तरार्इ-पहाड जोड्दै छठ, मुस्लिमको पनि प्रिय पर्व


काठमाडौं – श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरका छठ पर्वको दोस्रो दिन सोमबार बेलुकी देखि व्रतालुहरूले निर्जल व्रत सुरु गरेका छन् । कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवतरुपमा सुरु हुने छठ पूजा सप्तमीसम्म चार दिन मनाइन्छ । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ ।

आइतबारदेखि विधिवतरुपमा सुरु छठ पर्वको दोस्रो दिन सोमवार व्रतालुहरूले गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालुहरू दिनभर उपवास बसेका थिए । सोमबार बेलुकी भने व्रतालुहरूले नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाइ त्यसैमा चामल र भेलीको खिर रसीआव तथा गहुँको रोटी प्रसादका रूपमा पकाएका थिए ।

उक्त प्रसादलाई रसीआव रोटी भनिन्छ । उक्त प्रसाद सोमबार बेलुकी व्रतालुहरूले चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि प्रसाद ग्रहण गरेर निर्जल व्रत सुरु गरेका हुन् । खरनाको भोलिपल्ट अर्थात् मङ्गलवार परेको षष्ठी तिथिका दिन छठको मुख्य दिन हो । यस दिनलाई सँझिया घाट भनिन्छ । व्रतालुहरू मङ्गलवार दिउँसोको समयमा नुहाइ चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी, तलाउसहितका जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् । घरका सबै सदस्य पनि नुहाइ चोखो लुगा लगाएर छठीघाटमा पुग्छन् ।

छठीघाटमा चोखो माटोले बनाइएको पूजा स्थल सिर सोता छेउमा बसेर व्रतालुहरूले छठी माता र सुर्यभगवानसंग जोडिएका पारम्परिक गीत गाउँछन् । त्यसपछि मङ्गलवार साँझ पख अस्ताउदै गरेका सूर्य भगवान् र छठी मातालाई व्रतालुहरूले जलाशयमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनमा उखु,काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछेता, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ (पूजा ) दिन्छन् ।यो खबर आजको अन्नपूर्णपोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement