नेकपाको स्थायी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन अस्वीकृत


काठमाडौं – पार्टी एकीकरणपछि तेस्रो पटक बसेको नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन अस्वीकृत भएको छ।

स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन अपूर्ण भएको भन्दै स्थायी कमिटीका सदस्यहरूले असहमति जनाएपछि अध्यक्षद्वयले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन अस्वीकृत भएको हो।

स्थायी समिति बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पास गर्न आद्ववान गर्नुभएको थियो। तर बिहीबार बसेको स्थायी समिति बैठकमा सदस्यहरूले जवाफ चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएपछि पुनः बैठक बस्ने भएको छ। स्थायी समितिका सदस्यहरूले राजनीतिक प्रतिवेदन परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने माग राखेपछि राजनीतिक प्रतिवेदन परिमार्जनको गृहकार्य अगाडि बढेको बताइएको छ।

अध्यक्ष ओलीले अहिले एकता ऐतिहासिक भएको र त्यसलाई सुदृढ गर्दै एकताबद्ध ढंगबाट अगाडि बढाउन सबैमा आ≈वान गर्नुभएको थियो।प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने पक्षमा अध्यक्षले धारणा राखेको बताउनुभयो। अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भन्नुभयो– ‘पार्टी र सरकारले देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमान पक्षमा काम गर्छ, लोकतन्त्रलाई दृढतापूर्वक अगाडि बढाउने, सामाजिक न्याय, समानता, सुशासन र विकासलाई दृढतापूर्वक अगाडि बढाउने, समग्रमा राष्ट्रलाई समृद्ध नेपाल र सुखी नेपालीको अवधारणाअन्तर्गत सफतापूर्वक अगाडि बढाउँछ।’

सांगठनिक एकीकरणका बाँकी सबै कामहरू पुस मसान्तसम्ममा सकिने गरी योजना बनाउन र त्यसका निम्ति आवश्यक गृहकार्य गर्ने प्रक्रियाको प्रस्ताव अध्यक्ष ओलीले अगाडि सार्नुभएको छ। उहाँले बैठक सकिँदा सिंगो पार्टी एकताबद्ध हुने, कार्यकर्ता उत्साहित हुने, जनतामा आशा र विश्वास पैदा गर्ने विश्वास व्यक्त गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। नेकपाको बैठक गत २९ देखि शुरू भएको थियो।यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement