‘किङफिसर’ ताल पुनर्निर्माणमा जुट्दै सेना


चितवन – नेपाली सेनाले उच्च प्राथमिकतामा राखेर चितवनको भरतपुर महानगरपालिका–६ केसरवागस्थित ‘किङफिसर’ तालको पुनर्निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ मा तालतलैया संरक्षण र पुनर्निर्माणको महत्वपूर्ण परियोजनाका रूपमा सेनाले उक्त कार्य गर्न लागेको हो ।

किङफिसर भन्ने चरा त्यस स्थानमा आएर चरीचरन गर्ने क्रममा माछा खाने गरेकाले उक्त तालको नाम किङफिसर ताल राखिएको भनाइ छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनको नेतृत्व सम्हालेलगत्तै ‘सफा ताल तथा नदी अभियान’ मार्फत तालतलैयाको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । नेपाली सेनाले कैलालीको कोइलही ताल, रुपन्देहीको गजेडी, बर्दियाको बढैया, सिरहाको कमल र देवी, सुनसरीको बर्जु, सप्तरीको ठाकुर–बाबालगायतका तालतलैयाको पुनर्निर्माण गरी यसअघि नै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।

किङफिसर ताल मुलुकमा रहेका पाँच हजार ३५८ तालमध्ये निकै चर्चा पाउँदै आएको एक महत्वपूर्ण ताल हो । पूर्वपश्चिम राजमार्गको हाकिमचोकबाट सात किलोमिटर दक्षिण, खगेरी दह पश्चिम तथा बीसहजारी ताल नजिक अवस्थित उक्त ताल मानव निर्मित हो ।

नवज्योति सामुदायिक वन मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सहयोगमा विसं २०६२ मा पुनर्निर्माण गरिएको उक्त तालमा पानीको स्थायित्वका लागि बीचबीचमा बाँध लगाइएको छ । बाँधले छुट्याएअनुसार किङफिसर एक, दुई, तीन र चार नामकरण गरिएको उक्त ताल निर्माणका लागि वन मन्त्रालयअन्तर्गत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिबाट चालु आर्थिक वर्षमा रु एक करोड ८५ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ ।

पुनर्निर्माणलाई वस्तुवादी र व्यावहारिक तुल्याउन स्थानीयवासीसँग छलफल गरी हाल विस्तृत कार्ययोजनासमेत तयार गरी किङफिसर १ र २ को काम यसै आर्थिक वर्षभित्र पूरा गर्ने उद्देश्यका साथ बोलपत्र आह्वान भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

केही वर्षदेखि चौरमा परिणत भएको र त्यस क्षेत्रको वैभव बोकेको उक्त ताल पुनर्निर्माणका लागि स्थानीयवासीले पटकपटक आग्रह गरेपछि सैनिक नागरिक सम्बन्धको नमूना कार्य बनाउने उद्देश्यले किङफिसर ताल निर्माणलाई प्राथमिकता दिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन (२०७६) अनुसार उक्त जिल्लामा राष्ट्रिय निकुञ्जभित्र ३७ र मध्यवर्ती क्षेत्रभित्र २१ गरी ५८ वटा साना तथा ठूला ताल तथा घोल रहेका छन् । ताल निर्माणपछि त्यस क्षेत्रमा रहेका लोपोन्मुख जलीय प्राणीको संरक्षणका साथै पर्यावरणीय सन्तुलनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

ताल निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले त्यस क्षेत्रमा व्यापार व्यवसाय र चहलपहल बढने स्थानीयवासीको भनाइ छ । उक्त ताल पुनर्निर्माणका लागि कालीप्रसाद गण (ई) लाई सेनाले व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

उक्त परियोजनाअन्तर्गत पुरिएको अवस्थामा रहेको ताल सफा गरिनुका साथै वरिपरि पैदल मार्ग निर्माण गरिनेछ । तालको बीचमा चेक बाँध पनि बनाइनेछ । त्यहाँ अवस्थित शिव मन्दिरदेखि तालसम्म जाने बाटोलाई व्यवस्थित गरिने पनि निर्देशनालयले जानकारी दिएको छ । निर्माणको जिम्मेवारी पूरा गरेसँगै सेनाले उक्त ताल स्थानीय निकायलाई हस्तान्तरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement