एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेपछि नेकपा एकीकृत समाजवादी पार्टीसमेत फुट्ने चर्चा चलिरहेको छ । पछिल्लो समय माधव नेपाल हालको सत्ता गठबन्धनबाट अलग्गिएर नयाँ गठबन्धन बनाउने रणनीतिमा लागेका छन् ।

आफूले यो गठबन्धन छाडे जसपा नेपाल पनि आफ्नो पक्षमा आउने भन्दै आफू प्रधानमन्त्रीको दाबेदार भएको उनको आँकलन थियो । तर, जसपा नेपाल फुटेपछि माधव नेपाललाई ठुलो धक्का लागेको छ । हालको सत्ता गठबन्धन जोगाउन पार्टी फुटाएको जसपाका नेताहरूकाे दावी छ ।

यसैबीच एकीकृत समाजवादीका केही नेताहरु पनि हालको सत्ता गठबन्धनमै रहनु पर्ने पक्षमा छन् । एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूहरुको साथ सत्ता गठबन्धनलाई रहेको प्रष्ट पारेका थिए ।

उनले बैकल्पिक गठबन्धनको पक्षमा नेकपा एसका केही नेता रहे पनि नेकपा एस भने नरहेको समेत बताएका थिए । तर, माधव नेपाल भने पछिल्लो समय आफू र आफ्नो पार्टीलाई हालको गठबन्धनमा असहज भइरहेकाले जुनसुकै बेला उथलपुथल हुनसक्ने बताउँदै आएका छन् । यसैबीच एकीकृत पनि फुटको संघारमा पुगेको चर्चा हुन थालेको छ । पार्टी फुटको संघारमा पुगे पछि माधव नेपालले संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement