जनप्रतिनिधि हेलिकप्टरबाटै गाउँ–सहर


काठमाडौं – सडकले छोएका स्थानीय तहका जनप्रतिनिधि गाडी चढ्छन् । नपुगेका ठाउँका भने हेलिकप्टर चढेरै सदरमुकाम आउजाउ गर्छन् ।

निर्वाचित हुनुपूर्व पैदल आवतजावत गर्ने जनप्रतिनिधि अचेल हेलिकप्टरबाटै गाउँ–सदरमुकाम आउजाउ गर्न थालेका हुन् । ‘आफ्नै खर्च’ मा हेलिकप्टर चढेको उनीहरूको दाबी छ ।

साउन तेस्रो साता हेलिकप्टरबाट सिमकोट पुगेकी अदानचुली गाउँपालिकाकी उपाध्यक्ष सौमती ऐडीका लागि ‘हेलीयात्रा’ पहिलो अनुभव थियो । यसका लागि उनले २१ हजार खर्च गरिन् । सँगसँगै आएका अरूले पनि सोही दरमा हेलिकप्टर भाडा तिरेको उनले बताइन् । ‘शंका गर्नेले त जे पनि गर्लान्, तर मैले आफ्नो भाडा आफैं तिरेकी छु,’ उनले भनिन्, ‘गाउँपालिकाबाट भाडा लगेकी छैन ।’

सर्केघाट गाउँपालिकाका उपाध्यक्ष जोशी धामी पनि हेलिकप्टरमै आवतजावत गर्छिन् । उनी त ‘हेलिकप्टरवाला’ सँग आफ्नो राम्रो सम्बन्ध भएकाले भाडा तिर्नै नपर्ने बताउँछिन् । ‘हिजो (चुनावअघि) म गाउँमा बस्थें, आजकल गाउँमा आउजाउ गरिरहनुपर्छ,’ उनले भनिन्, ‘तैपनि मैले हेलिकप्टरको भाडा गाउँपालिकालाई तिर्न लगाएकी छैन ।’

सिमकोटका पर्यटन व्यवसायी विजय लामाका अनुसार वैशाखयता मात्र सिमकोटबाट विभिन्न गाउँपालिकामा ३० वटा उडान भएका छन् । सिमकोटबाट अदानचुलीमा आठ, चंखेलीमा ६, सर्केघाटमा पाँच, ताजाकोटमा तीन र यालबाङमा एक र बाँकी अन्य स्थानमा भएको लामाले बताए । यी उडान जनप्रतिनिधि र बिरामीका लागि आधाआधा प्रयोग भएको उनको भनाइ छ ।

हेलिकप्टर कम्पनीले सिमकोटबाट चंंखेलीमा एक लाख २० हजार रुपैयाँ, ताजाकोट र अदानचुलीमा एक लाख २५ हजार रुपैयाँ, सर्केघाटमा एक लाख रुपैयाँ र यालबाङमा ८० हजार रुपैयाँमा हेलिकप्टर चार्टर गर्छन् । स्थानीय श्यामजोर ऐडीले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमात्र नभई वडाध्यक्षले समेत हेलिकप्टरमै गाउँ–सदरमुकाम आउजाउ गर्ने गरेको बताए ।

‘हेलिकप्टर भाडामा कसको कति खर्च भयो भन्ने कुरा त गाउँपालिकामै गएर बुझ्दा थाहा होला,’ उनले भने, ‘तर हिजो सामान्य हैसियत भएका व्यक्तिहरू आज जनप्रतिनिधि हुनेबित्तिकै महँगो भाडा तिरेर हेलिकप्टरमा आवतजावत गर्छन् भने यसमा शंका गर्नैपर्छ ।’ जनप्रतिनिधिहरू भने गाउँमा सडक सुविधा नपुगेको र पैदल यात्रा गर्दा समय बढी लाग्ने भएकाले हेलिकप्टरमै आवतजावत गर्नुपरेको बताउँछन् । कैलाश मानसरोवर यात्राका लागि सिमकोट आएका हेलिकप्टरका कारण उनीहरूलाई सहज भएको छ ।

मोटरसाइकलमा चालक !

कालिकोटको रास्कोट नगरपालिकाले ९ वटै वडाका वडाध्यक्षलाई ९ वटा मोटरसाइकल खरिद गरेको छ । यसका अतिरिक्त विषयगत शाखालाई एकरएक वटा र अन्य नगरका कर्मचारीका लागि पनि मोटरसाइकल दिएको छ ।

सात जना वडाध्यक्षले भने मोटरसाइकल चलाउन जान्दैनन् । उनीहरूसँग सवारी अनुमतिपत्र ९लाइसेन्स० छैन । ‘चुनाव जितेपछि मोटरसाइकल पाइयो, मोटरसाइकल नहुँदै लाइसेन्स कताबाट ल्याउनू रु,’ २ नम्बर वडाका वडाध्यक्ष दयाराम सिम्खडाले भने, ‘कतै जानुपर्‍यो भने लाइसेन्स भएका साथीभाइको पछाडि बस्छौं ।’

रास्कोट नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकलमात्र होइन, मेयरका लागि ४० लाखको गाडीसमेत खरिद गरेको छ । तर, उक्त गाडी गाउँमा गुडदैन । असारपछि कर्णाली नदीमा फेरी बन्द भएपछि सदरमुकाम मान्ममै राखिएको छ । मेयर काशीचन्द्र बरालले सदरमुकाम आउँदा र सुर्खेत झर्दामात्र उक्त गाडी प्रयोग गर्छन् । ‘त्यो गाडी नगरपालिकातिर देखिँदैन, मेयर र उनका आसेपासेले मात्र सदरमुकाममा चढ्छन्,’ वडाध्यक्ष सिम्खडाले भने, ‘हामीलाई भने मोटरसाइकल दिइएको छ ।’ आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement