मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सक्दो पहल गर्छुः वनमन्त्री बस्नेत


काठमाडौं – सरकारले मानव–वन्यजुन्त द्वन्द्व न्यूनीकरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले चालू आर्थिक वर्षका लागि झापामा हात्ति करिडोर निर्माणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको स्मरण गराए ।

बुधबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले झापाका विभिन्न स्थानमा हुने जंगली हात्तिको अतिक्रमणलाई रोक्न हाल सरकारले जलथलमा हात्ति करिडोर निर्माण कार्य सुरु गरेको स्पष्ट पारे ।

त्यसैगरी जंगली हात्तिको प्रभाव क्षेत्रमा विद्युतीय तारबारसहितको व्यवस्थापनको काम सुरु गरिएको मन्त्री बस्नेतको भनाई छ । बैठकमा सांसद पवित्रा निरौला खरेलले झापामा जंगली हात्ति न्यूनिकरणका लागि आवश्यक बजेट र कार्यक्रमबारे जानकारी दिन मन्त्री बस्नेतसँग जिज्ञासा राखेकी थिइन् ।

त्यसको जवाफ दिने क्रममा मन्त्री बस्नेतले सो समस्या समाधानका लागि सरकारले युथ क्लव निर्माण गरेको, जनचेतनामूलक कार्यक्रमलाई अघि बढाएको बताए । मन्त्री बस्नेतले बर्दियामा हुने गरेका हात्ति आतंक न्यूनिकरणका लागि सरकारले हरेक वर्ष आवश्यक बजेट व्यवस्था गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

सांसद संजयकुमार गौतमले बर्दियामा भारतीय जंगलबाट आउने हात्तिले दुःख दिने गरेको भन्दै त्यसको समाधानका लागि के योजना छ ? भनि मन्त्री बस्नेतलाई प्रश्न गरे । मन्त्री बस्नेतले सांसदहरुले सोधेका प्र्र्रश्नको जवाफ दिँदै निजगढ अन्तराष्ट्रिय विमानस्थल वरपरको जंगलको जैविक मार्गको संरक्षण गर्न सरकार सचेत रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement