नेपाल र चीनवीच भएका सम्झौताहरुको कार्यान्वयन सुरु भइसकेको छ : सुशील लम्साल


चीनको पल्लो सान्सी प्रान्तको सिआनदेखी काठमाडौंसम्म रेलसेवा सुरु भएको छ । शुक्रवार हिंडेको रेल तिब्बतको सिगात्सेसम्म आउनेछ । त्यहांबाट सडकमार्ग हुंदै सामाग्री मालबाहक ट्रकमा काठमाडौं ल्याउने तयारी छ । सान्सी प्रान्तले पहिलो पटक दक्षिण एसिया लक्षित मालवाहक रेल संचालन गरेको हो । त्यसैगरी शुक्रवार नै चीनको लान्झोउबाट ३९० टन सामग्री बोकेको मालबाहक रेल नेपालतर्फ छुटेको छ।

नेपाल र चीनबीच अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएपछि परिक्षणका रुपमा लान्झोउ अन्तर्रा्ष्ट्रिय सुख्खा बन्दरगाहबाट पहिलोपटक मालबाहक रेल नेपालतर्फ प्रस्थान गरेको हो। भारतले पांच वर्षअघि नेपालमाथी नाकाबन्दी गर्दा चीनसंगका नाका खोल्ने निर्णय भएको थियो ।

त्यसका साथै अन्र्तराष्ट्रिय व्यापारमा भारतसंगको निर्भरता हटाउने प्रयास अन्तर्गत चीनका समुद्री र सुख्खा बन्दरगाह भएर तेस्रो देशसंग व्यापार गर्न नेपालले अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता गरेको थियो । उक्त सम्झौता अहिले आएर व्यवहारमै कार्यान्वयन हुन लागेको हो । यसै विषयमा  चीनका  लागी नेपालका कार्यवाहक राजदूत शुसिल लम्शालसंग हामीले कुराकानी गरेका छौं । यस्तो छ लम्सालसंग गरिएको कुराकानीको अंश- 

चीनवाट फेरी कार्गो रेल सेवा सुरु भएको समाचार प्रकाशमा आएको छ । चीनले कार्गो सेवालाई नियमित बनाउन थालेको हो ?

-नेपाल र चीनबीच धेरै लामो समय यता सतह मार्ग हुंदै कार्गो ढुवानी हुंदै आइरहेको हामी सबैलाई थाहै छ । वास्तवमा कुल द्विपक्षीय व्यापारको करीब २५ प्रतिशत भाग सतहमार्गबाट नै हुने गरेको छ । सन् २०१६ देखि सिगात्सेसम्म कार्गो ढुवानी शुरु भएको हो । लाञ्जाओबाट २०१६ को मे महिनादेखि र ग्वाञ्जाओबाट सोही वर्षको डिसेम्बरदेखि कार्गो रेल सञ्चालनमा आएका थिए । सिगात्सेसम्म रेलबाट र त्यसपश्चात् ट्रकबाट ढुवानी हुने कारण यस प्रकृतिको ढुवानी माध्यमलाई इन्टरमोडल ढुवानी सेवाका रुपमा लिन सकिन्छ ।

इन्टरमोडल ढुवानी सहजीकरणका लागि वाणिज्य मन्त्रालय अन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास बोर्ड नामक निकाय सक्रिय पनि छ । २२ मे का दिन सियानबाट सिगात्सेका लागि छुटेको कार्गो रेल पनि इन्टरमोडल प्रकृतिको ढुवानी सेवा हो । पल्लो शांसीको सियान अन्तर्रा्ष्ट्रिय व्यापार र लजिस्टिक पार्क नामक निकायको समन्वयमा नेपाली व्यवासायीले चीनबाट आयात गरेका सामान सिगात्से हुंदै नेपाल पठाइएको हो । सोही दिन लाञ्जाओबाट पनि पहिले देखि चल्दै आएको कार्गो रेल सुचारु भएको जानकारी प्राप्त भएको छ ।

सियानबाट शुरु भएको रेल र ट्रकको ढुवानी सेवा शुरुमा हप्ताको एक पटक सञ्चालन हुने र भविष्यमा व्यवसायीहरुको माग र आवश्यकताका आधारमा समायोजन हुने कार्गो सञ्चालकको भनाइ छ । सियानबाट युरोप, पश्चिम एसिया र मध्य एसियामा निरन्तर रुपले कार्गो रेल सञ्चालन भइरहेको पृष्ठभूमिमा सो शहरबाट नेपालसम्म इन्टरमोडल ढुवानी सेवा शुरु हुनु स्वागतयोग्य कुरा हो । यस कार्गो सेवाले चीन नेपालबीचको द्विपक्षीय व्यापारमा टेवा पुग्ने देखिन्छ। तथापि अहिलेलाई परीक्षणका रुपमा सञ्चालन भएकाले यस कार्गो सेवालाई नियमित र थप प्रभावकारी बनाउन केही समय भने लाग्न सक्छ ।

२०१६ मे महिनामा लान्झोउबाट कार्गो रेल सुरु भएको थियो । विचमा त्यो रोकियो । के कारणले त्यसले निरन्तरता पाउन सकेन् ?
-लाञ्जाओको उक्त सेवा हाल सुचारु भएको जानकारी प्राप्त भएको छ भने ग्वाञ्जाओबाट पनि पुनः सञ्चालन गर्न सकिन्छ । यो विषयमा नेपाली व्यवसायीहरुसंग कुराकानी भइरहेको पनि छ ।  चीनबाट सतहमार्ग हुंदै मालसामान नेपाल ढुवानी गर्ने दुईवटा विकल्प छनः एक, नेपालसम्मै ट्रकबाट ढुवानी गर्ने र दुई, सिगात्सेसम्म रेल कार्गो एवम् सिगात्सेबाट ट्रकबाट ढुवानी गर्ने ।

कार्गो रेलबाट ढुवानी गर्नका लागि रेलको क्षमता पुग्नेगरी सामग्री जुटाउनुपर्ने हुन्छ । रेलको क्षमता अनुसारको उपयुक्त आयतन वा वजन पुगेपछि मात्र सामग्री ढुवानी हुनसक्ने भएकाले रेलकार्गो कहिलेकाही ढिलो हुनसक्ने कतिपय व्यवसायीहरुको अनुभव रहेको पाइएको छ । साथै, शिगात्सेमा सामान ओरालेर पुनः ट्रकमा हाल्नुपर्ने भएकाले टुटफूट हुनसक्ने सम्भावना रहन्छ । तसर्थ, केही व्यवासायीहरुले ग्वाञ्जाओ वा यिवुबाट सोझै ट्रकमा सामान हालेर नेपालतर्फ ढुवानी गर्नेगरेको पाइएको छ ।

व्यवसायीले सस्तो र भरपर्दो माध्यम रोज्नु स्वाभाविकै हो । केही वर्षभित्र निर्माणाधीन छङ्दु-ल्हासा रेल सञ्चालनमा आएपछि कार्गो रेलमार्फत् मालसामान ढुवानी गर्न थप किफायतपूर्ण र छिटोछरितो हुने अपेक्षा गर्न सकिन्छ । वास्तवमा मालसामान ढुवानी गर्न रेलमार्ग बढी भरपर्दो र किफायतपूर्ण पनि हुने भएकाले हाल देखा परेका समस्या हल हुंदै जांदा भविष्यमा कार्गो रेलको प्रयोग पनि क्रमशः बढ्दै जाने अनुमान गर्न सकिन्छ ।

 नेपाल र चीनबीच अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएको थियो । अव उक्त सम्झौताको व्यवहारीक रुपमै कार्यान्वयन भएको हो ?
-गत वर्ष हस्ताक्षरित व्यापार पारवहन प्रोटोकलको उद्देश्य तेस्रो मुलुकसंगको व्यापार पारवहनलाई सहज बनाउने हो । तसर्थ, सियान र लाञ्जाओबाट अहिले सञ्चालित रेलकार्गोको अनुभव तेस्रो मुलुकसम्मको व्यापार पारवहान प्रक्रिया शुरु गर्ने दिशामा उपयोगी हुने अपेक्षा गर्न सकिन्छ ।

अन्र्तराष्ट्रिय व्यापारमा भारतसंगको निर्भरता हटाउने प्रयास अन्तर्गत चीनका समुन्द्री र सुख्खा बन्दरगाह भएर तेस्रो देशसंग व्यापार गर्न पारबहन सम्झौता भएपनि नेपालतर्फको रोडको अवस्था भने दयनिय छ यसका लागी नेपाल सरकारले पहल गरेको छ की ?

-काठमाडौंबाट रसुवागढी सीमानाकासम्मको सडक स्तरोन्नतिको काम द्रुतगतिमा अघि बढिरहेको छ । उक्त सडकको स्याफ्रुवेसी-रसुवागढी खण्डलाई दुई लेनको कालोपत्रे सडक बनाउने काम चिनियां सहयोग अन्र्तगत भइरहेको छ । साथै, गल्छि-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी सडक स्तरोन्नतिको काम सडक विभागले अघि बढाएको छ ।

मैलुङ-स्याफ्रुबेसीको १९ किलोमिटर सडक डबल डेडिकेटेड लेनमा स्तरोन्नति हुंदैछ भने बांकी भागको काम पनि अघि बढेको छ। वेत्रावतीबाट रसुवागढीसम्मकै सडक स्तरोन्नति गरेर ब्ल्याक टप भइसकेपछि केरुङसम्मको आवागमन सहज हुनेछ । अर्कातर्फ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अरनिको राजमार्गको स्तरोन्नति र पुनर्निर्माण गर्ने योजना अघि बढाएको छ ।

नेपाल र चीनवीच भएका सम्झौताहरु कार्यान्वयन नभएको गुनासो आइरहेको छ । के कारणले सम्झौताहरु अघि बढ्न नसकेका हुन् ?
नेपाल र चीनबीच विभिन्न उच्चस्तरीय भ्रमणका अवसरमा भएका सम्झौताहरुको कार्यान्वयन क्रमशः भइरहेको छ । नेपाल–चीन सहयोग अन्तर्गतका आर्थिक परियोजनाहरुको सहजीकरणका लागि स्थापित संयन्त्रले कार्यान्वयनमा उत्पन्न भएका समस्याको निराकरण गर्ने गरेको छ । राष्ट्रपति सि जिन्फिङको नेपाल भ्रमणका अवसरमा हस्ताक्षरित लगानी सहयोग सम्बन्धी समझदारीपत्र बमोजिम संयुक्त कार्यदलको बैठक नोभेम्बरमा काठमाडौंमा आयोजना भयो ।

उक्त बैठकका अवसरमा द्विपक्षीय लगानी, व्यापार तथा आर्थिक सहयोग आदानप्रदानलाई प्रबर्द्धन गर्ने दिशामा दुवै पक्षबीच बृहत् छलफल भएको थियो । सोही भ्रमणका अवसरमा हस्ताक्षरित समझदारीपत्र अनुरुप व्यापार सहयोग सम्बन्धी कार्यदलको बैठक आयोजना गर्ने तयारी भइरहेका बेला कोभिड-१९ को महामारीले केही समय ढिला हुन गएको छ । नेपाल चीन कृषि सहयोग सम्बन्धी संयुक्त कार्यदलको बैठकका लागि तयारी भइरहेको छ । महामारीको अन्त्य हुनासाथ विभिन्न द्विपक्षीय संयन्त्रहरुको काम सुचारु भई हस्ताक्षरित सम्झौताहरुको कार्यान्वयन हुन थाल्ने छ ।

चीनले पल्लो सान्सी प्रान्तको सिआन र लान्झोउलाई दक्षिण एसियाली बजार विस्तार गर्न आर्थिक र व्यापार सहयोग प्रर्वद्धनका लागि विकल्पको रुपमा अघि सारेको खबर छ । तपाईले के लाग्छ ?

सियान रहेको शांसी प्रान्त र लाञ्जाओ रहेको गान्सु प्रान्तसंग नेपालको प्राचीनकालदेखि जनस्तरको सम्बन्ध कायम रहिआएको पाइन्छ । प्राचीन कालको रेशम मार्गका साथै बौद्ध धर्म प्रबर्द्धनमा समेत् सियान र गान्सु दुबै प्रान्तको महत्वपूर्ण स्थान रहेको थियो । थाङ बंशको राजधानी भएकाले चीनको इतिहासमा सियान शहरको विशेष भूमिका रहेको देखिन्छ भने रेशम मार्गमै पर्ने गान्सुमा पनि नेपाली कलाकार र भिक्षुको आवतजावत रहनेगरेको पाइन्छ ।

सियानबाट नेपाल भ्रमण गर्न गएका हुवान साङ र नेपालबाट आएका बुद्धभद्र लगायत् बौद्ध भिक्षुहरुले नेपाल-चीन सम्बन्धको जग स्थापना गरेका हुन्। गान्सु प्रान्तको दुनहुआङ नजीकैको मोगाओ नामक गुफामा प्राचीन कालमा निर्मित बौद्धधर्मसंग सम्बन्धित चित्रहरुको निर्माणमा नेपाली कलाकारहरुको योगदान रहेको विश्वास गरिएकाले नेपालसंग बाक्लै सम्बन्ध रहेको हुनुपर्दछ।

वर्तमानकालमा बेल्ट एण्ड रोड सहयोग अन्तर्गत कनेक्टिभिटी र व्यापारिक सम्बन्ध अभिबृद्धि गर्न सियानले महत्वपूर्ण भूमिका खेलिरहेको छ भने चीनको पश्चिमी भागको रेल कनेक्टिभिटीको हबका रुपमा लाञ्जाओको अग्रणी भूमिका छ । सियानबाट युरोप, मध्य एसिया र पश्चिम एसियासंगको व्यापारिक सम्बन्ध अभिबृद्धि हुंदै गएको एवम् त्यसका लागि आवश्यक पर्ने रेलकार्गो सेवाको सञ्चालन भइरहेको छ । त्यस्तै, तिब्बत स्वशासित क्षेत्रलाई मुख्यभूमि चीनसंग जोड्ने रेल गान्सु प्रान्तको लाञ्जाओबाट जाने भएकाले पश्चिमोत्तर चीनमा लाञ्जाओ एक महत्वपूर्ण यातायात र व्यापारिक हबका रुपमा रहेको छ ।

पुरानो जग रहेकाले यी दुई प्रान्तसँग आर्थिक र व्यापारिक सम्बन्ध बढाउन नेपाललाई सहज छ, विशेष गरी ढुवानी र पारवहनका क्षेत्रमा । गत वर्षको सेप्टेम्बर महिनामा वाणिज्य मन्त्रालयको समन्वयमा आएको एक नेपाली भ्रमणदलले लाञ्जाओ पोर्टको अवलोकन भ्रमण गरेको थियो। तसर्थ, सियान र लाञ्जाओबाट नेपालसम्म रेलकार्गो सहितको इन्टरमोडल ढुवानी सेवा सञ्चालन हुनु सकारात्मक कुरा हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement