आर्थिक कूटनीतिको मस्यौदा तयार :कुन देशसँग कस्तो सम्भावना ?


काठमाडौं – सरकारले आर्थिक कूटनीति सञ्चालनका लागि देशगत रणनीतिको मस्यौदा तयार गरेको छ । परराष्ट्र मन्त्रालयले गठन गरेको देशगत रणनीति तर्जुमा कार्यदलले तयार गरेको मस्यौदामाथि अन्तिम चरणको छलफल भइरहेको छ । कुन देशसँग कस्तो आर्थिक सम्बन्ध राख्दा त्यसले राष्ट्रलाई सबैभन्दा बढी फाइदा गर्छ भन्ने निक्र्योल गर्न यो रणनीति तयार गरिएको हो ।

नेपालको प्राथमिकतामा रहेका देश, अलगअलग देशसँगका आर्थिक सम्भावनाका क्षेत्र र आर्थिक कूटनीतिका आधार पनि रणनीतिमा पहिल्याइएको छ । विगतमा सबै नियोगलाई बजेट भाग लगाएर दिने, उस्तै कार्यक्रम सञ्चालन गर्ने र प्रतिफल नहुने भएकाले देश छानेर तीसँग अगलअलग आर्थिक सम्बन्ध सञ्चालन गर्न देशगत रणनीति तयार भएको हो ।

आर्थिक कूटनीतिका लागि देशगत रणनीतिको अन्तिम मस्यौदा सम्पादन भइरहेको छ । सम्पादन सकिएलगत्तै परराष्ट्र मन्त्रालयले जारी गर्छ -शंकरदास वैरागी ,परराष्ट्रसचिव

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निर्देशनअनुसार कार्यदलले अन्तिम मस्यौदा सरोकारवाला मन्त्रालय र विज्ञको सुझाब लिएर सम्पादन गरिरहेको छ । परराष्ट्रसचिव शंकरदास बैरागीले अन्तिम मस्यौदा सम्पादन भएलगत्तै मन्त्रालयले जारी गर्ने जानकारी दिए । उनका अनुसार मन्त्रीस्तरीय निर्णयबाट देशगत रणनीति कार्यान्वयनमा आउनेछ ।

परराष्ट्रमन्त्री ज्ञवाली उच्चस्तरीय आर्थिक कूटनीति अनुगमन तथा सञ्चालन समितिका संयोजक हुन् । समितिले आर्थिक देशगत रणनीति बनाउन कार्यदल गठन गरेको थियो, जसको संयोजन परराष्ट्रको नीति, योजना, विकास कूटनीति महाशाखाले गरेको छ । १६ जेठ ०७५ मा देशगत रणनीति तर्जुमा कार्यदलले विषयगत समूह गठन गरेर प्रतिवेदन तयार गरेको थियो । प्रस्तावित रणनीतिमा भारतलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसपछि चीन, बंगलादेश, अमेरिका, जापान र संयुक्त अधिराज्यसम्बन्धी रणनीति तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement