लिबिया संकट :भारतीय र अमेरिकी सेनाले मैदान छाडेपछि सुरक्षाको जिम्मेवारी नेपाली सेनाको काँधमा


एजेन्सी – अफ्रिकी राष्ट्र लिवियामा केही दिनदेखि विद्रोही समुह लिवियन नेसनल आर्मी (एलएनए) ले आक्रमक कारवाहीलाई तीब्र पार्दै राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि त्यहाँको सुरक्षा स्थिति तनावपूर्ण बन्दै गईरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग २२ चैत्रमा भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकूलाई निर्देशन दिएका थिए।

लिवियाको राजधानीमा चर्किएको संघर्षमा शान्ति स्थापनार्थ रहेका २३१ जना नेपाली शान्ति सेना सुरक्षित रहेको नेपाली सेनाले बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको वार्ता विफल भएपछि लिबियाली विद्रोही समूह ‘लिबियन नेसनल आर्मी’ ले राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले आफ्ना लडाकुलाई परिचालन गरेको छ। विद्रोही समूहले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहाँ तैनाथ भारतलगायत मुलुकका शान्ति सैनिक त्यहाँबाट फिर्ता भएका छन्।

भारतले शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ। अमेरिका र भारतका फौजसमेत हटाइएको अवस्थामा त्रिपोलीमा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षा जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ।
नेपाली सेनाले हाल राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा लिबिया शान्ति मिसनका प्रमुख घासन सलामेलगायतका कर्मचारीलाई आफ्नो सुरक्षा घेरामा राखेको छ। लिबियाली शान्ति मिसनमा २३१ नेपाली सैनिक तैनाथ रहेको बताइएको छ। यसैबीच त्रिपोलीमा भएको भिडन्तबाट बच्न दुई हजार ८०० भन्दा बढी परिवार विस्थापित भएको जनाइएको छ।

त्रिपोलीमा आपतकालिन सेवा र विद्युत सेवा समेत अवरुद्ध भएको लिबियास्थित राष्ट्रसंघीय मानवीय सहायता संयोजक मारिया रिबेइरोको भनाइ छ। आइतबार पनि त्रिपोली नजिक विद्रोही समूह र अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त सरकारको सेनाबीच भिडन्त भएको थियो। राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमणसमेत भएका थिए।

विद्रोहीले त्रिपोलीस्थित अन्तर्रा्ष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेपछि शान्ति मिसनमा कार्यरत केही कर्मचारीलाई सडक मार्गमार्फत छिमेकी राष्ट्र ट्युनिसिया पठाउने कार्य सुरु गरिएको राष्ट्रसंघलाई उद्धृत गर्दै विभिन्न अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सरकारी र विद्रोही पक्षका बीचमा द्वन्द्व सुरु भएपछि हालसम्म रेडक्रसका एक चिकित्सकसहित कैयौंले ज्यान गुमाएका छन् भने करिब २८ हजारले त्रिपोली छोडेका छन्। लिबिया सरकारले पछिल्लो लडाइँमा ३२ विद्रोही लडाकु मारिएको दाबी गरे पनि जनरल हफ्तारको फौजले भने १४ लडाकु मात्रै मारिएको बताएको छ। विद्रोहीले आक्रमणलाई तीव्र पार्दै राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि स्थिति तनावपूर्ण बन्दै गइरहेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सरकारी र विद्रोही पक्षबीच जारी लडाइँका कारण कैयौं सर्वसाधारण फसिरहेको र उनीहरू आपत्कालीन सेवाबाट पनि वञ्चित भइरहेको राष्ट्रसंघले जनाएको छ। अप्रिल ५ का दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस तथा विद्रोही नेता खलिफा हफ्तारबीच लिबियाको बेङ्घाजीमा भएको वार्ता निष्कर्ष्विहीन भएपछि विद्रोही समूहले आक्रमणलाई तीव्रता दिँदा पछिल्लो संकट उत्पन्न भएको हो। सन् २०११ मा तत्कालीन शासक मोहम्मर गद्दाफीलाई सत्ताच्यूत गरिएपछि लिबियामा दर्जनौं लडाकु समूहले गतिविधि सञ्चालन गरिरहेका छन, जसका कारण लिबिया सोही समयदेखि नै तनावग्रस्त रहेको छ।

पछिल्लो समय लिबियामा रहेको लडाकु समूह दुई समूहमा विभाजित भएका छन्। उनीहरू कि त त्रिपोली आधारित संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त गभर्नमेन्ट अफ नेसनल एकर्ड (जिएनए) मा आबद्ध छन् या त जनरल हफ्तार नेतृत्वको एलएनएमा आबद्ध रहेका छन्। कुनै समय गद्दाफीनिकट जनरल हफ्तार सन् २०११ मा अमेरिकाको निर्वासनबाट स्वदेश फर्किएर विद्रोही कमान्डर बनेका थिए। सन् २०१५ मा एकताबद्ध सरकार गठन गरिएको भए पनि देशमा नियन्त्रण जमाउने विषयमा शक्ति संघर्ष चर्किएदेखि नै लिबियाको राजनीति तनावयुक्त हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement