नेकपामा नेतैपिच्छे गुट : भागबन्डाले कांग्रेस अलपत्र


काठमाडौं – सत्तासीन नेकपा र प्रतिपक्षी कांग्रेस आन्तरिक विवादमा रुमल्लिएका छन्। पार्टी एकीकरण भएको १० महिना बित्दा पनि सांगठनिक एकता नटुंगिँदा नेकपा चलायमान बन्न सकेको छैन भने शीर्ष नेताबीच रहेको गुटगत राजनीतिका कारण कांग्रेस विधानअनुसार गतिशील बन्न सकेको छैन।

सत्तारूढ नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ। गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर केन्द्रीय समिति बनेको थियो। तर अहिलेसम्म केन्द्रीय नेताको कार्य विभाजन र जिल्ला कमिटी गठन हुन सकेको छैन।

भ्रातृ संगठनलगायत तल्ला तहसम्म एकीकरण टुंगो नलाग्दा पार्टी चलायमान हुन सकेको छैन। तल्लो तहसम्म एकता नटुंग्याउने हो भने पार्टी झन् लथालिंग हुने केन्द्रीय नेताहरू बताउँछन्। पार्टीभित्र नेतैपिच्छेका गुट र आगामी महाधिवेशन लक्षित स्वार्थ हाबी भएकाले तल्लो तहसम्म एकता हुन नसकेको हो। नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘जिल्ला तहको नेतृत्व चयनमा नेताहरूले आफ्नो भाग खोज्न थालेपछि एकता प्रक्रिया अवरुद्ध छ।’

मुख्य नेताहरुकै स्वार्थ बाझिँदा एकता प्रक्रियाले गति लिन सकेको छैन। एकता प्रक्रिया र आन्तरिक कार्ययोजनाका लागि बनाएको कार्यतालिका नेताहरूबाटै उल्लंघन हुने गरेको छ।

‘पार्टीभित्र अहिले निश्चित विधि र मापदण्डका आधारमा एकता गर्नुपर्छ भन्ने एउटा दृष्टिकोण र विधिअनुसार होइन, आफ्ना मान्छेलाई समातेर टीका लगाउनुपर्छ भन्ने दृष्टिकोणबीच तीव्र अन्तरविरोध छ,’ स्थायी समिति सदस्य युवराज ज्ञवाली भन्छन्, ‘यी दुई दृष्टिकोणबीचको निष्कर्ष निस्कन सकेको छैन। यसले पार्टीलाई लथालिंग बनाइरहेको छ।’

संघीयताअनुसार संरचना

नेकपाले संघीयताअनुसार पार्टी संरचना भने बनाएको छ। राज्यको चरित्रअनुसारकै पार्टी संरचना बनाउने गरी पार्टीका सातवटै प्रदेश कमिटी रहने नेकपा विधानमा उल्लेख छ। त्यहीअनुसार संगठनात्मक संरचना निर्माण गरेको छ। नेकपाले ५ साउनमा प्रदेश पदाधिकारी र १७ मंसिरमा प्रदेश कमिटी सदस्यहरुको टुंगो लगाएको थियो। तर कमिटी विवादमुक्त भने रहेन। योग्यता नै नपुगेका व्यत्ति कमिटीमा परेको भन्दै गत पुसको स्थायी समिति बैठकमा आवाज उठेको थियो।

विधानको व्यवस्थाअनुसार सातै प्रदेशका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण भइसकेको छ। प्रदेश कमिटी धमाधम प्रदेश कार्ययोजना बनाउन व्यस्त छन्। नेकपा विधानको धारा २६ मा प्रदेश र सम्पर्क समन्वय कमिटीको व्यवस्था छ। धारा २६ ९ख० मा प्रदेश कमिटीमा अध्यक्ष र सचिवसहित १५१ सदस्य (केन्द्रीय कमिटीका सदस्यबाहेक) रहनेछन्। एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर दुईका दरले सदस्य थप्न पाउने व्यवस्था नेकपा विधानमा छ।

नेकपाको सुदूरपश्चिममा १८३, कर्णालीमा १७५, प्रदेश ५ मा २०३, गण्डकीमा १८७, प्रदेश ३ मा २१७, प्रदेश २ मा २१५ र प्रदेश १ मा २०७ सदस्यीय प्रदेश कमिटी छ। यतिबेला जिल्ला तहको नेतृत्व चयन नेकपाभित्र सबैभन्दा पेचिलो बनेको छ। पूर्वएमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच जिल्ला नेतृत्वमा सहमति जुट्न नसक्दा प्रक्रिया लम्बिएको हो। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement