माओवादीको महासचिवमा विप्लवको ‘इन्ट्री’ कति सम्भव ?


काठमाण्डु – नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।मंगलबार खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पदाधिकारीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो ।

महाधिवेशन भएको ६ महिना वितिसक्दा पनि माओवादीले पार्टीका केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन् ।माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

माओवादीको पुस २० मा बसेको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुन अध्यक्ष निर्वाचित गरेको थियो । बाँकी केन्द्रीय सदस्य र पदाधिकारी पछि छान्ने तय भएपनि ६ महिनासम्म पदाधिकारीले पूर्णता पाएको छैन । बाँकी केन्द्रीय सदस्यहरुको टुंगो भने माओवादीले केहि दिनअघि लगाएको छ ।

पदाधिकारी छान्न नसकेको विषयमा पार्टीभित्र र बाहिर चर्को आलोचना भइरहेको छ । पार्टीभित्र धेरै आकांक्षी देखिएपछि पदाधिकारी चयनमा सकस भएको हो । प्रचण्डले निर्वाचन गराउन नचाहने र निर्णय पनि दिन नसक्दा पदाधिकारी चयनमा समस्या आएको माओवादीका एक नेताले बताए ।

माओवादी विधानमा केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन हुने व्यवस्था छ । तर, प्रचण्ड निर्वाचनबाट पदाधिकारी छान्ने पक्षमा देखिएका छैनन । उनले मंगलबारको बैठकमा सहमति मै पदाधिकारी टुंगो लगाउन प्रस्ताव गरेका थिए ।

‘बहुमत सदस्यले जारी केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंग्याउनुपर्ने मत राखेपछि अध्यक्ष प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राख्नुभएको छ,’ एक नेताले भने ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले दाबी गरेका छन् । यसबाहेक उपाध्यक्षमा गिरिराजमणि पोखरेल, गणेश साह, हरिबोल गजुरेल, देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, मातृका यादव आकांक्षी छन् ।

उपाध्यक्ष र सचिवमा खासै समस्या नभए पनि महासचिव पदमा भने प्रचण्डलाई मिलाउन चुनौती छ । माओवादीमा प्रचण्डपछिका दुई शक्तिशाली नेता छन्, उनीहरु हुन्–प्रचण्डका विश्वासपात्र मानिने वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ । दुबै जना महासचिवका मुख्य दाबेदार छन् ।

प्रचण्डले उनीहरूमध्ये एक जनालाई उपाध्यक्षमा जान आग्रह गरे पनि दुवैजना मान्न तयार छैनन् । उनीहरूले बरु निर्वाचनमा जान तयार तर महासचिवबाट पछाडि नहट्ने बताउँदै आएका छन् । दुवैले आफूलाई प्रचण्डको उत्तराधिकारी दाबी गर्दै आएका छन् । गुट र विभाजनबाट पार्टी कमजोर बनेको अवस्थामा प्रचण्ड शर्मा वा पुनमध्ये एकको पक्षमा बोल्न नसकेको माओवादीका एक नेताले बताए ।

शर्मा र पुन माओवादीभित्र दुई गुटको समेत नेतृत्व गर्छन् । नियुक्तिदेखि निर्वाचनमा उमेदवार चयनसम्म शर्मा र पुनको समेत भागबन्डा हुने गरेको छ । पछिल्लो समय जनवर्गीय संगठनमा पनि दुवै नेताहरू निकटलाई अवसर दिने गरिएको छ ।

कहिले शर्मा त कहिले पुनसँग देखिने प्रचण्डले खुलेर कसैको समर्थन गर्दैनन । नेताहरुको बुझाईमा प्रचण्डले कहिले वर्षमानलाई त कहिले जनार्दनलाई च्याप्दै आएका छन् । दुई नेतामध्ये एकलाई मात्र प्रचण्ड नजिक ल्याउन सक्दैनन् । तर दुवै मिलाउने भूमिका पनि प्रचण्डले खेल्दैनन् । दुवै नेता मिलेमा प्रचण्डले आफुलाई नै समस्या पर्नसक्ने आकलन गरेको नेताहरु बताउँछन् ।

कम्युनिष्ट पार्टीमा अध्यक्षपछि महासचिव महत्वपूर्ण पद हो । यो पदका लागि वर्षमान र जनार्दन नै बलिया दाबेदार हुन् । अहिले महासचिव बन्न सके यसअघि पार्टी नेतृत्वमा पुग्न सकिने दुवै नेताहरुको बुझाई छ ।

माओवादी केन्द्रीय समितिमा दुवै नेताहरुको हाराहारी नै पकड छ । तर प्रचण्ड जता खुल्छन् उनै महासचिव हुने सम्भावना बढी छ । दुई नेतालाई आपसमा नभिडाउने तर मिल्न पनि नदिने रणनीति उनको छ । दुई नेताकै कारण पदाधिकारी चयन अन्यौलमा छ । अहिले पनि वर्षमान एमालेसँग मिलेर चुनावमा जानुपर्ने पक्षमा देखिएका छन् भने जनार्दन अहिलेकै सत्ता गठबन्धन अगाडि बढाउनुपर्ने लाइनमा छन् ।

महासचिवबारे प्रचण्डले मुख खोलेका छैनन् । तर प्रचण्ड निकट नेताहरुका अनुसार उनले वर्षमानलाई महासचिवमा ल्याउन खोजेका छन् । यस्तो अवस्थामा जनार्दन उपाध्यक्षमा जानुपर्ने हुन्छ । तर उनी उपाध्यक्षमा पनि अटाउने सम्भावना कम छ । किनकी कृष्ण महरा लगायतले दावी गरेका छन् ।

वर्षमान र जनार्दनको तनावका बीच प्रचण्डले अर्को व्यक्तिलाई महसचिव प्रस्ताव गर्नसक्ने सम्भावना पनि छ । तर त्यो निकै पेचिलो हुनसक्छ । दुई नेताबीचको टकरावमा मौकामा चौका कृष्णबहादुर महराले हान्न सक्ने सम्भावना रहेको स्रोतले बतायो । यौन दुर्व्यवहारमा मुछिएपछि महराको राजनीतिक उचाई घटेको थियो । तर, हाल उनी पार्टीको प्रवक्ता छन् ।

महरा वर्षमान र जनार्दन दुवैभन्दा सिनियर हुन् । प्रचण्डले दुवै नेतालाई महासचिवको दौडबाट बाहिर राखेर महरालाई अगाडि सार्ने सम्भावना रहेको नेताहरु बताउँछन् । यसका लागि महराले पनि सक्रियता बढाएको स्रोतले बतायो ।

पार्टीभित्र वर्षमान र जनार्दनको टसलका बेला महरा प्रभाव जमाउन सफल हुँदै गएको माओवादीकै नेताहरु बताउँछन् । महरा अहिले प्रचण्डका विश्वासपात्र समेत रहेको एक नेताको दाबी छ । तीनै महराले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा फर्काएर महासचिव बनाउने भित्रभित्रै रणनीति बनाएका छन् ।

विप्लव माओवादीमा आए उनलाई महासचिव बनाएर आफु वरिष्ठ उपाध्यक्ष बन्ने महराको रणनीति छ । यस्तो अवस्थामा विप्लव–महरा र प्रचण्डको नयाँ समीकरण बन्नसक्छ । तर विप्लव नआएको अवस्थामा भने त्यो सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement