मसूद अजहरलाई आतङ्कवादी भन्न किन चाहँदैन चीन?


एजेन्सी – भारत -पाकिस्तानलाई हालै युद्धको सँघारमा पुर्‍याइदिनेगरी कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नाइकेलाई आतङ्कवादी घोषणा गर्ने प्रक्रियालाई चीनले पुन: स्थगित गराइदिएको छ। भारत प्रशासित कश्मीरको पुलवामामा हालै ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जानेगरी ठूलो विस्फोटन गराएको जैश-ए-मोहम्मदका नाइके मसूद अजहर हुन्।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्समक्ष अजहरको सम्पत्ति रोक्का, यात्रा प्रतिबन्ध तथा हातहतियार प्रतिबन्ध लगाउने प्रस्ताव लगिएको थियो।

किन रोक्यो चीनले?

तर चीनले उक्त प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने भन्दै त्यसलाई स्थगित गराउन अनुरोध गर्‍यो। उक्त स्थगन नौ महिनासम्म तन्कन सक्छ। पाकिस्तानको निकट सहयोगी देश चीनले मसूद अजहरसम्बन्धी प्रस्तावलाई त्यसरी रोकिदिएको यो चौथो पटक हो।

पाकिस्तानको समर्थनमा चीनले त्यसरी प्रस्ताव स्थगन गराइदिने गरेको दिल्लीको बुझाइ छ। भारतीय सरकारले अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा अगाडि बढाइएको सो प्रस्तावलाई समर्थन जनाएका अन्य सदस्य राष्ट्रहरूलाई धन्यवाद दिएको छ।

एक वक्तव्य जारी गर्दै भारतले उसका नागरिकहरूविरुद्ध हमलामा संलग्न आतंककारी नाइकेहरूलाई न्यायको कठघरामा लग्न सबै उपलब्ध उपायहरू अपनाउने जनाएको छ। राष्ट्रसंघका निम्ति चिनियाँ कूटनीतिक कार्यालयले पत्रकारहरूलाई उसले एक जिम्मेवारपूर्ण व्यवहारको समर्थन गर्न खोजेको तथा उक्त मुद्दाबारे सम्बन्धित पक्षहरूसँग वार्तालापमार्फत समाधान गर्न खोजेको बताएको एएफपी समाचार संस्थाले जनाएको छ।

सूत्रहरूले समाचार संस्थाहरूसँग कुरा गर्दै अजरलाई आतंकवादी घोषणा गर्ने पर्याप्त आधार भएको तथा यदि चीनले अवरोध गरिरहे ुअन्य बाटोु अपनाउन सकिने संकेत गरेका छन्।

के हो जैश-ए-मोहम्मद?

जैश-ए-मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना हुन्छ। सन् १९९९ मा इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरिदिएको मसूद अजरले नै उक्त समूहको गठन गरेका हुन्। त्यतिखेर सो विमानलाई काठमाडौंबाट अपहरण गरेर तालिवानशासित अफगानिस्तान पुर्‍याइएको थियो।

भारत-पाकिस्तान युद्धबाट निकास पाउला त कश्मीर विवादले ?

दिल्लीस्थित भारतको केन्द्रीय संसद्‌मा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको दोष भारतले जैश-ए-मोहम्मदमाथि लगाएको छ। उक्त घटनालगत्तै पाकिस्तानले औपचारिक रूपमा उक्त समूहमाथि प्रतिबन्ध लगायो। तर सो समूह अझै सक्रिय रहेको ठानिन्छ र बेलाबखत त्यसले अफजल गुरु गुट, अल-मुराबितुन तथा तेहरिक-ए-फुर्कानजस्ता विभिन्न नाममा आफ्ना गतिविधि सञ्चालन गर्ने गर्छ।

पछिल्लो समयमा भारतले सन् २०१६ को जेनुअरीमा पाकिस्तानी सीमानजिकै रहेको पठानकोटस्थित हवाई सैन्य अखाडामा भएको आक्रमणका निम्ति जैश-ए-मोहम्मदलाई जिम्मेवार ठहर्‍याएको छ। सो घटनामा तीन जना सुरक्षाकर्मी मारिएका थिए।

सन् २०१७ को डिसेम्बरमा भारतीय फौजले जैश-ए-मोहम्मदका कमान्डर नुर मोहम्मद तान्त्रेलाई मारिदिएपछि उक्त समूहलाई ठूलै धक्का लागेको ठानिएको थियो। तर हिंसा रोकिएन। द प्रिन्ट नामक एक भारतीय सञ्चारमाध्यमका अनुसार गोप्य रूपमा प्राप्त पाकिस्तानी समर्थन नै सम्भवतस् सो सङ्गठनको लगातार विस्तार भइरहनु पछाडिको कारण हो।

तर जैश-ए-मोहम्मदले पाकिस्तानी सेनालाई पनि आक्रमण गरेको छ। पाकिस्तानले सो समूहको रक्षा गर्ने गरेको भारतले आरोप लगाइरहे पनि सन् २००३ मा सो समूहले पाकिस्तानका तत्कालीन नेता पर्वेज मुशर्रफमाथि घातक आक्रमणको प्रयास गरेको थियो।बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस
Advertisement