारमा के असर पार्यो ?
नोभेम्बर ९ मा एनभिडियाको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको थियो। केही बजार रिपोर्टमा कारोबार सुरु हुँदा गिरावट ५ प्रतिशतभन्दा माथि पुगेको उल्लेख छ।
लगानीकर्ताको चिन्ता मुख्यतया तीन विषयमा केन्द्रित देखिन्छ :
-जेन्सेनको नेतृत्वमाथि अनिश्चितता।
-अमेरिकी सरकारको चिप निर्यातसम्बन्धी थप कडाइ।
-चीनसँगको व्यापार र एनभिडियाको भविष्यको बजार।
एनभिडियाका लागि चीन ठूलो सम्भावित बजार हो। तर अमेरिकी प्रतिबन्धका कारण त्यहाँ अत्याधुनिक चिप बिक्री गर्न कठिनाइ छ।
यस विवादले चीनमा एनभिडियाको व्यापार थप प्रभावित हुन सक्ने र अमेरिकी सांसदहरूले निर्यात नियन्त्रण अझ कडा बनाउन दबाब दिन सक्ने विश्लेषण गरिएको छ। रोयटर्सका अनुसार यस प्रकरणले एनभिडियाका प्रतिस्पर्धी कम्पनीहरूलाई पनि बजारमा अवसर दिन सक्नेछ।
अहिलेसम्म एलिस हुआङले जेन्सेनबाट कुन गोप्य सूचना प्राप्त गरिन्, त्यस्तो सूचना बेइजिङलाई पठाइयो कि पठाइएन ? जेन्सेनलाई उनको सम्भावित गुप्तचर भूमिकाबारे जानकारी थियो कि थिएन भन्ने पुष्टि भएको छैन।


प्रतिक्रिया