मापसे गरेर गाडी चलाउने बढे


काठमाडौं – प्रहरीले कडा कारबाही गर्दासमेत मादक पदार्थ सेवन (मापसे) गरी सार्वजनिक सवारीसाधन चलाउनेको संख्या घट्न सकेको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्रक, बस र भाडाका कारचालकले मापसे गरेर चलाउने गरेको भेटिएको छ । लामो दुरीमा चल्ने रात्रि बसका चालकसमेत मापसे गरेको अवस्थामा समातिएका छन् ।

महाशाखाको तथ्यांकअनुसार गएका ६ वर्षमा उपत्यकाभित्र मात्रै मापसे कारबाहीमा भाडाका २ हजार ३ सय ९५ सवारीसाधन कारबाहीमा परे । त्यसमा सबैभन्दा धेरै ट्रक, बस र भाडाका कार चलाउने चालक छन् ।

महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले मापसे कारबाहीमा ट्रक, बस र भाडाका कार चलाउने चालक धेरै भेटिएको बताए । उनले भने, ‘काठमाडौंबाट बाहिर जाने ट्रक, बस र भाडाका कार चलाउने चालक मापसे कारबाहीमा परेका छन् । यसमध्ये सबैभन्दा संवेदनशील बस हो । त्यो पनि लामो दुरीमा राति चल्ने बसका चालक यस्तो कारबाहीमा परेका छन् । यो अत्यन्तै गम्भीर घटना हो । झन्डै एक सय यात्रीको जीवन जतिवेलै समाप्त हुन सक्छ ।’

उपत्यकाभित्र मापसे गरी ट्रक चलाउने ६ सय २५, बसका ५ सय ८३ चालक समातिए । यस्तै, भाडामा चल्ने कारका ८ सय १७ र माइक्रो बसका २ सय ५३ चालक समातिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनायो । त्यस्तै, मापसे कारबाही भोग्ने टेप्पोचालक ५७ र ट्र्याक्टरका २५ चालक मापसे कारबाहीमा समातिए । यो खबर आजको नयां पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement