कालापानी गस्ती हिँडेको सशस्त्र प्रहरीलाई भारतीय सुरक्षाकर्मीले फर्कायो


काठमाडौं – कालापानी क्षेत्रमा गस्ती हिँडेको सशस्त्र प्रहरी बललाई भारतीय सुरक्षाकर्मीले अवरोध गरेको छ ।

कालापानी क्षेत्रको गस्तीमा हिँडेका सशस्त्रको टोलीलाई भारतीय सुरक्षाकर्मीले ‘तिमिहरु यहाँ भन्दा उता जान पाउँदैनौ’ भनेर फर्काएको स्रोतले जानकारी दियो ।

हामीलाई प्राप्त भिडियोअनुसार सशस्त्रको टोली कालीनदीको तिरैतिर कालापानी जान खोज्दा कावा भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मीहरुले फिर्ता पठाएको देख्न सकिन्छ ।

‘नेपाल तर्फका १५ जना सुरक्षाकर्मीहरु कालापानी क्षेत्रको गस्ती गर्न हिँडेका थिए । तर , भारतीय सुरक्षाकमीृहरुले कावा भन्ने ठाउँबाटै फिर्ता पठाएछ’, एक सशस्त्रका उच्च अधिकारीले काठमाडौंपाटीसँग भने ।

भारतीय सुरक्षाकर्मीहरु कालापानीभन्दा करिब २ किलोमिटर नेपातर्फ आएका थिए । भारतीय सुरक्षाकर्मीहरुले नेपालको भू–भागमा गस्ती गर्न किन नपाउने ? भन्दै प्रश्न गरेपछि उनीहरुले विवादित क्षेत्रमा नआउन र आफलूहरुले पनि नआउने जवाफ दिएका थिए ।

गत वैशाख ३१ गते दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको थियो । २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहितको टोली छाङरुमा छ ।

त्यहाँ नेपाली सेनाको हेलिकोप्टरले ६ महिना पुग्ने खाद्यान्न, तारबार, इन्धन, सोलार र अन्य बन्दोबस्तीको सामान लगेको थियो ।

भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइएको थियो ।

छाङ्‌रु कालापानीबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा पर्दछ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement