जसपा विभाजनको संघारमा, इस्तियाकको समूहले उपेन्द्रलाई सघाउंदा ठाकुर पक्ष अल्पमतमा


काठमाण्डु– लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णयपछि जसपाभित्र बिवाद बढेको छ । लुम्बिनी प्रदेशसभामा जसपाका ६ जना सांसद छन् ।

जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशीत गरी सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट पदमुक्त भएको सुचना प्रकाशित गरेको छ ।

उनीहरुमध्ये यादव बांके क्षेत्र नम्बर २ (१) र पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रत्यक्ष चुनाव जितेर आएका सांसद हुन भने रायमाझी र कल्पना समानुपातिकबाट सांसद बनेकी हुन । प्रदेशसभामा अब जसपाका सांसद शासराम यादव र पुरमती ढेंगा मात्र बांकी छन् । लुम्बिनी प्रदेशमा अध्यक्ष उपेन्द्र यादव पक्षको बहुमत छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट नभएको भन्दै प्रदेशसभामा अर्को पत्र पठाएका छन् ।

ठाकुरले बिहीबार सभामुखलाई पठाएको पत्रमा लुम्बिनीमा पूर्वराजपा नेपाल र पूर्वसमाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन पठाइएको स्मरण गराएका छन् ।

ठाकुरले लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही केन्द्रीयस्तरबाट नभएको समेत पत्रमा उल्लेख गरेका छन् । ठाकुरले लुम्बिनी प्रदेशसभा संसदीय दलको बहुमतको निर्णयलाई नै मान्यता दिइने व्यहोरा समेत अवगत गराएका छन् । चार जना सांसदलाई कारवाही गरेसंगै जसपा विभाजनतिर उन्मुख भएको नेताहरुले बताएका छन् ।

राजपाको केन्द्रिय कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षताको बसेको बैठकले लुम्बिनी प्रदेशका चार जना सांसदलाई पार्टी र सांसद पदबाट हटाउने निर्णय गरेको हो । जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सांसदहरुलाई गरेको कारबाही मान्य नहुने बताए ।

बिहीबार लुम्बिनी प्रदेशसभाका आफ्ना चार जना सांसदलाई पदमुक्त गरिएको विषयमा नेता महतोले फर्जी कारबाही मान्य नहुने बताएका हुन् ।

इस्तियाक राई र शर्वेन्द्रनाथ शुक्लाको लडाईं

जसपाभित्र लुम्बिनी प्रदेशको बिवादले पार्टी विभाजनतर्फ धकेलेको जसपाकै नेताहरुले बताएका छन् । जसपाको लुम्बिनी प्रदेश कमिटी र संसदीय दलको चैत्र २६ गते बसेको बैठकले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।

पछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चारै जना सांसदलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए । त्यसमा मुख्यगरी लुम्बिनी प्रदेशका नेता सर्वेन्द्रनाथ शुक्लाको भुमिका थियो । शुक्ला र राजेन्द्र महतोका डिजाईनमा उक्त निर्णय भएको थियो । जसपाका अर्का नेता इस्तियाक राई पनि त्यतिबेला बुटवलमै थिए ।

उनले पार्टी निर्णय कार्यान्वयन गराउन खोजेका थिए । तर, सांसदहरुलाई मन्त्री बनाएपछि खेल उल्टिएको थियो । राई र शुक्ल दुवै जना लुम्बिनी प्रदेशका नेता हुन । उनिहरु दुवैबीच इगोको लडाईं भएको समेत बताइएको छ ।

लुम्बिनी प्रदेशमा पुर्वसंघीय समाजवादी पार्टीको बहुमत छ । पार्टी र प्रदेशसभा दुवैमा उनीहरुको बहुमत भएपनि मुख्यमन्त्री पोखरेलसंग मिलेर राजपाका नेताहरुले आफुहरुलाई माईनस गरेको नेता राईको बुझाई थियो । प्रदेशसभामा समेत समाजवादीका ५ जना र राजपाका १ जना सांसद थिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवसंग त्यतिबेलासम्म राईको खराव सम्बन्ध थियो । जब लुम्बिनी प्रदेशमा उनलाई माइनस गरियो त्यसपछि जसपाभित्र नयां समिकरणको सुरुवात भएको थियो ।

पुर्वमन्त्री समेत रहेका जसपाका नेता राईले केही दिन अघि ट्वीटरमा बर्तमान नबुझ्ने विगत नै सम्झेर दम्भ भएकाहरूले सबैथोक गुमाउने भन्दै महतो र महन्थलाई संकेत गरेर स्टाटस समेत लेखेका थिए ।

जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्लपक्षसंग त्यसपछि राईसहितका नेताहरु निरन्तर छलफलमा थिए । तर, सरकारमा जाने विषयमा समेत उनीहरुसंग परामर्श नगरिएको र लुम्बिनी प्रदेशमा समेत आफुलाई माइनस गर्न खोजेको इगोको रुपमा राईले लिएको उनि निकट स्रोतको दावी छ ।

यसअघि राईसहित प्रदिप यादव, रेणु यादवलगायतका सांसदहरुले अलग पार्टी समेत गठन गर्ने प्रयास गरेका थिए । पछिल्लो समय उनीहरुको अध्यक्ष उपेन्द्र यादवसंग फेरी गठबन्धन बनेको बताइन्छ । राजपाभित्र राईको नेतृत्वको समुह जतातिर लाग्यो त्यतै बहुमत बन्ने स्थिती छ ।

लुम्बिनीमा चार जना सांसदलाई पदमुक्त गरेसंगै जसपा अध्यक्ष ठाकुर पक्षले उपेन्द्र यादव र बाबुराम भट्टराईले पार्टी निर्णय विपरित कार्य गरेको भन्दै २४ घण्टे स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

मंगलवार जसपाको केन्द्रिय कार्यालय वालकुमारीमा जसपाका शीर्ष पाँच नेताको बैठक बसेको थियो । बैठकमा उपेन्द्र यादवले तत्काल केन्द्रिय कार्यकारणी समितिका बैठक बोलाउन माग गरेका थिए । तर, ठाकुर र नेता महतोले कोराना संक्रमणका कारणमा काठमाण्डुमा बिहीबारदेखि निषेधाज्ञा लाग्ने भएको भन्दै खुलेपछि मात्रै बैठक गर्नुपर्ने भनाई राखेका थिए ।

त्यसपछि ठाकुर र महतो सहित अन्य पदाधिकारी हिँडेपछि जसपाका अध्यक्ष यादवले पार्टी कार्यलयमै आफ्ना निकट कार्यकारणी समितिका सदस्यहरुको बैठक बोलाएका थिए । यादवले कार्यकारणी सदस्यहरुलाई सादा कागजमा हस्ताक्षर गराउँदै उक्त हस्ताक्षर लुम्बिनी प्रदेशका चार सांसदको कारवाही र केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस र माओवादीसंग मिलेर अविश्वास प्रस्ताव ल्याउन प्रयोग गर्ने बताएका थिए ।

यसअघि यादवले संसदीय दलको कार्यालयबाट जसपाको संसदीय दलको माइन्युट पनि गुपचुप रुपमा लगेर आफूसंग राखेका छन् । मंगलवार यादवले कति जना कार्यकारणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेका थिए भन्ने प्रष्ट खुलेको छैन ।

तर,उनी पक्षका नेताहरुले २८ देखि ३३ जना सम्मको हस्ताक्षर संकलन गरिएको दावी गरेका छन् । जसपाको कार्यकारणी समिति अहिले ५१ सदस्यीय छ । जसमध्ये रेशम चौधरी अहिले जेलमा छन् ।

बांकी ५० सदस्यीय केन्द्रिय समितिमा २५ उपेन्द्र यादवसंग थिए भने बांकी २५ ठाकुरसंग थिए । तर,पुर्व राजपाका नेता महेन्द्र यादवसहित ३ जनाले यादवलाई समर्थन गरेका छन । त्यसमाथि राईको समूहले समेत यादवलाई नै समर्थन गरेपछि उनलाई बहुमत जुटाउन सजिलो बनेको हो ।

अध्यक्ष ठाकुरको पुर्वमन्त्री इतिस्याक राईको समूहले आफूलाई समर्थन गर्ने हिसाब थियो । उनीहरुको समर्थन हुंदा ठाकुरलाई दल र केन्द्रिय समिति दुवैमा बहुमत मिल्ने अवस्था थियो । तर,उनीहरुले यादवलाई नै समर्थन गरेपछि ठाकुर पक्ष समेत जसपाभित्र अल्पमतमा परेको छ ।

ठाकुर र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्ना माग पुरा भएपछि बांकी माग पुरा गराउने र सरकारमा सहभागी गराउने तयारी गरेका थिए । तर, जसपाभित्रको लडाईंले सरकार र ठाकुर दुवैलाई झट्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement