एमसीसी विवाद : गठबन्धन तोड्न माओवादी र समाजवादी तयार


काठमाण्डु – पछिल्लो समय राजनीतिक वृतमा चर्चाको विषय बनेको छ एमसीसी । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १६ फागुनसम्ममा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ ।

फेब्रुअरी १ सम्म संसदबाट अनुमोदन नगरिए एमसीसी फिर्ता लाने अमेरिकाले बताइसकेको छ । तर, सत्ता साझेदार दलहरुमा कुरा नमिल्दा एमसीसी संसदमा टेबुल हुन सकेको छैन । सत्ता गठबन्धनमा एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर विवाद चर्किएको छ ।

प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्ने अडान लिएका छन् । उनले गठबन्धनका बैठकहरुमा बारबार भन्ने गरेका छन्, एमसीसी छिटो संसदमा प्रस्तुत गरौं ।’ तर सत्ता सहयात्री दल माओवादी केन्द्र र एकीकृत समाजवादीले सहमतिबिना सम्झौता अघि बढाइए गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएका छन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी अनुमोदन गर्न सहमत छन् ।स्रोतका अनुसार उनीहरु आगामी निर्वाचनसम्म कांग्रेससँगको सहकार्य रहने देउवाको आश्वासनपछि प्रचण्ड र नेपाल यथास्थितीमा एमसीसी पारित गर्ने सहमतिमा पुगेका हुन् ।

एमसीसी पारित गर्ने विषयमा देउवालाई माओवादी नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका झलनाथ खनाल बाधक बनेका छन् । उनीहरुले सहमतिबीना परियोजना अघि बढ्न नहुने भन्दै आफ्नो अडान कायमै राखेका छन् ।

नेता श्रेष्ठ सहमति बिना एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने पक्षमा छन् । उनले सहमतिबिना एमसीसी सम्झौता अगाडि बढाइए आफूहरू गठबन्धनमा नरहने समेत संकेत गरिसकेका छन् । उनले भने, ‘गठबन्धन छाड्नुपरे छाडौला, जे परिणाम आउला भोग्न तयार छौं तर यथास्थितीमा एमसीसीको पक्षमा मतदान गर्दैनौं ।’

यता झलनाथ खनाल पनि जबर्जस्ती एमसीसी अगाडि बढाउन खोजे गठबन्धनमा परिणाम जे पनि आउनसक्ने बताउँछन् । कार्यदलकाे संयोजकसमेत रहेका खनाल एमसीसीमा भएका केहि बुँदाहरु संशोधन नगरि अनुमोदन गरिए परिणाम जे पनि आउन सक्ने बताउँछन् ।

उनले एमसीसीमा जबर्जस्ती गर्न खोजिए परिणाम राम्रो नल्याउने र गठबन्धनभित्र असर पर्ने प्रधानमन्त्री देउवालाई सुझाव समेत दिइसकेका छन् । तर प्रधानमन्त्री देउवा भने समाजवादी र माओवादी सकारात्मक नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्नेपक्षमा छन् । उनले आफ्ना दूत सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्भावित सहकार्यमा संवादलाई तीव्र बनाएका छन् ।

यस्तोमा प्रचण्ड–नेपालका अघिल्तिर दुई विकल्प देखिएका छन् । एमसीसीलाई संसदमा पेस गर्न दिएर गठबन्धनसँगको सहकार्य लम्ब्याउने कि एमसीसीको विरोधमा उत्रिएर सरकारबाट बाहिरिने ?

देउवाले नारायणकाजी श्रेष्ठलाई समेत सहमत गराउने प्रयास गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी एमसीसीबारे अनावश्यक अडान नलिन र विवाद नगर्न आग्रह गरेका छन् । जवाफमा श्रेष्ठले गठबन्धनबाट बाहिरिनुपरे पनि यथास्थितीमा एमसीसीमा भोट नहाल्ने बताएका थिए ।

माओवादी केन्द्रका अधिकांश नेताहरु एमसीसीलाई संसदमा लैजानै नहुने पक्षमा छन् । माओवादी नेता लीलामणि पोखरेल एमसीसी जबर्जस्ती संसदमा ल्याउने प्रयास भए आफुहरु गठबन्धन टुटाउन तयार रहेको बताए । उनले यदि पाँच दलमा सहमति नजुटी एमसीसी अगाडि बढाइए त्यही दिन गठबन्धन ताेड्ने र माओवादी सरकारबाट बाहिरिने बताए ।

सत्ता गठबन्धनममा पाँचमध्ये दुई दल, कांग्रेस र जनता समाजवादी एमसीसी अनुमोदनको पक्षमा छन् । प्रचण्ड र माधव नेपाल एमसीसी अनुमोदनको पक्षमा भए पनि पार्टीभित्रै दुई धार देखिएकाले उनीहरु एमसीसीको विपक्षमा उभिनुपर्ने दबावमा छन् ।

जसपाका नेता डा. बाबुराम भट्टराईले एमसीसी अनुमोदनमा ढिलाइ नगर्न निरन्तर सचेत गराइरहेका छन् । तर, अध्यक्ष उपेन्द्र यादवले भने एकसीसीबारे कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement