ऊर्जामन्त्रीले भने–‘म रोल्पाली र पार्टीको मात्र मन्त्री होइन,योजना छनाेट गर्दा प्राथमिकतालाई ध्यानमा राखौं’


काठमाडौं– ऊर्जा, जलस्रोत सिंचाइमन्त्री वर्षमान पुनले सरकारको प्राथमिकताका आधारमा मन्त्रालयअन्र्तगतका काम अघि बढाउन निर्देशन दिएका छन्।

ऊर्जा मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको मंगलबारको बैठकमा मन्त्री पुनले विगतको जस्तो हचुवाको भरमा योजना छनौट गर्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने बताए। बैठकको अध्यक्षता ग्रहण गरिरहेका उनले सरकारको प्राथमिकता र मन्त्रालयले जारी गरेको श्वेतपत्रअनुसार नै काम अघि बढाउन निर्देशन समेत दिए।

‘अबदेखि हुचवाको भरमा काम नगर्नुहोला, विगतमा मन्त्री, सांसद, सचिव र उच्च अधिकारीका आ–आफ्ना स्वार्थहरु थिए होला तर, अब त्यो हँदैन, योजना छनोट गर्दा प्राथमिकता र मन्त्रालयको योजनाअनुसार हुन्छ,’ मन्त्री पुनले समीक्षा वैठकमा भने।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले आफू कुनै पार्टी र जिल्ला विशेषको मात्र मन्त्री नभएको भन्दै सिंगो देशको मन्त्री भएकाले योजना छनोट गर्दा सिंगो देश र आवश्यकतालाई हेरेर योजना बनाउने स्पष्ट पारे।

उनले आयोजना छनौट गर्दा दबाव दिने प्रवृतिलाई निरुत्साहित गरेर अघि बढ्न निर्देशन समेत दिए। पूर्वअर्थमन्त्री समेत रहेका ऊर्जामन्त्री पुनले विनियोजित बजेट एक सय प्रतिशत नै खर्च हुनुपर्ने धारणा राखे। उनले अहिलेको समिक्षा वजेट तयारीको लागी समेत भएको भन्दै विनियोजित वजेट खर्च गर्न निर्देशन दिएका छन्।

मन्त्री पुनले आगामी वर्षको बजेटमा नचाहिने आयोजित झिक्ने र सरकारको प्राथमिकताअनुसार नयाँ आयोजना छनौट गर्ने स्पष्ट पारे।

उनले एकीकृत सिंचाइ र ऊर्जा कार्यक्रम पहाडका सिंचाइयोग्य ठाउँमा सिंचित क्षेत्र बढाउनका लागि अघि सारेको योजना भएको भन्दै उक्त योजनालाई प्राथमिकतामा राखेर अघि बढाउन मातहतका निकायलाई निर्देशन दिए।

बैठकमा मन्त्रालय मातहतका उच्च अधिकारीहरुले आयोजनामा भइरहेको प्रगती, बजेटको अवस्था र समस्याहरुको वारेमा आ–आफ्ना धारणाहरु राखेका थिए।

ऊर्जा मन्त्रालयमा मंगलबार करीब ६ घण्टा लामो चलेको वैठकमा उठेका सवै प्रश्नको उर्जामन्त्री पुनले जवाफ दिएका थिए।

मन्त्री पुनले प्रधानमन्त्री,मन्त्री र सरकारको प्राथमिकतालाई ख्याल गरेर परिणाममुखी काम गर्न समेत निर्देशन दिएका छन्। भेरी बबई, सिंक्टा र रानीजमरालगायतका राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुलाई प्रतिवद्धता गरेअनुसार समयमै काम गरेर देखाउन मन्त्री पुनले सचेत समेत गराए। ‘तपाईहरुले मन्त्रालयलाई प्रतिवद्धता जनाएअनुसार काम गरेर देखाउनुहोस्, मैले प्रधानमन्त्रीलाई पनि जवाफ दिनुपर्छ, मलाई जसरी पनि परिणाम चाहिन्छ,’ मन्त्री पुनले बैठकमा भने।

प्राधिकरण मातहतका कम्पनीको अवस्था के छ ?
ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरण मातहतका कम्पनीको अवस्थाको बारेमा समेत जानकारी मागेका छन्। उनले प्राधिकरण मातहत धेरै कम्पनी रहेको भन्दै त्यसको प्रगती र समस्याको रिपोर्टिंग आफूलाई नियमित हुनुपर्ने बताए।

‘प्राधिकरण मातहतका कम्पनी धैरै भए, कम्पनीका पनि कम्पनी छन् । तिनको अवस्था के छ, कहाँकहाँ लगानी छ, शेयरको अवस्था के छ त्यसको जानकारी हुनुपर्यो ,’ मन्त्री पुनले भने। उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा लगानी थप्नेबारेमा समेत पहल गर्ने बताए।

मन्त्री पुनले भने, ‘म अस्ति मात्र फिल्डमा जाँदा लगानीको समस्या भएको जानकारी पाएं,यो आयोजना हामीलाई छिटो पनि बनाउंनुपर्नेछ, त्यसका लागि आवश्यक बजेट प्रवन्ध गर्नुपर्छ,त्यसको पनि तयारी अघि बढाउनुहोस् ।’

काम नगर्ने ठेकेदारको टेण्डर खारेज गर्नुहोस्
मन्त्री पुनले लामो समयदेखि समस्याको रुपमा रहेका आयोजनाको हल गर्नका लागि विशेष व्यवस्था गर्ने प्रस्ताव समेत बैठकमा गरे। । उनले समस्याका रुपमा रहेका आयोजनाको हकमा विशेष व्यवस्था गर्ने भन्दै त्यसका लागी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।

‘आयोजनाको ठेक्का लिने तर काम नगर्ने,समय मात्र थप्ने, उच्च तहबाट दबाव दिनेहरुको ठेक्का तोड्नुहोस्, त्यस्ता ठेकेदारहरुलाई अर्को पटक काम पनि नदिनुहोस्,’ मन्त्री पुनले भने।

केही ठेकेदारहरुको काम नगर्ने र आयोजना होल्ड गरेर मात्र राख्ने प्रवृति रहेको भन्दै त्यस्ता ठेकेदारहरुको ठेक्का तोड्न समेत उनले निर्देशन दिए। उनले शक्तिकेन्द्रलाई भन्दा देश र जनतालाई केन्द्रमा राखेर पारदर्शी रुपमा काम गर्न मातहतका निकायलाई निर्देशन दिए।

अनावश्यक गाडी मात्र खरिद गर्ने प्रवृति बन्द गरौँ
मन्त्री पुनले अनावश्यक रुपमा गाडी मात्र खरिद गर्ने प्रवृतिप्रति समेत असन्तुष्टि जनाए। उनले आवश्यकता भए मात्र गाडी खरिद गर्नुपर्ने भन्दै त्यसमा पनि मितव्ययिता अपनाउनुपर्ने बताए।

‘गाडी घोडा आफू हिँडेपछि हिँड्ने,अनावश्यक खरिद गर्ने काम नगरौँ, बरु चाहिन्छ भने न्यायाधीशको जस्तो आफ्नो गाडी लगेरै जाँऔ, त्यसको राम्रोदेख पनि गराँै तर सुविधा लिने नाममा अनावश्यक गाडी खरिद नगरौँ,’ मन्त्री पुनले भने।

परियोजनाको अध्ययन पेशा व्यवसाय जस्तो
मन्त्री पुनलेजलविद्यूत र सिंचाइ परियोजनाको अध्ययन गर्ने काम पनि पेशा–व्यवसायजस्तो भएकोमा समेत असन्तुष्टि जनाए।
‘परियोजनाको जहिले पनि अध्ययन मात्र भइरहेको छ भन्ने तर अध्ययन कहिले पनि नसकिने रोग देखियो, परियोजना फिजिवल छ भने अघि बढाऔं छैन् भने प्रोजेक्ट बैंकमा राखाँै, यो अध्ययन मात्र भइरहेको छ भनेर गुमराहमा नपारौँ,’ मन्त्री पुनले भने।

उनले कर्णाली जलविद्युत परियोजनाको उदाहरण दिँदै मन्त्रालयमा आधा दर्जन मन्त्री र सचिव फेरिँदा समेत अध्ययन नसकिएको भन्दै यो पेशाको रुपमा अघि बढेकोमा असन्तुष्टि व्यक्त गरे।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य, कृष्ण ओली, ऊर्जा मन्त्रालयका सचिवहरु संजय शर्मा र दिनेश घिमिरे र मन्त्रालय मातहतका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement