माधव नेपालले प्रधानमन्त्री बन्न खोज्दा सुदूरका मुख्यमन्त्री सोडारीलाई धक्का !


काठमाण्डु – केन्द्रीय सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका दीर्घ सोडारी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गतिविधिका कारण संकटमा परेको देखिएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को भागमा परेको सुदूरपश्चिमको मुख्यमन्त्रीलाई अध्यक्ष नेपालले एकीकृत समाजवादी (एस) पार्टीको भागमा पार्न सफल भएका थिए । उनले एसलाई सुदूरपश्चिमको मुख्यमन्त्री दिनुपर्ने भन्दै गठबन्धनमा दबाब दिएका थिए ।

सुदूरपश्चिमको मुख्यमन्त्री पाएर पनि अध्यक्ष नेपाल ढुक्क बस्न सकेनन् । उनले सत्ता गठबन्धनविरुद्ध अभिव्यक्ति दिन छाडेनन् । बैशाख १० गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले भने, ‘परिस्थिति जटिल छ । छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिनँ तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौं । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं ।’

उनले अगाडि थपे, ‘कसैका धाकधम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौं, समाजमा जन्मिएका होइनौं, राजनीतिमा लागेका होइनौं । कसैको दास बन्ने हाम्रो नियत होइनौं ।’

अध्यक्ष नेपालका अभिव्यक्ति मात्रै होइन, गतिविधि र सक्रियता पनि गठबन्धन भत्काउनेतिर देखिएपछि नेकपा एमाले एसप्रति आक्रामक देखिएको छ । अध्यक्ष नेपालले आफू प्रधानमन्त्री बन्न अंकगणित पुर्‍याउने कसरत गरिरहेका छन् । शनिबार एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भने, ‘देश प्रधानमन्त्री हुन मात्रै हो ? प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् ।’

अध्यक्ष नेपालले केन्द्रीय राजनीतिमा देखाएको सक्रियताको प्रतिक्रिया स्वरूपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको विश्लेषण हुन थालेको छ । अध्यक्ष नेपालले जसपा अध्यक्ष उपेन्द्र यादवलाई साथमा लिएर छुट्टै गठबन्धनमा बहुमत पुर्‍याउन खोजेका थिए । अब जसपालाई अशोक राई लगायत सांसदले विभाजन गरेपछि अध्यक्ष नेपालको पक्षमा बहुमत पुग्ने छैन ।

केन्द्रीय राजनीतिमा जसपा विभाजन भएर तीतो जवाफ पाएका अध्यक्ष नेपालले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिलाउन गठबन्धनमा सहमति जुटाउन समस्या पर्ने देखिएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आईतबार अध्यक्ष ओलीसँग काठमाण्डुमा छलफल गरेका छन् । छलफलमा ओलीले विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएपछि मुख्यमन्त्री सोडारी थप संकटमा परेका हुन् । विश्वासको मत लिने पर्याप्त समय छँदै मत दिन हतार नगर्न अध्यक्ष ओलीले नेता रावललाई निर्देशन दिएका छन् ।

बैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । सोडारीले बैशाख २१ गते शुक्रबार विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाएका थिए तर एमालेले विश्वासको मत नदिने बताएपछि बैठक शनिबार सारिएको थियो । शनिबारसम्म पनि एमाले विश्वासको मत दिन तयार नभएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सत्ता गठबन्धनभित्र एसप्रति बढ्दै गएको अविश्वासले मुख्यमन्त्री सोडारीलाई धक्का लाग्ने देखिएको छ । एमाले अध्यक्ष ओलीले सोडारीलाई सुरुदेखि नै रुचाएका थिएनन् तर गठबन्धन भत्किने खतराका कारण मुख्यमन्त्रीको नियुक्तिका क्रममा एमालेले सोडारीलाई समर्थन दिएको थियो । अब अध्यक्ष नेपालले आफैं प्रधानमन्त्री बन्न गठबन्धन नै भत्काउन खोजेपछि मुख्यमन्त्री सोडारीको पद धरापमा परेको छ ।

हालै बझाङमा भएको प्रदेशसभा उपनिर्वाचनमा विजयी सांसद दमनबहादुर भण्डारी बुवाको किरीयामा भएका कारण उनले शपथ ग्रहण गरेपछि मात्रै विश्वासको मतबारे निर्णय लिने एमालेको तयारी छ । तबसम्म केन्द्रीय गठबन्धनमा खटपट बढेमा मुख्यमन्त्री सोडारी विश्वासको मत पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement