बालेनले किन रोजे ‘लुसिफर’ गीत ? बुझ्नुहोस् बाइबलको कथा र नेपाली राजनीतिको संयोग

बालेनले किन रोजे ‘लुसिफर’ गीत ? बुझ्नुहोस् बाइबलको कथा र नेपाली राजनीतिको संयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कालो चस्मा, कालो पहिरन, कपाल मिलाउँदै क्यामेरातर्फ हेरेको हाउभाउ र पृष्ठभूमिमा बजिरहेको अमेरिकी र्‍यापर जे–जीको चर्चित गीत ‘लुसिफर’। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सोमबार आफ्नो आधिकारिक फेसबूक पेजबाट सार्वजनिक गरेको एउटा तस्वीरले नेपाली राजनीतिक वृत्तमा फेरि एउटा पुरानो शब्दलाई चर्चाको केन्द्रमा ल्याएको छ – लुसिफर ।

तिहारको सार्वजनिक बिदाका बेला सोमबार प्रधानमन्त्री शाहले सार्वजनिक गरेको तस्वीर सामान्य व्यक्तिगत शैली प्रदर्शन मात्रै हो या यसमा राजनीतिक सन्देश पनि लुकेको छ ? यसको स्पष्ट जवाफ दिएका छैनन् । तर पृष्ठभूमिमा राखिएको गीतको शीर्षक र त्यससँग जोडिएको उनको राजनीतिक विगत हेर्दा यो पोस्टलाई संयोग मात्रै मानेर बेवास्ता गर्न कठिन छ ।

किनभने नेपाली राजनीतिमा ‘लुसिफर’ शब्द बालेन शाहसँग जोडिएको एउटा विशेष राजनीतिक उपमा बनिसकेको छ । कुनै समय उनका आलोचकले उनलाई यही शब्दमार्फत चित्रित गरेका थिए । त्यसबेला यो शब्द उनको प्रशंसाका लागि प्रयोग गरिएको थिएन । बरू पर्दापछाडि बसेर राजनीतिक घटनाक्रम प्रभावित गर्ने, स्थापित व्यवस्थालाई चुनौती दिने र विद्रोहको वातावरण बनाउने रहस्यमय पात्रको अर्थमा यसको प्रयोग गरिएको थियो ।

अहिले भने प्रधानमन्त्री स्वयंले त्यही नामको गीत आफ्नो सामाजिक सञ्जालमा प्रयोग गरेका छन् । आलोचकले दिएको नकारात्मक संज्ञालाई उनले व्यंग्यात्मक रूपमा स्वीकार गरेका छन् । अर्कोतिर उनले आफ्नो विद्रोही छविलाई थप स्थापित गर्न खोजेका हुन् भन्ने प्रश्न स्वाभाविक पनि छ ।

तर बालेनसँग जोडिएको यो शब्द बुझ्नुअघि लुसिफर वास्तवमा को हुन् ? बाइबलमा उनको उल्लेख कसरी गरिएको छ ? उनी कसरी सैतानको पर्याय बने ? बुझ्नु आवश्यक छ।

सौरभले बालेनलाई किन भने ‘लुसिफर’?

नेपालको राजनीतिमा लुसिफर शब्दलाई बालेन शाहसँग जोडेर चर्चामा ल्याउने व्यक्ति लेखक तथा राजनीतिक विश्लेषक सौरभ हुन् । टेलिभिजन प्रस्तोता टीकाराम यात्रीसँगको एक टेलिभिजन अन्तर्वार्तामा उनले बालेनलाई संकेत गर्दै ‘लुसिफर’ शब्द प्रयोग गरेका थिए ।

त्यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्चा भयो । बालेनको कालो पहिरन, कालो चस्मा, सार्वजनिक रूपमा कम उपस्थित हुने शैली र राजनीतिमा देखिएको प्रभावलाई लुसिफरको प्रतीकसँग जोडेर व्याख्या गर्न थालियो ।

सौरभको अभिव्यक्तिमा लुसिफरलाई केवल धार्मिक पात्रका रूपमा प्रस्तुत गरिएको थिएन । त्यसलाई एउटा यस्तो शक्तिको प्रतीकका रूपमा व्याख्या गरिएको थियो, जो प्रत्यक्ष रूपमा अगाडि नदेखिए पनि घटनाक्रमलाई प्रभावित गर्न सक्छ। आफूलाई उज्यालो र परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गर्ने तर स्थापित शक्तिका लागि चुनौती बन्ने चरित्रका रूपमा पनि यसको चर्चा भयो ।

बालेनसँग यो उपमा जोडिनुको अर्को कारण उनको फरक राजनीतिक शैली थियो । उनी परम्परागत दलका नेता थिएनन् । न त लामो समयसम्म कुनै राजनीतिक संगठनको संरचनाभित्र बसेर शक्ति आर्जन गरेका व्यक्ति नै थिए । इन्जिनीयरिङ पृष्ठभूमिका उनी र्‍याप संगीतबाट सार्वजनिक परिचय बनाउँदै राजनीतिमा आएका थिए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाण्डु महानगरपालिकाको मेयर जितेपछि उनको राजनीतिक यात्राले निरन्तर गति लियो ।

स्थापित राजनीतिक दलका उम्मेदवारहरू केशव स्थापित सहितलाई पराजित गरेर महानगरको नेतृत्वमा पुगेका उनले सुरुदेखि नै परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैली अपनाए । दलका नेताहरूसँग सहज सम्बन्ध नबनाउने, सार्वजनिक मञ्चमा कम उपस्थित हुने, सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने र सामाजिक सञ्जालबाट धारणा सार्वजनिक गर्ने उनको शैली रह्यो ।

उनका समर्थकले यसलाई पुरानो राजनीतिक संस्कार विरुद्धको विद्रोह र नयाँ पुस्ताको प्रतिनिधित्व माने । आलोचकहरूले यसलाई जवाफदेहिताबाट पन्छिने र संस्थागत संवादलाई कमजोर बनाउने प्रवृत्तिका रूपमा व्याख्या गरे ।

यही २ विपरीत राजनीतिक व्याख्याबीच बालेनको व्यक्तित्व स्थापित हुँदै उचाइतिर गयो । उनका समर्थकका लागि उनी पुरानो व्यवस्थालाई चुनौती दिने साहसी पात्र बने । आलोचकका लागि उनी अप्रत्याशित, रहस्यमय र कतिपय अवस्थामा अराजक राजनीतिक चरित्रका रूपमा उभिए ।

को हुन् लुसिफर ? बाइबलले के भन्छ ?

लुसिफर शब्द ल्याटिन भाषाबाट आएको हो । यसको अर्थ ‘प्रकाश ल्याउने’ वा ‘उज्यालो बोक्ने’ भन्ने हुन्छ । खगोलीय अर्थमा यसले बिहानीको तारा अर्थात् शुक्र ग्रहलाई पनि जनाउँछ ।

सूर्योदय हुनुअघि पूर्वी आकाशमा चम्किने शुक्र ग्रहलाई प्राचीन समयमा नयाँ दिनको आगमनको संकेतका रूपमा हेरिन्थ्यो । त्यसैले प्रकाश र बिहानीसँग जोडिएको यो शब्दको मूल अर्थ नकारात्मक थिएन ।

तर इसाई धार्मिक परम्परामा लुसिफरलाई परमेश्वरविरुद्ध विद्रोह गर्ने र स्वर्गबाट पतन भएको स्वर्गदूतका रूपमा व्याख्या गरियो । यही व्याख्याका कारण पछि लुसिफर शैतान अर्थात् शैतानको अर्को नामका रूपमा प्रचलित भयो ।

यसको मुख्य आधार बाइबलको पुरानो नियमअन्तर्गत पर्ने यशैया ग्रन्थको १४औँ अध्याय हो । विशेषगरी यशैया १४:१२ मा ‘बिहानीको तारा, प्रभातको पुत्र’ भन्ने अर्थ लाग्ने अभिव्यक्ति प्रयोग गरिएको छ ।

तर यहाँ एउटा महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक तथ्य पनि छ। बाइबलको मूल हिब्रू पाठमा लुसिफर कुनै व्यक्तिको नामका रूपमा आएको छैन । त्यहाँ ‘हेलेल बेन शाचर’ भन्ने अभिव्यक्ति छ । यसको अर्थ ‘चम्किलो तारा, प्रभातको पुत्र’ अथवा ‘बिहानीको उज्यालो’ भन्ने लाग्छ ।

पछि पुरानो नियमलाई ल्याटिन भाषामा अनुवाद गर्दा ‘लुसिफर’ भनियो। ल्याटिन भाषाको उक्त शब्दले प्रकाश ल्याउने वा बिहानीको तारा भन्ने अर्थ दिन्थ्यो । सन् १६११ मा प्रकाशित किङ जेम्स बाइबलमा पनि यही शब्द प्रयोग भएपछि अंग्रेजी भाषामा लुसिफरलाई सैतानको नामका रूपमा बुझ्ने परम्परा थप चर्चित बन्यो । अर्थात् लुसिफर नामको उत्पत्ति र त्यसलाई सैतानसँग जोड्ने धार्मिक व्याख्या एउटै कुरा होइनन् ।

स्वर्गको उज्यालोबाट पतनको कथा

इसाई धर्मको प्रचलित धार्मिक व्याख्याअनुसार लुसिफर सुरुमा परमेश्वरका शक्तिशाली, सुन्दर र बुद्धिमान् स्वर्गदूत थिए । कतिपय धार्मिक परम्पराले उनलाई उच्च तहका करूब अर्थात् परमेश्वरको उपस्थितिसँग जोडिएका विशेष स्वर्गदूत चित्रण गर्छन् ।

उनीसँग असाधारण सौन्दर्य, ज्ञान र शक्ति थियो । तर यहीँ शक्ति र प्रतिष्ठाले उनमा अहंकार जन्माएको धार्मिक कथा छ । उनले आफूलाई प्राप्त स्थान र अधिकारबाट सन्तुष्ट नभई परमेश्वरभन्दा माथि उठ्ने इच्छा राख्न थाले । स्वर्गमा आफ्नो सिंहासन स्थापना गर्ने र सर्वोच्च शक्ति बन्ने महत्वाकांक्षा राखे । बाइबलको यशैया १४:१३–१४ मा यसै प्रकारको घमण्डी आकांक्षालाई चित्रित गरिएको छ ।

प्रचलित इसाई व्याख्यामा लुसिफरले अन्य स्वर्गदूतलाई समेत आफ्नो पक्षमा पारेर परमेश्वरविरुद्ध विद्रोह गरे । तर उनको विद्रोह सफल भएन । परमेश्वरले उनलाई स्वर्गबाट पतन गराएपछि उनी सैतानका रूपमा चिनिन थाले ।

यद्यपि यो सम्पूर्ण घटनाक्रम बाइबलको कुनै एउटै अध्यायमा क्रमबद्ध रूपमा लेखिएको कथा होइन । यशैया १४ र इजकिएल २८ का रूपकात्मक वर्णन तथा नयाँ नियमका केही अंशलाई जोडेर पछिल्लो इसाई धार्मिक परम्पराले लुसिफर पतनको विस्तृत कथा बनाएको हो ।

यशैया १४ को मूल सन्दर्भमा भने बेबिलोनका राजाको अहंकार र पतनको व्यंग्यात्मक वर्णन गरिएको छ । आफूलाई अत्यन्त शक्तिशाली ठान्ने शासक कसरी पतन हुन्छ भन्ने देखाउन उनलाई आकाशबाट खसेको बिहानीको तारासँग दाँजिएको छ । यसरी हेर्दा लुसिफरको कथाको एउटा प्रमुख सन्देश अहंकार, शक्तिको दुरुपयोग र आफूलाई सर्वोच्च ठान्ने प्रवृत्तिको पतन हो ।

सैतानबाट लुसिफर ?

बाइबलमा सैतान र लुसिफरको उल्लेखलाई एउटै अर्थमा बुझ्ने परम्परा लामो धार्मिक व्याख्याको परिणाम हो । हिब्रू भाषाको ‘हा–सातान’ शब्दको अर्थ विरोधी वा आरोप लगाउने व्यक्ति भन्ने हुन्छ। पुरानो नियममा यो शब्द कतिपय ठाउँमा कुनै व्यक्तिको नामभन्दा पनि भूमिका वा उपाधिका रूपमा प्रयोग भएको छ ।

नयाँ नियममा भने सैतानलाई परमेश्वर र मानवजातिको विरोध गर्ने दुष्ट शक्तिका रूपमा प्रस्तुत गरिएको छ। येशूले लुका १०:१८ मा शैतानलाई आकाशबाट बिजुलीजस्तै खसेको देखेको उल्लेख गरेका छन् ।

यशैयाको बिहानीको तारा र नयाँ नियममा उल्लेख भएको शैतानको पतनबीचको समानताले पछिल्लो इसाई व्याख्यालाई थप बल दिएको मानिन्छ । त्यसैले परम्परागत इसाई धर्मशास्त्रमा लुसिफरलाई परमेश्वरविरुद्ध विद्रोह गर्ने, अहंकारले भरिएको र अन्तत: आफ्नो शक्तिबाट पतन भएको सैतानका रूपमा मानिन्छ ।

तर बाइबलका मूल पाठलाई ऐतिहासिक सन्दर्भमा अध्ययन गर्ने विद्वानहरूले यशैया १४ को प्रसंग मुख्यत: बेबिलोनका राजाको पतनसँग सम्बन्धित रहेको तर्क गर्छन् । इजकिएल २८ मा टायरका राजाको घमण्ड र पतनलाई पनि बगैँचा, करूब र स्वर्गीय सौन्दर्यका रूपकमार्फत प्रस्तुत गरिएको छ ।

अर्थात् लोकप्रिय धार्मिक कथामा लुसिफर सैतानका रूपमा चिनिए पनि बाइबलको मूल पाठमा उनको नाम र जीवनकथा आज प्रचलित स्वरूपमा स्पष्ट लेखिएको  छैन ।

लुसिफरको चरित्रले के संकेत गर्छ ?

धार्मिक तथा सांस्कृतिक व्याख्यामा लुसिफरलाई केवल नराम्रो वा दुष्ट पात्रका रूपमा मात्र बुझिँदैन । उनको कथाले शक्ति, महत्त्वाकांक्षा, अहंकार, विद्रोह र पतनबीचको सम्बन्ध पनि देखाउँछ ।

लुसिफरको चरित्रमा मुख्यत: ४ वटा पक्ष देखिन्छन् । पहिलो, असाधारण शक्ति र क्षमता । उनी सुरुदेखि नै कमजोर पात्र थिएनन् । उनलाई उच्च स्थान, प्रतिष्ठा र शक्ति प्राप्त थियो ।

दोस्रो, आफूले पाएको स्थानप्रति असन्तुष्टि । आफू अरूभन्दा माथि हुनुपर्ने र अझ ठूलो शक्ति प्राप्त गर्नुपर्ने महत्त्वाकांक्षा उनमा विकसित भएको धार्मिक कथा छ ।

तेस्रो, विद्रोह । आफ्नो सीमालाई स्वीकार नगरी स्थापित सर्वोच्च सत्तालाई नै चुनौती दिने प्रवृत्ति उनको चरित्रको मुख्य पक्ष हो ।

चौथो, पतन । शक्ति र महत्वाकांक्षाको गलत प्रयोगले अन्तत: उनको पतन निम्त्यायो ।

यही कारण लुसिफरको नाम अहंकार, विद्रोह, शक्तिको दुरुपयोग र स्थापित व्यवस्थालाई चुनौती दिने चरित्रको प्रतीकका रूपमा साहित्य, दर्शन, संगीत र राजनीतिक भाष्यमा प्रयोग हुँदै आएको छ ।

तर विद्रोह गर्नु मात्रै लुसिफरको चरित्र होइन । त्यसको केन्द्रमा आफूलाई सर्वोच्च ठान्ने अहंकार र अरूमाथि आफ्नो इच्छा लाद्ने महत्वाकांक्षा पनि जोडिएको हुन्छ ।

बालेनको उदय : पुरानो राजनीतिक व्यवस्था विरुद्धको विद्रोह

लुसिफरको धार्मिक व्याख्यालाई नेपालको राजनीतिसँग जोड्दा बालेन शाहको राजनीतिक यात्रालाई हेर्नुपर्ने हुन्छ । २०७९ सालको स्थानीय निर्वाचनमा काठमाण्डु महानगरपालिकाको मेयर बनेका बालेन परम्परागत राजनीतिक दलहरूको संरचना बाहिरबाट उदाएका थिए । नेपालमा प्राय: नेताहरूको उदय कांग्रेस, एमाले र माओवादीका भ्रातृ संगठनबाट हुने गरेको थियो । तर उनी ती सबैभन्दा अलग बाटोबाट उदाए । २०७९ सालमा उनको जीत केवल महानगरपालिकाको नेतृत्व परिवर्तन थिएन । त्यो स्थापित राजनीतिक दलहरूप्रति बढ्दै गएको असन्तुष्टि र नयाँ पुस्ताको राजनीतिक अपेक्षाको अभिव्यक्ति पनि थियो ।

इन्जिनीयरिङ पृष्ठभूमि, र्‍याप संगीतमा परिचय र सामाजिक सञ्जालमा प्रभावशाली उपस्थितिले उनलाई अरू राजनीतिकर्मीभन्दा फरक बनाएको थियो । मेयर बनेपछि उनले महानगर क्षेत्रमा सार्वजनिक सम्पत्ति अतिक्रमण, अव्यवस्थित संरचना, सडक व्यापार, फोहोर व्यवस्थापन र सार्वजनिक सम्पत्तिको प्रयोगजस्ता विषयमा कडा शैली अपनाए । उनका कतिपय निर्णयले प्रशंसा पाए भने कतिपयले विवाद निम्त्याए ।

संघीय सरकारसँग उनको पटक–पटक टकराव भयो । खासगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सधैं तनाव देखियो । महानगरमा जितेपछि बधाई थाप्न जाँदा तबला उपहार दिएका उनै ओलीलाई बालेनले २०८२ फागुन २१ गतेको चुनावमा हराइदिए । बालेनले त्यसअघि महानगरको अधिकार क्षेत्र, फोहोर व्यवस्थापन, सडक विस्तार र अन्य प्रशासनिक विषयमा केन्द्र सरकार तथा विभिन्न निकायसँग सार्वजनिक रूपमा असहमति जनाए । कतिपय अवस्थामा केन्द्र सरकारका कार्यालय अगाडि फोहोर नै फ्याँक्न लगाए ।

उनको कार्यशैलीसँगै अर्को विवादित पाटो पनि थियो । सार्वजनिक सुनुवाइ र संस्थागत संवादमा कम उपस्थिति, सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद नगर्ने र सामाजिक सञ्जालमार्फत एकतर्फी रूपमा धारणा सार्वजनिक गर्ने शैलीले उनको जवाफदेहितामाथि प्रश्न उठाइरह्यो ।

उनका समर्थकका लागि बालेन शैली पुरानो राजनीतिक संस्कारसँग सम्झौता नगर्ने अडान थियो । आलोचकका लागि भने सार्वजनिक पदमा बसेको व्यक्तिले संस्थागत उत्तरदायित्वबाट उम्किन नमिल्ने प्रश्नका रूपमा व्याख्या गरे ।

यसरी बालेनको राजनीतिक छवि २ विपरीत ध्रुवमा विकसित हुँदै अघि बढिरह्यो । एउटा पक्षले उनलाई परिवर्तनको आशा देख्ने नेतृत्वका रूपमा स्वीकार गर्‍यो । अर्को पक्षले उनलाई संस्थागत व्यवस्था र राजनीतिक जवाफदेहितालाई चुनौती दिने व्यक्तिका रूपमा आलोचना गरिरह्यो । उनलाई स्टन्ट गरेर देश बन्दैन भनेर आलोचना गर्ने ठूलो पंक्ति पनि समाजमा थियो । यही विरोधाभास, बहस र र विवादबीचले लुसिफरको उपमालाई नेपाली राजनीतिक बहसको केन्द्र बनाइदियो ।  

जेन–जी आन्दोलन : बालेनको निर्णायक मोड

बालेनलाई अहिले पनि कतिपय विश्लेषक र पुराना राजनीति शक्तिका कार्यकर्ताले लुसिफरसँग जोडेर हेर्ने कुरालाई थप बलियो बनाउने घटना २०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन थियो ।

भ्रष्टाचार, कुशासन, राजनीतिक नेतृत्वको विलासी जीवनशैली र एकैपटक तत्कालीन ओली सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवा पुस्ताले आन्दोलन थालेको थियो । सुरुमा सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको प्रदर्शन बिस्तारै राजनीतिक जवाफदेहिताको ठूलो आन्दोलनमा रूपान्तरण भयो ।

भदौ २३ गते काठमाण्डुको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर क्षेत्रमा पुगेपछि हिंसात्मक बन्यो । प्रहरीले चलाएको गोली लागेर काठमाण्डुमा १७ जनाको मृत्यु भयो । सुनसरीको इटहरीमा पनि २ जनाको मृत्यु भयो ।

युवा र विद्यार्थीहरूको मृत्युपछि आन्दोलन झन् देशभर चर्कियो । भोलिपल्ट अर्थात् भदौ २४ गते देशभर प्रदर्शन र हिंसात्मक गतिविधि फैलियो । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय शीतल निवास, राजनीतिक दलका कार्यालय तथा नेताहरूका निजी निवासमा आगजनी र व्यापक तोडफोड भयो ।

त्यसदिन नेपालको राज्य संरचनामाथि नै गम्भीर आक्रमण भयो । सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति र निजी व्यवसायमा ठूलो क्षति पुग्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अवस्था आयो । उनलाई सेनाले हेलिकप्टरबाट भगाएर मकवानपुर लगेर राख्नुपर्‍यो । राष्ट्रपति रामचन्द्र पौडेललाई समेत सेनाले शीतल निवासबाट अन्यत्र लगेर सुरक्षा दियो । अन्य कैयौं नेताहरू सेना र प्रहरीको व्यारेकमा शरण लिन बाध्य भए ।  

यसरी सुरु भएको आन्दोलनले नेपालको राजनीतिक सत्ता संरचनामै ठूलो परिवर्तन ल्याइदियो । देशमा संविधान र संघीयता नै रहने नरहने जोखिम निम्तियो । त्यसबेला २ दिन व्यापक विध्वंसपछि सेनाको पनि पहलमा भदौ २७ गते तत्कालीन संसद् विघटन गरेर सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइयो । उही बेला राष्ट्रपति पौडेलले बडो सोचेर संविधान र संघीयताको रक्षा गर्न सफल भएको बताए । त्यसबेला संसद् विघटनको एजेन्डा उठाउने नै उनै बालेन थिए ।

यो आन्दोलनका बेला बालेनको भूमिका पनि बहसको विषय बन्यो। उनी स्वयम् सडकमा प्रदर्शनकारीका रूपमा निस्किएका थिएनन् । तर सामाजिक सञ्जालबाट आन्दोलनलाई समर्थन गरेर कतै बसे । भदौ २३ गतेको घटनापछि उनले तत्कालीन प्रधानमन्त्री ओलीको कडा आलोचना गरे ।

भदौ २४ गतेको विध्वंसका क्रममा भने उनको प्रत्यक्ष भूमिका के थियो भन्ने विषयमा विभिन्न दाबी र प्रतिदाबी अझै चलिरहेका छन् । तर उनी सार्वजनिक रूपमा दुवै दिन कहीँकतै देखिएनन् ।

आन्दोलनपछि उनले भदौ २३ र २४ गते आफ्नो निवासमै रहेको बताएका थिए । शान्तिपूर्ण प्रदर्शनलाई समर्थन गरे पनि आफू आन्दोलनमा प्रत्यक्ष सहभागी नभएको उनको भनाइ थियो । राष्ट्रपति र प्रधानसेनापतिको आग्रहमा आन्दोलन शान्त पार्न भूमिका खेलेको पनि उनले बताए ।

उनले महानगरका दमकल तथा अन्य संयन्त्र परिचालन गरेर सरकारी संरचनामा गरिएको आगजगी नियन्त्रणमा सहयोग गरेको बताएका थिए । त्यसैगरी राज्यका संरचनामा भएको क्षतिको जिम्मेवारी तत्कालीन सरकार र त्यसमा सहभागी राजनीतिक दलहरूले लिनुपर्ने उनको तर्क थियो ।

यसको अर्थ जेन–जी आन्दोलनका क्रममा भएका सबै आगजनी र विध्वंसको जिम्मेवारी बालेनले स्वीकार गरेका थिए भन्ने होइन । आन्दोलनमा उनको भूमिका र आन्दोलनपछिको राजनीतिक प्रक्रियामा रहेको प्रभावबारे अझै बहस जारी छ। उनले जेन–जी आन्दोलनमा हाइज्याक गरेको आरोप ती २ दिन सडकमा निस्किने आन्दोलनकारी नै लगाइरहेका छन् । आन्दोलनमा मारिएकालाई श्रद्धाञ्जलि दिन नगएको विषयले पनि उनी त्यसबेला आलोचनामा परे ।

तर यही घटनाक्रमले बालेनको राजनीतिक प्रभावलाई नयाँ उचाइमा पुर्‍यायो । पुरानो सत्ता ढलेपछि नयाँ राजनीतिक व्यवस्थाको खोजी भइरहेका बेला उनको नाम अन्तरिम प्रधानमन्त्रीका रूपमा प्रस्तावित भयो । तर उनले अन्तरिम प्रधानमन्त्री हुन स्वीकार गरेनन् ।

प्रधानमन्त्री बन्ने प्रस्तावदेखि सत्ताको केन्द्रसम्म

जेन–जी आन्दोलनपछि तत्कालीन राजनीतिक संरचना भत्किएको अवस्थामा नयाँ नेतृत्वको खोजी सुरु भयो । युवा पुस्ताका विभिन्न समूहले बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारे ।

त्यसबेला उनको नाम प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा रूपमा चर्चामा आएको थियो । तर उनले तत्काल प्रधानमन्त्री बन्ने प्रस्ताव स्वीकार गरेनन् । उनले प्रतिनिधिसभा विघटन र नयाँ राजनीतिक प्रक्रियाको विषयलाई महत्त्व दिए । अन्तत: पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भयो ।

बालेनले त्यसबेला प्रधानमन्त्री पद स्वीकार नगरेको घटनालाई उनका समर्थकले सत्ता मोहभन्दा राजनीतिक परिवर्तनलाई प्राथमिकता दिएको रूपमा व्याख्या गरे । आलोचकहरूले भने नेतृत्व गर्ने अवसर आउँदा जिम्मेवारी नलिई पर्दापछाडि बसेर राजनीतिक प्रभाव राख्न खोजेको आरोप लगाए ।

यहीँबाट सौरभले प्रयोग गरेको लुसिफर उपमाको राजनीतिक अर्थ थप गहिरियो । धार्मिक कथामा लुसिफर प्रत्यक्ष रूपमा परमेश्वरको सिंहासन खोस्न चाहने पात्रका रूपमा व्याख्या गरिन्छ । नेपालको राजनीतिक बहसमा बालेनलाई दिइएको उपमामा भने उनी प्रत्यक्ष नेतृत्वमा नआएर पनि घटनाक्रमलाई प्रभावित गर्न खोज्ने व्यक्तिका रूपमा चित्रित गरिए ।

यो तुलना धार्मिक कथाको तथ्यगत समानता होइन, राजनीतिक व्यंग्य र आलोचनाको एउटा शैली मात्रै थियो । तर देशमा त्यसपछि विकसित राजनीतिक घटनाक्रममा बालेन स्वयम् सत्ताको नेतृत्वमा पुगे । पुस १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भएको ७ बुँदे सहमतिले उनलाई देशको युवा प्रधानमन्त्री हुने बाटो खोलिदियो । अर्थात् फागुन २१ गते भएको निर्वाचनमा उनले झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री ओलीलाई हराएर आफैं प्रधानमन्त्री हुने बाटो खोले । त्यसपछि २०८२ चैत १३ गते उनी देशको प्रमुख कार्यकारी पद सम्हाल्न पुगे। उनै प्रधानमन्त्रीले सोमबार लुसिफर गीत सहितको फोटो फेसबूकमा हालेर त्यो उक्तिलाई अंगिकार गरेको सन्देश दिए । उनी अब केवल विद्रोही वा वैकल्पिक राजनीतिक पात्रका रूपमा होइन, राज्य सञ्चालनको जिम्मेवारी बोकेको प्रधानमन्त्रीका रूपमा यतिबेला बालुवाटार र सिंहदरबारमा ओहोरदोहोर गरिरहेका छन् ।

आलोचकको उपमा, प्रधानमन्त्रीको फेसबूक पोस्ट

यही पृष्ठभूमिमा सोमबार सार्वजनिक भएको बालेनको फेसबूक पोस्टलाई हेर्नुपर्छ । उनले अमेरिकी र्‍यापर जे–जीको ‘लुसिफर’ गीतलाई पृष्ठभूमिमा राखेर आफ्नो नयाँ लुक्स सार्वजनिक गरेका छन्।  गीतको शीर्षक त्यही हो, जसले केही समयअघि नेपाली राजनीतिमा उनको नामसँग विवादास्पद रूपमा सम्बन्ध बनाएको थियो । यो पोस्टले एउटा रोचक राजनीतिक प्रश्न उठाएको छ । कुनै व्यक्तिलाई आलोचकले दिएको नकारात्मक उपमालाई उसैले सार्वजनिक रूपमा प्रयोग गर्नुको अर्थ के हुन्छ ?

यसबाट सम्भावित केही अर्थ लाग्छन् ।

पहिलो, आलोचनालाई व्यंग्यमा बदल्ने प्रयास । आफूलाई लुसिफर भनेर आलोचना गर्नेहरूलाई त्यही शब्द प्रयोग गरेर जवाफ दिन खोजिएको हुन सक्छ । अर्थात् अरूले दिएको उपमाबाट आफू प्रभावित नभएको सन्देश दिन खोजिएको हुन सक्छ ।

दोस्रो, विद्रोही छविको आत्मसात् । बालेनको राजनीतिक पहिचान नै परम्परागत व्यवस्थाविरुद्ध उभिने व्यक्तिका रूपमा बनेको छ। यस्तो अवस्थामा लुसिफर शीर्षकको गीत प्रयोग गर्नु आफ्नो विद्रोही छविलाई सांकेतिक रूपमा प्रस्तुत गर्ने शैली हुन सक्छ ।

तेस्रो, सामाजिक सञ्जालमा राजनीतिक सन्देश दिने उनको पुरानै शैलीको निरन्तरता । उनी लामो राजनीतिक भाषणभन्दा छोटो पोस्ट, तस्वीर र सांकेतिक अभिव्यक्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्न रुचाउने नेताका रूपमा परिचित छन् । उनको विगतको राजनीतिक छवि र लुसिफर उपमासँगको सम्बन्धका कारण यो पोस्ट सामान्य तस्वीरभन्दा बढी चर्चाको विषय बनेको छ ।

लुसिफर र बालेन : कहाँ मिल्छ, कहाँ मिल्दैन ?

लुसिफरको कथालाई बालेनको राजनीतिक यात्रासँग जोडेर हेर्दा केही प्रतीकात्मक समानता भेट्न सकिन्छ । लुसिफरको कथा शक्ति र प्रतिष्ठाबाट सुरु हुन्छ । उनी उच्च स्थानमा थिए । तर आफूले पाएको स्थानबाट सन्तुष्ट नभई सर्वोच्च शक्ति बन्ने महत्त्वाकांक्षा राखेको धार्मिक व्याख्या छ ।

बालेनको राजनीतिक यात्रा भने स्थापित पुराना दलहरूको प्रभावलाई चुनौती दिँदै सुरु भएको हो । उनले पुरानो राजनीतिक संस्कारविरुद्ध विद्रोही छवि बनाए । त्यसैले उनका आलोचकले उनलाई लुसिफरको प्रतीकसँग जोडे ।

लुसिफर धार्मिक मान्यतामा परमेश्वरविरुद्ध विद्रोह गर्ने दुष्ट शक्तिका रूपमा चिनिन्छन् । बालेन भने लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित र पछि प्रधानमन्त्री बनेका राजनीतिक व्यक्ति हुन् । उनको कार्यशैलीको मूल्यांकन राजनीतिक उत्तरदायित्व, संविधान, कानुनी शासन र सार्वजनिक परिणामका आधारमा हुनुपर्छ ।

उनका समर्थकका लागि पुरानो व्यवस्था विरुद्धको विद्रोह परिवर्तनको संकेत हो । आलोचकका लागि संस्थागत संवाद र जवाफदेहिताको अभाव लोकतान्त्रिक व्यवस्थाका लागि चुनौती हो । लुसिफरको कथाले एउटा गम्भीर राजनीतिक प्रश्न पनि उठाउँछ । परिवर्तनको नाममा स्थापित व्यवस्था चुनौती दिनु र आफूलाई नै व्यवस्थाभन्दा माथि राख्नु अलग कुरा हुन् ।

लोकतन्त्रमा पुरानो व्यवस्थाको आलोचना गर्न पाइन्छ । सत्ताको विरोध गर्न पाइन्छ । स्थापित राजनीतिक शक्तिलाई चुनौती दिन पाइन्छ । तर सत्ता प्राप्त गरेपछि त्यही सत्तालाई जवाफदेही बनाउने संस्थागत प्रणालीको सम्मान गर्नुपर्ने हुन्छ ।

विद्रोही छवि बनाएर सत्तामा पुग्नु एउटा कुरा हो । सत्तामा पुगेपछि आफ्नो शक्ति र अधिकारको सीमा स्वीकार गर्नु अर्को कुरा हो । लुसिफरको कथाको मूल चेतावनी पनि यही हो । शक्ति प्राप्त गर्नु र त्यसको सही प्रयोग गर्नु एउटै कुरा होइन । अहंकारले शक्तिलाई नियन्त्रण गर्न खोज्दा पतनको बाटो खुल्न सक्छ ।

बालेनको पछिल्लो फेसबूक पोस्टले उनलाई लुसिफर भन्ने पुरानो राजनीतिक बहस फेरि सतहमा ल्याएको छ । कुनै समय आलोचकले प्रयोग गरेको शब्द अहिले प्रधानमन्त्रीकै सामाजिक सञ्जालमा देखिएको छ । यसलाई उनको विद्रोही राजनीतिक छविको निरन्तरता मान्न सकिन्छ । आलोचकको उपमालाई व्यंग्यात्मक रूपमा प्रयोग गरेको अर्थमा पनि बुझ्न सकिन्छ । तर यसको वास्तविक आशय भने उनले नै स्पष्ट पार्ने छन् ।

यद्यपि अहिले बालेनको राजनीतिक यात्रा मेयर पदको प्रतिस्पर्धा वा पुराना दलहरूसँगको टकरावमा सीमित छैन । उनी देशकै कार्यकारी प्रधानमन्त्री छन् । त्यसैले उनको मूल्यांकन अब विद्रोही शैली, कालो चस्मा, फेसबूक पोस्ट वा सांकेतिक गीतका आधारमा मात्रै हुन सक्दैन । जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, जवाफदेहिता र राज्यको पुन:संरचनासम्बन्धी अपेक्षा पूरा गर्नु उनको वास्तविक राजनीतिक परीक्षा हो।

बाइबलको लुसिफर कथा एउटा प्रतीकात्मक चेतावनी हो । प्रकाशबाट सुरु भएको पात्र अहंकार र शक्तिको असीमित महत्वाकांक्षाका कारण पतन भएको धार्मिक व्याख्या छ । बालेनको हकमा उनी कस्तो राजनीतिक चरित्रका रूपमा इतिहासमा स्थापित हुन्छन् भन्ने कुरा उनको सामाजिक सञ्जालको एउटा गीतले होइन, प्रधानमन्त्रीका रूपमा उनका निर्णय, राज्य सञ्चालन शैली, नागरिकप्रतिको जवाफदेहिता र लोकतान्त्रिक संस्थाप्रतिको व्यवहारले निर्धारण गर्नेछ ।

उनले संसद्प्रति देखाएको बेवास्ताले भने गम्भीर प्रश्न जन्माइसकेको छ । पछिल्लो समय एकपछि अर्को सरकारी संयन्त्रमा देखिएको हस्तक्षेपले विवाद निम्त्याइरहेको छ । आखिर विद्रोह गरेर सत्तामा पुग्नु राजनीतिक यात्राको एउटा चरण मात्रै हो । सत्तामा पुगेपछि आफूले चुनौती दिएको व्यवस्थाभन्दा फरक र उत्तरदायी शासन दिन सक्नु उनको वास्तविक परीक्षा मानिएको छ ।