कर्मचारी-भूमाफिया मिलेमतोमा बेचियो मैतीदेवी मन्दिरको जग्गा


काठमाडौं – गुठीयार र मालपोत कर्मचारीको मिलेमतोमा मैतीदेवी मन्दिरको जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएको छ । जसका कारण मन्दिरको जग्गा मासिँदै गएको छ । नवदुर्गामध्येकी एक महŒवपूर्ण शक्तिपीठ मैतीदेवीको नाममा रहेको गुठी तथा निजी गुठीका नाममा रहेका जग्गा गुठीयार तथा भूमाफियाको चलखेलका कारण मासिँदै गएको हो ।

मन्दिरका गुठीयारले जग्गालाई निजी नाममा ल्याई विभिन्न व्यक्तिलाई भोगचलन गर्न दिएको प्रमाण राजधानीले फेला पारेको छ । यसरी मन्दिरको जग्गा व्यक्तिकोमा जानुमा मालपोत कार्यालयको भूमिका शंकास्पद देखिएको छ । ३ भदौ २०५० मा मन्दिरको नाममा लालपुर्जा रहेको कित्ता नम्बर ९४ अन्तर्गत १५ आना २ पैसा जग्गा देवनारा मुनिकारको नामबाट सानुमाया मुनिकारले भोगचलनको अनुमति पाएको देखिन्छ । यद्यपि, मन्दिरको नाममा लालपुर्जा रहेकाले भोगचलनका लागि मन्दिरले स्वीकृति दिनुपर्ने हुन्छ ।

हाल सो कित्ता तीन व्यक्तिका नाममा कित्ताकाट भई गएको मालपोत कार्यालयको तथ्यांकले देखाउँछ । यसरी मन्दिरको नाममा रहेको जग्गा कब्जा गर्न भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो देखिएको छ । मन्दिर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पाएको मैतीदेवी क्षेत्र प्रबन्ध समितिका तत्कालीन सदस्य सचिव मोहनबहादुर श्रेष्ठले भूमाफियाका कारण मन्दिरको जग्गा मासिँदै गएको र यसमा भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो रहेको दाबी गरे ।

कित्ता नम्बर ३६० : अतिक्रमण गरी नक्सापासबिनै घर

गुठी संस्थान मैतीदेवीको नाममा रहेको कित्ता नम्बर ३६० अन्तर्गतको एक रोपनी ९ आना १ पैसा तीन दाम जग्गामा समेत नक्सापासबिनै घर बनाइएको छ । कित्ता नम्बर ३६८ र ३६९ को दक्षिणतर्फको जग्गामा पश्चिम साँधबाट मूल सडकतर्फको १ आना २ पैसा जग्गा अतिक्रमण गरी नक्सापासबिनै घर बनाएको पाइएको देखिन्छ ।

मैतीदेवी क्षेत्र प्रबन्ध समितिले विभिन्न मितिमा नक्सापास र जग्गाको यथार्थ जानकारी माग गर्दै रोक्काका लागि निवेदनसमेत दिएको थियो । समितिको कदमपछि विभिन्न व्यक्तिले मन्दिर क्षेत्रमा लागू गरेको गुरुयोजनालाई प्रभावित पार्ने गरी अदालतमा मुद्दा दायर गरेका थिए । तत्पश्चात् पुनरावेदन अदालत पाटनले मन्दिरको पक्षमा फैसला गरेको थियो । तर, कनकजंग थापाले अदालतकको आदेश समेतलाई अटेर गर्दै आएका छन् ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement