महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले


काठमाडौं – पाण्डुसैन अगाउँपानीका जय रोकाया मष्टा देवताका धामी हुन् । रोकायाले छाउ(महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे । महिनाबारी हुँनु दैबी शक्तिको खेल हो, धामीझाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिलालाई छुन हुँदैन भन्ने विश्वास रोकायासँग थियो ।

छाउ हुँदा महिलालाई घरमा सुताउनु धर्मविरोधी काम हो भन्ने मान्यता रोकायाको थियो । तिनै रोकाया अहिले छाउगोठ भत्काउन लाग्छन् भन्ने स्थानीयले सोचेका पनि थिएनन् । आमासहित दुई छोराको छाउगोठमा मृत्यु भएपछि रोकाया आफैं गोठ भत्काउन सक्रिय छन् ।

बुढीनन्दा नगरपालिकाले छाउगोठ नभत्काउने र कुप्रथालाई मान्यता दिने परिवारलाई सबै प्रकारका सुविधाबाट बञ्चित गर्ने निर्णयलाई उनीहरुले सहज स्वीकार गरेका छन् । रोकायासँगै घटाल देवताका धामी हरिलाल रोकाया पनि छाउगोठ भत्काउन सक्रिय भएका छन् ।

बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा रहेका ९ वटा छाउगोठ भत्काउन हरिलाल र जयलाल दुवैजना आफैं काममा खटिएका थिए । महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामी नै छाउगोठ भत्काउन सक्रिय भएपछि केही परिवर्तन हुने वडाध्यक्ष खड्ग बोहोराको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement