चार कार्यदल : आठ महिनासम्ममा पनि टुंगिएन नेकपाको एकीकरण


काठमाडौं – तीन महिनाभित्र पूर्णता दिने घोषणासहित अघि बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण आठ महिनासम्म टुंगिन सकेको छैन । ३ जेठमा एकीकरण घोषणालगत्तै भदौ पहिलो साताभित्र पार्टीका सबै संगठन र तहमा एकता टुंग्याउने भनिए पनि चारवटा कार्यदल बनेर काम गर्दासमेत अल्झिरहेको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालको समूहगत सन्तुलन मिलाउने गरी १२ पुसमा स्थायी समिति बैठकले गठन गरेको ९ सदस्यीय शक्तिशाली कार्यदलसमेत अलमलमै दिन काटिरहेको छ । पुस मसान्तसम्म एकीकरणको सम्पूर्ण खाका तयार गर्ने म्यान्डेट पाएको कार्यदलका सदस्यबीच नै विवाद भएपछि प्रगति जहाँको तहीँ छ ।

एकीकरण कार्यदलमा सचिवालयबाट नेता रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल छन् । वरीयतामा अघि रहेका कारण बादललाई कार्यदलमा संयोजनको जिम्मेवारी तोकिए पनि बैठक भने महासचिव पौडेलले बोलाउ“दै आएका छन् । पुसको तेस्रो सातायता ७ माघसम्म बढीमा दुई घन्टाको दरले सातपटक कार्यदलको बैठक बसेको छ । २४ पुसमा छैटौँपटक बसेर स्थगित बैठक दुई सातापछि बसे पनि पछिल्लोपटक एजेन्डाकेन्द्रित छलफल नै नभएको कार्यदलका एक सदस्यले बताए ।

‘७ माघमा विषयकेन्द्रित भएर लगातार छलफल गर्ने सहमतिसहित बैठक स्थगित भएको थियो, तर संयोजक र महासचिव दुवैले तीन दिनयता खबरै गर्नुभएन,’ ती सदस्यले भने, ‘बैठकमा एउटा सहमति हुन्छ, उहा“हरूले अर्कै कार्यशैली देखाउनुहुन्छ, हामीले केही पनि बुझ्न सकेका छैनौँ ।’

नेता लेखराज भट्टले भने माघ दोस्रो साताभित्र प्रतिवेदन बुझाउने गरी तयारी भइरहेको बताए । ‘कार्यदलले प्रतिवेदन बुझाउने गरी नै काम गरिरहेको छ,’ भट्टले भने, ‘अब लगातार लामा–लामा छलफल हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement